प्रदेश १ कांग्रेस संसदीय दलको निर्वाचन हुँदै, थापाको सम्भावना बलियो 

नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलका लागि शुक्रबार निर्वाचन हुने भएको छ।

दलको नेता छान्ने सहमतिको प्रयास असफल भएपछि निर्वाचन गरेर कांग्रेसले संसदीय दलको नेता चयन गर्ने भएको हो। नेपाली काँग्रेसमा प्रदेश १ को संसदीय दलको नेता बन्न सांसदहरुबीच दौडधुप सुरु भएको छ।

दौडमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की र काँग्रेस प्रदेश १ का सभापति उद्धव थापा अगाडि देखिएका छन्।

प्रदेश १ कांग्रेस संसदीय दलको नेता बन्ने दौडमा सबै भन्दा अघि उद्धव थापा रहेको देखिएको छ। काँग्रेस प्रदेश १ का सभापति उद्धव थापा मध्यमार्गी सिटौला निकटका नेता हुन् भने अन्य समूहसंग पनि बिश्वासमा कामगर्न सक्ने ईमानदार नेताको छवि बनाएका छन्। उनी देउवा समूहले पनि बिश्वास गरेका नेता हुन् भने यस अघी कोइराला समूह निकट संग रहेर काम गरेका व्यक्ति हुन्। 

१४औं महाधिवेशनमा सिटौला देउवासँग निकट भएसँगै थापा संस्थापन पक्षबाट प्रदेश १ को सभापतिका उम्मेदवार भएका थिए।

गुरुराज घिमिरेलाई हराएर उनी सभापति भएका हुन्। संसदीय दलको नेता बन्ने दौडमा रहेका अर्का नेता केदार कार्की भने काँग्रेस नेता शेखर कोइराला निकट मानिन्छन्।

कोइराला समूहबाट संसदीय दलको आकांक्षा राखेका राजीव कोइराला र गुरुराज घिमिरे निर्वाचनमा पराजित भएपछि कार्की उम्मेदवारका रुपमा देखिए पनि थापाको नाम सर्वसम्मती बने अमृत आर्याल र कार्कीले समर्थन गर्ने संभावना देखिएको प्रदेश १ का एक सांसदले बताए।

थापा कांग्रेसको प्रदेश सभापति बनेसंगै आफु फिल्डमा खटिएर पार्टीलाई जिताउन लागीपरेको र प्रदेश १ मा कांग्रेसको अवस्था सुधार आएसंगै प्रदेश प्रमुखमा उनलाई अघि बढाउन पार्टीका केन्द्रीय नेताहरुको मनसाय रहेको देखिन्छ। प्रदेश प्रमुक भएको नाताले प्रदेशको संसदीय दल र मुख्य मन्त्रीमा उनको दावी रहनु स्वभाविक रहेको कांग्रेस पदाधिरकारी हरुको राय रहेको छ। 

बिहीबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको समितिले शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म मतदानको समय निर्धारण गरेको छ। प्रदेश १ को सभामा नेपाली कांग्रेसका २९ सांसद रहेकोमा १६ बढी प्रदेश सांसदहरुको समर्थन थापालाई रहेको छ। 

विराटनगरमा सोमबार अपराह्न बसेको कांग्रेस प्रदेश १ को कार्यसमिति बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन हुने भएको हो। संसदीय दलको बैठक पुस १५ गते बस्ने र सोही बैठकले दलको नेता टुंगो लगाउने छ। दलको नेताको चयन भएपछि उपनेता, प्रमुख सचेतकको चयन हुने छ।

निर्वाचनका लागि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता तथा कांग्रेस १ नम्बर प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ। त्यसका लागि बिहीबार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ।

प्रकाशित मिति: : 2022-12-27 15:49:00

प्रतिकृया दिनुहोस्