लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुले आइतबार (हिजो) पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै सरकार गठनको प्रक्रिया सुरु भएको छ। सरकार गठनको प्रक्रिया सुरु भए पनि कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा निकै अन्योलता रहेको छ।
केन्द्रमा पाँच दलीय गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार बनेसँगै लुम्बिनी प्रदेशमा पनि सोही गठबन्धनको सरकार बनाउने तयारी छ। तर, सरकारको नेतृत्व नेकपा एमालेले गर्ने कि माओवादी केन्द्रले भन्ने विषयमा विवाद रहेको छ। माओवादी र एमाले दुबै पार्टीले आफूहरुले लुम्बिनी प्रदेशको नेतृत्व पाउनुपर्ने दाबी गरिरहेका छन्।
यी दुबै पार्टीका लुम्बिनी प्रदेशका नेताहरुले केन्द्रका नेताहरुलाई मुख्यमन्त्री पाउनुपर्ने भन्दै सकेसम्मको दबाब सिर्जना गरिरहेका छन्। केन्द्रका नेताहरुको पनि आ–आफ्नै दाबी रहेको छ। आइतबार लुम्बिनी प्रदेशको सपथ ग्रहणमा सहभागी भएका एमाले महासचिव शंकर पोखरेलले लुम्बिनीको नेतृत्वका लागि एमालेको दाबी रहेको बताएका थिए।
केन्द्रको निर्णयअनुसार माओवादी केन्द्रले दुई प्रदेशमा नेतृत्व गर्दै छ। एमालेले चार प्रदेशको नेतृत्व गर्ने सहमति भएको छ। सभवत: एमालेले प्रदेश १, गण्डकी, कर्णाली प्रदेशमा नेतृत्व गर्ने छ। लुम्बिनी प्रदेशको नेतृत्व लिने कि बागमति प्रदेशको नेतृत्व लिने भन्नेमा एमाले माओवादी कसैले पनि टुंगो लगाउन सकेका छैनन्। माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेशमा नेतृत्व गर्ने लगभग पक्कापक्की भएको छ।
एमालेका लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले प्रदेशको ठूलो दल एमाले भएकाले पनि यहाँको नेतृत्व आफूहरुले दाबी गर्नु स्भाविक रहेको बताए। ‘यस प्रदेशमा सबैभन्दा ठूलो दल एमाले हो, यस अर्थमा पनि हामीले नेतृत्व गर्न पाउनुपर्छ भन्ने छ,’ उनले भने,‘त्यति मात्र होइन अघिल्लो पटक एमाले नेतृत्व सरकारले अगाडि बढाएका विकास निमार्णका योजनाहरुले समृद्ध प्रदेशको दिशामा पुगिरहेका छौँ र त्यसलाई पूर्ण गर्न पनि हामीले नेतृत्व पाउनुपर्छ भन्ने दाबी छ।’
उनले केन्द्रको नेतृत्वले प्रदेशको, केन्द्रको आवश्यक्ताअनुसार न्यायोचित ढंगले निर्णय गर्ने पनि विश्वास व्यक्त गरे। ढकालले आफूहरुले मुख्यमन्त्री पाउनुपर्छ भनेर केन्द्रलाई सुझाव, भनाइहरु पठाएको बताउँदै आफ्नो सुझाव अनुसार केन्द्रको निर्णय हुने बताए।
एमालेले लुम्बिनीको नेतृत्व गर्न पाएमा रुपन्देही– २ (१)बाट निर्वाचित सांसद लिला गिरी मुख्यमन्त्री बन्ने छन्। उनी आइतबार सपथ ग्रहण गरेसँगै संसदीय दलको नेतामा चयन भएका थिए।
मओवादी केन्द्रले पनि लुम्बिनी प्रदेशको नेतृत्व पाउनुपर्छ भन्दै केन्द्रलाई दबाब दिइरहेको छ।
प्रदेशका स्वास्थ्य मन्त्री तथा सांसद इन्द्रजित थारुले माओवादीले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने बताए। उनले भने,‘लुम्बिनी प्रदेशको नेतृत्व माओवादीले पाउने गरी सल्लाह भइरहेको छ। बागमतीमा माओवादीले छाड्नुपर्छ र एमालेले बागमतीको नेतृत्व दिएर यहाँ हामीले गर्नुपर्छ भन्ने छ।’ थारुले सोही अनुसार केन्द्रीय नेताहरुलाई आफूहरुले भनिरहेको बताए।
लुम्बिनीको नेतृत्व गर्ने गरी लुम्बिनी प्रदेशका नेताहरु पनि तयारी थालेका छन्। रोल्पा १(१) बाट निर्वाचित प्रदेशसभा सदस्य जोखबहादुर महरालाई माओवादीले मुख्यमन्त्रीको आश्वसन दिएर उम्मेदवार बनाएको चर्चा छ। महरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को स्वकीय सचिव बनेर काम गरेका नेता पनि हुन।
उनले आइतबार सपथ ग्रहणपछि पार्टी अध्यक्ष प्रचण्डले दिएको आश्वसन अब पूरा गर्ने बेला भएको बताएका थिए। उनले दुई प्रदेश माओवादी पाउनुपर्नेमा एउटा लुम्बिनी प्रदेश आफूहरुले नछाड्ने दाबी गरेका थिए। उनी लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा निर्विकल्पका रुपमा हेरिएका छन्।
तर, यो समाचार तयार पर्दासम्म माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छेन। आजै सोमबार संसदीय दलको नेता चयन गरिने माओवादीका प्रदेशसभा सदस्य इन्द्रजित थारुले बताए।
उनले आफ्नो पनि संसदीय दलको नेतामा दाबी रहेको बताए। संसदीय दलको नेतामा महरा, थारुसँग दाङ ३ (२)बाट निर्वाचित धनबहादुर मास्केले पनि आफ्नो दाबी गरिरहेका छन्।