नेपालमा वि.स. २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मंसिरसम्म १० वर्षे सशस्त्र युद्ध अर्थात् जनयुद्ध चल्यो। त्यसको नेतृत्व तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीका सवाेच्च कमाण्डर (सुप्रिमो) पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरे। त्यही जनयुद्धको बलमा मुलुकमा गणतन्त्र स्थापना पनि भयो। जनयुद्धका सुप्रिमो ‘प्रचण्ड’ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीसमेत बने।
उनै प्रचण्ड अहिले तेस्रो पटक प्रधानमन्त्री बनेका छन्। उनी प्रधानमन्त्री बनिरहँदा उक्त सशस्त्र युद्धमा घाइते, अपांग भएकाहरुले भने गणतन्त्र र संघीयता दुवैको महशुस गर्न पाएका छैनन्। युद्धमा हाेमिएका परिवार र लडाकुमा भने अझैसम्म पनि केही परिवर्तन आएको छैन। १० वर्षे सशस्त्र युद्धमा परी घाइते भएकाहरु अझै पनि अस्पतालको बेडमा उपचार अभावमा छट्पटाइरहेका छन्। यस्तै घाइते भएर उपचार अभावमा अस्पतालको बेडमा छट्पटाइरहेका एक लडाकु हुन्, बाबुराम राई ‘विवश’।
उनी संखुवासभाका हुन्। जनयुद्ध कालमा १८ वटा मोर्चामा लडाइँ लडेर घाइते भएका राई माओवादीका पूर्व लडाकु हुन्। युद्धकै समयमा टाउकोमा एटिवानको मोर्टार लागेर उनी गम्भीर घाइते भए। २६ दिनसम्म उपचार गरेपछि त्यसबेला उनको बल्लतल्ल होस् आएको थियो।
त्यसयता उनले निरन्तर औषधि सेवन गरिरहे। त्यही युद्धकालीन चोटका कारण केही दिनदेखि उनी फेरि थला परेका छन्। टाउकोबाट लगातार पिप बग्न थालेपछि उनको यतिबेला विराटनगरस्तिथ न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
विराटनगर ल्याउनुअघि उनलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। तर, त्यहाँ उपचार हुन नसकेपछि उनलाई रेफर गरेर विराटनगर ल्याइएको हो।
यतिबेला न्यूरो अस्पतालमा बाबुरामको हेरचाह लविन्द्र खड्काले गरिरहेका छन्। खड्काका अनुसार जेनतेन सिटीस्क्यान भएको छ। तर, अब थप उपचार गर्न बिरामीसँग पैसा छैन। उनले भने, ‘जसोतसो पैसाको जोहो गरेर सिटीस्क्यान त गर्यौँ, अब बिरामीसँग बेडचार्ज बुझाउने पैसा पनि छैन।’ केही उपचार भएपनि बिरामीको टाउकोबाट पिप बग्न अझै रोकिएको छैन।
जनयुद्धको यात्रा
२०५७ मंसिरदेखि उनी माओवादीले थोलेको सशस्त्र युद्धमा लागे। तेह्रथुमको पोक्लावङ, पाँचथरको गोपेटार, संखुवासभाको चैनपुर, सिन्धुलीको भिमान, ओखलढुङ्गाको रुम्जाटार, सिरहाको लहान, काभ्रेपालान्चोकको भकुण्डेवेसी, मोरङको बेलबारी, जांते, झापाको विर्तामोड चेकपोष्ट आक्रमण, सुनसरीको दुहवी चेकपोष्ट, भोजपुरको रिपीटर टावर आक्रमण, संखुवासभाको तुम्लिङ्टार भीडन्त, इलामको मंगलबारेको भीडन्तमा सहभागी भएका थिए।
२०६१ सालको फागुनमा मोरङको जांतेमा भएको भीडन्तमा परी उनी गम्भीर घाइते भए। भारतको सिलगुडी लगेर उनको उपचार गरिएको थियो। २६ दिनसम्म पनि उनको होश आएको थिएन। विभिन्न ठाउँमा भएको भीडन्तमा अग्रपंतीमा सहभागी भएका उनी भन्छन्, ‘जांतेमा भएको भीडन्तमा एक्कासी एमएमको मोर्टारले लागेर घाइते भएँ, त्यसकै चोट अहिलेसम्म खेपिरहेको छु। युद्ध लडेको पार्टीले थुप्रै पटक देशको नेतृत्व गर्ने मौका पायो तर पनि हाम्रा लागि केही भएन।’
युद्धकालमा उनी ९ पटक जेल परेका थिए। उनले भारतको जलपाइगुडी र कोलकतामा ३ वर्ष जेल जीवन बिताए। झापाको भद्रपुर, काठमाडौं हनुमान ढोका, जावलाखेल, खाँदबारी, ललितपुर, विराटनगर, पथरी, चैनपुर, उदयपुरबाट पनि उनी पटकपटक जेल परेका थिए।