केही वर्ष यता सत्ता बाहिर रहेका इजरायली नेता बेन्जामिन नेतान्याहु छैठौं पटक इजरायलको प्रधानमन्त्री निर्वाचित भए। इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदमा रहेका नेतान्याहुलाई त्यहाँको संसद (नेसेट) का १२० सदस्यमध्ये ६३ सांसदको समर्थन छ। ५४ सांसदले उनको सरकारको विपक्षमा मतदान गरे।
विपी कोइराला प्रधानमन्त्री हुँदा नेपाल र इजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो। पुष १६ मेलमिलापको दिन कांग्रेसीहरुले फेरि एकपटक भव्य रुपमा कोइरालालाई सम्झेको देखियो।
‘प्यालेस्टाइन र इजरायलबीचको युद्ध’ बारे टान्ली जोनीले भनेका कुरा घत लाग्दा थिए। उनी भन्छन्, 'प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व किताब वा लेख पढेर मात्र बुझिने अवस्थाको होइन।' मलाई यताका माओवादी र एमालेको सम्बन्ध प्यालेस्टाइन र इजरायलको जस्तै पनि लाग्छ। खैर प्रसंग कांग्रेसको हो।
यहाँनेर एउटा पुरानो प्रसंग सम्झन मन लाग्यो : २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन भयो। शेरबहादुर देउवाको भनाई सबै दलको आग्रहमा चुनाव हुन नसक्ने निष्कर्षसहित त्यस्तो गरिएको थियो भन्ने छ।
तर पार्टी निर्णयविरुद्ध प्रधानमन्त्री गएको भन्दै देउवालाई अनुशासनको कारवाहीका लागि स्पष्टीकरण सोध्दै पार्टी सदस्यसमेत नरहेने गरी सभापति गिरिजाप्रसाद कोइरालाले कारवाही गरेका थिए। देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको घटनासँगै नेपाली कांग्रेस पार्टी नै फुट्यो।
२०७९ को निर्वाचनको मत परिणामपछि संसद सिट संख्याका आधारमा पहिलो दल बनेको नेपाली कांग्रेस यतिबेला सत्ताको वारी किनारामा छ। पारी सत्ता छ। बीचमा के छ त? यही बीचमा के छ भन्ने भेउ नपाउँदा कांग्रेस सत्ताच्युत हुन पुग्यो।
कांग्रेसका दोस्रो तहका नेताहरुले कांग्रेस नेतृत्वमा सरकार बनाउने योजनालाई सफल बनाउन त सकेनन्, सत्ता गठबन्धन पनि जोगाउन चुके। तर नैतिक रुपमा सभापति यो घटनाको जिम्मेवार व्यक्ति हुन्। यो अवस्था आउनुमा को-को कति दोषी छन्, खटनपटनका पात्रहरुलाई थाहा थियो होला। तर पार्टीका दुई होनहार महामन्त्री त्यो विषम परिस्थितिमा 'लिट्रेचर फेस्टिभ' मा पोखरा पुगेका समाचारहरु आइरहेका थिए। के दुई महामन्त्री यति संवेदनशील विषयमा भूमिकाविहीन थिए त? वा भूमिका नै दिइएन? अथवा जिम्मेवारीबाट पन्छिएका थिए त?
कांग्रेस सरकारबाट बाहिरिनु पर्दा जसरी संस्थापन इतर पक्षले पार्टी सभापति देउवाको राजीनामा मागिरहेका छन्, संस्थापन इतर पक्षले अबको रणनीति के तय गर्ने होलान्? कांग्रेसमा सभापतिलाई हटाउन यति सजिलो छ त? के संसदीय दलकाे चुनाव जितेको भए महामन्त्री गगन थापा त्यसरी उपत्यका छाडेर हिँड्दथे त?
संसदीय दलको निर्देशनविपरीत महामन्त्रीले उपत्यका छाडेर पोखरा गएको विषयमा आवाज उठिरहेको पनि सुनिन्छ। संस्थापन पक्षबाट अनुशासनको कारवाही होला त? वा सभापतिलाई राजीनामा गराउन सक्लान् इतर समुह? यी यस्ता प्रश्नहरु पार्टीको केन्द्रीय समितिमा पक्कै छलफलमा आउनेछन्।
अर्को प्रसंग सम्झौं वि.सं. २००९ सालमा विपी कोइरालाले मातृकाप्रसाद कोइरालाका विषयमा भनेका थिए, 'सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनु स्वाभाविक होइन।' तर वि.सं.२०१६ सालको महाधिवेशनबाट विपी आफू सभापति र प्रधानमन्त्री दुवै पदमा पुग्ने नेता भए। यो विषय वास्तवमा परिस्थिति र आवश्यकताले निर्दिष्ट गर्छ झैं लाग्छ।
संयोग नै मानौं, निर्वाचित प्रधानमन्त्री कोइरालालाई राजा महेन्द्रले अपदस्त गरेका थिए। पछिल्लो पटक राजा ज्ञानेन्द्रले देउवालाई अपदस्त गरे। कांग्रेसमा नेतृत्व पुस्तान्तरणको आवाज उठाइरहेकाहरु यतिबेला सत्ता गठबन्धन जोगाउन नसकेकोमा खुसी छन् वा दुःखी? को-को जिम्म्वार छन्? यी र यस्ता अनुत्तरित प्रश्नको जवाफ कांग्रेस कार्यकर्ताहरुले पक्कै खोज्नेछन्।
खासगरी सत्तामा पुग्न माहिर मानिएका देउवा कहाँ चुके त? देउवाको 'कोर टिम' पनि विभक्त थियो भन्ने विषय अब 'ओपन सेक्रेट' भइसक्यो। यो पटक कसरी चुके त देउवा? त्योभन्दा पनि मुल विषय त संविधान जोगाउन भनेर गरिएको भाष्यको गठबन्धन जोगाउन नसक्नुले लोकतन्त्रको आगामी मार्गचित्र के हुन सक्छ भन्ने प्रश्न छ।
नेपाली समाजमा एउटा उखान छ नि -'सौताको रिसले...।' अबका केही वर्ष कांग्रेसको संस्थापन पक्ष र इतर पक्षको जुहारी नीतिगत, सैद्धान्ति र संगठन निर्माण गर्ने विषयमा भन्दा यस्तै विषयमा सतहमा छरपस्ट देखिने भने पक्का छ।
इजरायली नेता नेतान्याहु जस्तै नेपालमा छैठौं पटकका लागि यो पटक देउवा फेरि प्रधानमन्त्री बन्न त सकेनन्-सकेनन् पार्टीभित्रै उनको कटु आलोचना भइरहेको अवस्था छ।
नेपाली कांग्रेसभित्रको आन्तरिक खिचातानीले देशको लोकतन्त्र नै पटक-पटक अप्ठ्यारोमा परेको विगत जनताका लागि चासोको विषय हुन सक्छ। गठबन्धन भत्किनु र सत्ताबाट कांग्रेस दूर रहनुले अबका दिनमा राजनीति कुन बाटोमा जाने हो यसै भन्न सकिने अवस्था भने छैन।
अन्तमा, जिम्मेवार राजनीतिक दल भनेको सत्तामा रहनुपर्छ भन्ने मात्रै होइन, प्रतिपक्षमा पनि बलियो दल रह्यो भने लोकतन्त्र मजवुत हुन्छ भन्ने कुराको हेक्का रहनुपर्छ।
लिट्रेचर फेस्टिभलमा साहित्यका कुराभन्दा राजनीतिक गन्थनमन्थन गर्दै उक्त संस्करणमा कांग्रेस महामन्त्री गगन थापाका कुरा सुन्दा साहित्यको नाममा हाँसको बथानमा बकुला भएको आभाष भएको थियो।
बरु त यतिबेला नीति महाधिवेशनको कुरा अघि सारेर डा.शेखर कोइरालाले लिडरसिपको गुण देखाएका छन्। नेतृत्व चुन्ने महाधिवेशनपछि सभापतिमा देउवा बलिया भए। यद्यपि, देशमा गुञ्जिने आवाजलाई सुन्दा नीतिका विषयमा कांग्रेस पार्टीमा बहस र निष्कर्ष जरुरी छ।
पछिल्ला दशकमा कांग्रेस कार्यकर्ताहरु तीन-चार थरिका भजन मण्डलीहरुले भरिएको छ। एकथरी देउवा समर्थक त छँदैछन्। घनघोर बादल लागेपछि वर्षा नहुने खालका गगन थापाका भजन मण्डली छन्। अर्का थरी कोइरालाहरु आपसमै नमिल्दा पनि उनीहरु विना कांग्रेस नै चल्दैन भन्ने सोचका भजन मण्डली छन्।
वास्तवमा यी भजनमण्डली संगठनमा पद पाउन, जनप्रतिनिधिको टिकट थुत्न, राजनीतिक लाभका पद ओगट्नका लागि बनेका मण्डलीहरु हुन्। यी मण्डलीहरुलाई कांग्रेस जनताको लागि बनेको पार्टी हो भन्ने हेक्कासम्म रहँदैन। चुनावमा ठुलो दल भएर पनि सरासर सत्ता गुमाएको पार्टी आफ्ना विभक्त भजन मण्डली बोकेर अनि कहाँसम्म पुग्ला कांग्रेस?