लुम्बिनी प्रदेश : सरकार गठनमा जुटे दलहरू

मुख्यमन्त्रीको शपथ ग्रहण बुटवल कि दाङ?

File Photo
File Photo

सत्तारुढ दलहरुले केन्द्रदेखि प्रदेशसम्म भागबण्डा गरेसँगै लुम्बिनी प्रदेशमा सरकार गठनका लागि तयारी थालिएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गरेको समय पुस २७ गते नजिकिँदै गर्दा दलहरु छलफलमा जुटेका छन्।

आइतबार सत्तारुढ दलहरुको केन्द्रको निर्णय अनुसार लुम्बिनीमा मुख्यमन्त्री एमालेले पाएको छ। मुख्यमन्त्री पाएसँगै एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने लगभग पक्का जस्तै छ।

सोमबार दिउँसो १ बजेदेखि प्रदेश सरकार गठन गर्नका लागि प्रदेशको स्थायी राजधानी देउखुरीमा सत्तारुढ दलहरुको छलफल चलिरहेको छ।

केन्द्रबाट मुख्यमन्त्री, सभामुख र उपसभामुख कुन दलले पाउने भन्ने टुंगो लागेको भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन्। केन्द्रबाट एमालेले मुख्यमन्त्री, माओवादी केन्द्रले सभामुख र राप्रपाले उपसभामुख पाउने गरी भागबण्डा टुंगिएको थियो।

लुम्बिनीमा १३ मन्त्रालय रहेका छन्। जसको भागबण्डा गर्न देउखुरीमा बैठक बसिरहरको छ। लुम्बिनीमा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ जना प्रदेश सांसद रहेका छन्। जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ।

सत्तारुढ दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ४९ सांसद छन्।

मुख्यमन्त्रीको शपथ कहाँ ?

सरकार गठनको प्रकृया सुरु भएसँगै अब नयाँ आउने मुख्यमन्त्रीको शपथ ग्रहण कहाँ हुने हो भन्ने चर्चा सुरु भएको छ।

प्रदेश प्रमुखको कार्यालय अहिले अस्थायी राजधानी बुटवलमा नै रहेको छ। जसका कारण मुख्यमन्त्रीको शपथ ग्रहण प्रदेश प्रमुखको कार्यालय बुटवलमा हुने कि स्थायी राजधानी देउखुरी दाङमा हुने भन्ने विषय अहिलेसम्म टुंगो लागेको छैन।

प्रदेश प्रमुख कार्यालय प्रवक्ता चिरञ्जिवी पौडेलले शपथ ग्रहण कुन ठाउँमा हुने भन्ने विषय टुंगो नलागेको बताउँदै सम्भवतः देउखुरीमै हुन सक्ने बिएल नेपाली सेवासँग बताए।

स्थायी राजधानी देउखुरीमा प्रदेशका १३ वटै मन्त्रालय स्थानान्तरण गरिएको भए पनि प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भएको छैन। प्रवक्ता पौडेलले कार्यालय कहिले स्थानान्तरण हुने भन्ने जानकारी आफूसँग नरहेको बताए।

नवनिर्वाचित प्रदेशसभा सदस्यको पुस १७ गते देउखुरीको प्रदेशसभाको सभाहलमा शपथ ग्रहण भएको थियो।

प्रकाशित मिति: : 2023-01-09 16:20:00

प्रतिकृया दिनुहोस्