प्रतिस्णा रेग्मी
काठमाडौँको बौद्धस्थित पिपलबोटबाट केही मिटर पर छ, मञ्जुश्री सामुदायिक विद्यालय। चारैतिर घरैघरको बीचमा रहेको सो विद्यालयको वातावरण एकदमै शान्त छ।
निलो गेटबाट भित्र पस्ने बित्तिकै विद्यालयको परिसर सुरु हुन्छ। चार रोपनी जग्गामा बनेको उक्त विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म पढाइ हुँदै आइरहेको छ।
सामुदायिक विद्यालय भएता पनि आवश्यक पूर्वाधारले सम्पन्न भएको विद्यालय हो, मञ्जुश्री।
३४ वर्षसम्म सेन्ट जेभियर विद्यालयमा अध्यापन गराएका सुधिर खनाल विगत तीन वर्षदेखि मञ्जुश्री विद्यालयकाे प्रधानाध्यापकका रुपमा कार्यरत छन्।
वि.सं. २०६२ सालमा स्थापना भएको मञ्जुश्री विद्यालयमा हाल १२० जना विद्यार्थीहरु रहेको प्रधानाध्यापक सुधिर खनालले बताए।
'वि.सं. २०६२ सालमा १० जना संस्थापकले स्थापना गरेको विद्यालयमा अहिले हाल १२० जना विद्यार्थीहरु पढिरहेका छन्', उनले बिएल नेपाली सेवासंग भने।
मञ्जुश्री विद्यालय धार्मिक विद्यालयको रुपमा परिचित छ। मञ्जुश्रीसहित देशभर ५ वटा धार्मिक विद्यालयहरु छन्।
'मञ्जुश्री विद्यालय धार्मिक विद्यालय हो, यहाँमा बुद्ध धर्मलाई आधार मानेर शेर्पा भाषाको पढाइ हुन्छ। यहाँ हरेक विद्यार्थीले शर्पा भाषाको अध्ययन गर्नुपर्छ। धार्मिक विद्यालय भनेपछि यो चाहिँ बुद्ध धर्ममा आधारित विद्यालय हो, जसमा शेर्पा भाषाको सम्भोट लिपिमा पढाइ हुन्छ', प्रधानाध्यापक खनालले भने।
याे विद्यालयमा अध्ययरनत विद्यार्थीहरु प्राय हिमाली भेगबाट आएका छन्। हिमाली भेगमा बसोबास गर्ने बालबालिकाहरुको लागि गुणस्तर शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयकाे दाबी छ।
'हामीले शिक्षा सँगसँगै विद्यार्थीहरुलाई मातृभाषाको पनि पठनपाठन गराउँछाैँ। कोही पनि विद्यार्थीहरु आफ्नो मातृभाषाबाट बञ्चित नहुन् भन्ने उदेश्यले हामीले धार्मिक विद्यालय स्थापन गरेका हाैँ', खनाल भन्छन्।
मञ्जुश्रीले कोरोनाअघि कक्षा १२ सम्मको पढाउने थियो तर लकडाउनकाे कारण धेरै विद्यार्थीहरुले विद्यालय छाडेकाले गर्दा हाल कक्षा ८ सम्म मात्र पढाइ भइरहेको छ। खनाल भन्छन्, 'अहिले हाम्रोमा नर्सरीदेखि कक्षा ८ सम्म पढाइ भइरहेको छ। कोरोनाअघि विद्यालयलाई कक्षा १२ सम्म बनाउने योजना बनाएका थियौँ तर बीचमा लकडाउन भयो, विद्यार्थीहरुले पनि विद्यालय छाड्दै गए, याेजनाअनुसार बनाउन सकिएन। अब हामीले छिट्टै विद्यालयमा कक्षा १२ सम्म पढाउने योजना बनाएका छाैँ', उनले भने।
सरकारले हरेक सामुदायिक विद्यालयहरुलाई अनुदान दिने गरेको छ। मञ्जुश्री विद्यालयलाई पनि सरकारले गुणस्तर शिक्षको लागि भनेर वार्षिक ५ लाख रुपैयाँ अनुदान दिँदै आइरहेको छ। सरकारी अनुदानकै कारण मञ्जुश्रीकाे शुल्क न्यून रहेको छ।
सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा हुँदैन भन्ने आम मानिसकाे बुझाइ छ। याे विद्यालयकाे अवस्था चाहिँ कस्ताे भन्ने हाम्रो प्रश्नमा खनालले भने, 'हाम्रो विद्यालय सामुदायिक भएता पनि यहाँ अनुभवी शिक्षकहरु हुनुहुन्छ। उहाँहरूकाे अध्यापन शैली पनि निकै राम्राे छ। उहाँहरू विद्यार्थीहरुसँग निकट पनि हुन्छन्।' एउटा धार्मिक विद्यालय भएकाे कारणले गर्दा यहाँ शेर्पा भाषा पढाउने शिक्षक पनि गुम्बाबाट मगाउने गरेको उनले बताए।
त्यस्तै, नेपालमा सामुदायिक विद्यालय भन्नासाथ धेरै मानिसको बुझाइमा सरकारी हाे भन्ने धारणा छ तर सामुदायिक विद्यालयलाई भने विभिन्न संघसंस्थाहरुबाट सहयोग प्राप्त भइरहेको हुन्छ। मञ्जुश्री विद्यालयलाई नेपाल सरकार, गुठीयार संस्थाहरुले सहयोग गर्दै आइरहेको छ।
यता, मञ्जुश्रीलाई सरकारले दिवा खानाको व्यवस्था गर्नेबारे छलफल भएको विद्यालयले जानकारी दिएको छ। सो विद्यालयमा पढाइबाहेक अन्य अन्तरक्रिया कार्यक्रमहरु पनि हुने गरेको छ। अन्य विद्यालयलाई जस्तै मञ्जुश्रीमा पनि सरकारले दिएको पाठयक्रमअनुरुप पढाइ हुन्छ, जसमा अंग्रेजी बोल्न र पढ्न सबैमा लागू हुन्छ।
'नेपाली मौलिकपनलाई स्थापित गर्ने उद्देश्यले मञ्जुश्री विद्यालयको सञ्चालन गरिएकाे हो', प्रधानाध्यापक खनाल भन्छन्, 'हाम्रो हराउँदै गएको चालचलन, रितिरिवाजलाई जेगार्न गर्न र हाम्रो संस्कार, संस्कृतिबारे विद्यार्थीलाई ज्ञान दिन चाहन्छौँ।'
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया