म्यान्मारकाे सैन्य–नेता जेनलर मिन आङ ह्लाइङको उन्माद अनियन्त्रित हुँदै गएकाे छ। बन्दूकको बलमा शासन सत्ता चलाइरहेकाे ऊ भ्रमको भुमरीभित्र रमिरहेकाे छ। सैन्य शासकले स्वतन्त्रता र प्रजातन्त्र खोस्दै प्रदर्शनमा उत्रिएका निर्दोष नागरिकमाथि गोली बर्साइरहेको छ।
सैन्य क्रूरतबाट थलिएका लाखौं–लाख म्यान्मालीहरू दुःख काट्न बाध्य छन्। सेना प्रमुखको अन्याय र अत्याचारले म्यान्मारमा हद नाघिसक्याे। नागरिकमाथि सेनाले मृत्युदण्डजस्तो गैरकानूनी सजाय सुनाउँदै डर पैदा गरेको छ। म्यान्मार एउटा यस्तो देश हो, जहाँ हत्याराले शासन चलाइरहेको छ।
तानाशाह कस्तो हुन्छ? क्रूरता कस्तो हुन्छ? नरसंहार कस्तो हुन्छ? ज्यानमारा कस्तो हुन्छ? राज्य आतंक कस्तो हुन्छ? यी सबै प्रश्नहरूको एकमुष्ट जवाफ चाहिएको छ भने मिन आङ ह्लाङलाई नजिकबाट नियाले पुग्छ।
म्यान्माली ‘कू’का नाइके ह्लाङले दुई वर्षअघि सिपाहीहरूलाई आफ्नै नागरिक मार्ने आदेश दिए। मारिनुको कारण थियो नागरिकको स्वतन्त्रता प्रेम अनि प्रजातन्त्रको समर्थन। उनीहरू सैन्य शासन अस्वीकार गर्दै आन्दोलनको मैदानमा उत्रिए।
सैन्य ‘कू’यता स–साना नानीबाबुदेखि वयोवृद्धसम्म बन्दूकको सिकार भइरहेका छन्। मारिनेमा एक दर्जन ‘गोर्खाली’ अर्थात् नेपालीभाषी छन्। गोर्खालीसहित रैथानेहरू पनि सेनाको आतंक बाहिर छैनन्। म्यान्मारमा सैन्य अत्याचार बढ्दो छ।
सेनाविरुद्ध प्रदर्शन गर्दागर्दै समातिएका माण्डलेका विद्यार्थी नेता रमेश सुवेदी (लिन्पाइ सो) आजसम्म घर फर्किएका छैनन। टमू नगरमा एकाविहानै दूध बजार पुर्याएर फर्किएका एक नेपालीभाषी दम्पत्ती किशन गौतम (४०) र हरिमाया गौतम (३०) सेनाको गोलीबाट मारिए।
मुसेनगरमा सोधपुछका लागि सेनाको हिरासतमा लगिएका नेपाली ४३ वर्षीय सानाभाइ विश्वकर्माको लास खाल्डोमुनि भेटियो। त्यस्तै, टमू नगरका २७ वर्षीय राजु आचार्य सेनाको गोलीबाट बाटोमै ढले। यस्ता धेरै घटनाहरू छन्, जसले कैयौँ नागरिक गुमाइरहेको छ।
म्यान्मारको सत्तासीन सेनाले २६ सयभन्दा बढी निर्दोष सर्वसाधारणको ज्यान लिइसकेको छ। विद्यालयदेखि धार्मिकस्थलसम्म ‘नागरिक–हत्या’ भइरहेको छ। म्यान्मारमा हत्या दिनदिनै बढिरहेको छ।
प्रजातन्त्रवादीलाई सैन्य जेलमा थुनिएको छ। राजनेताहरूलाई सैन्य नजरबन्दमा राखिएको छ।
जन–जनकी प्रिय नेत्री आङ सान सुकीलाई अनेकौँ झुटा आरोप लगाउँदै ३३ वर्षको जेल सजाय सुनाइएको छ। उनको स्वास्थ्य अवस्थाबारे कुनै जानकारी दिइएको छैन। सुकीप्रति आस्था राख्ने देश तथा विदेशका लाखौँ मानिसहरूले सिघ्र रिहाइको कामना गर्दैआएका छन्। तर सैन्य तानाशाह गहिरो निन्द्रामा छ। अतिवादी सेनाले आम–नागरिकलाई युद्धमैदानमा उत्रिन बाध्य पारेको छ। कलिला केटाकेटीहरू सुन्दर भविस्यबारे चिन्तित छन्।
सेना प्रमुख मिन आङ ह्लाइङ यहाँको सबैभन्दा क्रूर व्यक्ति हो। सैन्य ‘कू’अघि म्यान्मार स्वतन्त्रता र समृद्धिको लयमा फर्किदै थियो। सत्ता कब्जा गर्नुअघिका ‘बर्मेली–पाइला’हरू विस्तारै हिँड्दै थिए। तर नाटकीय रुपमा यू–टर्न लिएको क्रूर शासकले असफल राज्यप्रमुखको उपाधी जित्दैछ।
म्यान्मारका युवाहरू गाउँ–घरमा भेटिँदैनन्, उनीहरू दशकौँदेखि राज्यविरुद्ध लागिपरेका स्थापित जातीय सशस्त्र समूहमा सामेल छन्। सैन्य शासनलाई पतनतर्फ लैजानका लागि उनीहरू अनेकौं आतंक सहन बाध्य छन्।
म्यान्मार सामाजिक र आर्थिक हिसाबले खस्किँदै छ। रंगुन, माण्डलेजस्ता व्यापारिक हबहरू संकटको डिलमा छन्। सबैतिरबाट बहिष्कृत पात्र हुन्, मिन आङ ह्लाइङ। तर चिनियाँ र रसियन पक्षले यी व्यक्तिलाई जोगाएको छ।
अन्तर्राष्ट्रिय स्तरमा म्यान्मारको छवि बिग्रिँदो छ। अमेरिकासहित धेरै पश्चिमी देशहरूले सेना प्रमुखको शासनकालमा म्यान्मारसँगको कूटनीतिक सम्बन्धलाई कटौती गरेका छन्। एउटा व्यक्तिको सनकले म्यान्मारको आम–जीवन बिथोलिएको छ। हरेक म्यान्मालीले राजनीतिक, सामाजिक र आर्थिक पीडा भोग्दैआएका छन्। गाउँ–घरमा सहजै बाँच्न सक्ने अवस्था छैन। भाग्दै–भाग्दै जंगलतिर गइरहेका छन्। थाइल्यान्ड वा भारतमा शरण लिनुपर्ने बाध्यता छ।
म्यान्मार एउटा अँध्यारो भुमरीभित्र हराइरहेको छ। जहाँ राज्य नै आफ्ना जनताको ज्यान लिन्छ। प्रदर्शनकारीलाई टाउकोमा गोली हान्न बन्दूक ताक्छ। गाउँ सखाप पार्न हवाई आक्रमण गर्दैआएको छ। कैदीलाई मृत्युको लागि यातना दिन्छ। सत्ता प्राप्तिका लागि जनता मारेर रगतको खोलो बगाएको छ। ऊ मान्छे हाे। मानवता छैन। देश छ। तर कानुन छैन। तानाशाहको आँखा हुँदैन। मन पनि हुँदैन। न भावना हुन्छ, न संवेदना नै हुन्छ। म्यान्मार, म्यान–मारजस्तै छ।