कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेताका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन्।

विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि दलको नेतामा दावी गर्दै आएका कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली उद्धव थापाको प्रस्तावक बसेका छन्।

अर्याल संविधानसभा सदस्य तथा मोरङ ५(२) बाट प्रदेशसभामा निर्वाचित सासंद हुन्। प्रदेश सभापति थापा समानुपातिक संसद र कार्की मोरङ ६(२) बाट दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी हाल प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हुन्।

निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीका अनुसार अर्यालको प्रस्तावकमा सोलुखुम्बुकी डोल्मा तामाङ र समर्थकमा सुनसरीकी सुनिताकुमारी गुरूङ रहेका छन्। यस्तै थापाको प्रस्तावकमा मोरङका भीम पराजुली र समर्थकमा खोटाङका भूपेन्द्र राई तथा कार्कीको प्रस्तावकमा उदयपुरका रामकुमार खत्री र समर्थकमा इलामका शम्शेर राई रहेका छन्।

अर्याल संस्थापन समूह (देउवा समूह), थापा (सिटौला समूह), र कार्की संस्थापन इतर (कोइराला समूह) पक्षका नेता हुन्।

प्रदेश १ को प्रदेशसभामा नेपाली कांग्रेसले १७ जना प्रत्यक्ष र १२ जना समानुपातिकमा गरी कुल २९ संसद जितेको छ। निर्वाचित संसदमध्ये देउवा र कोइराला समूहका १०१० जना र सिटौला समूहमा ९ जना रहेको संसदहरुले बताएका छन्।

दलको नेता चयन गर्न भोलि (शुक्रबार) बिहान ९ बजेदेखि मतदान गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।

प्रकाशित मिति: : 2022-12-29 13:07:00

प्रतिकृया दिनुहोस्