प्रदेश १ मा को-को बन्न सक्छन् मन्त्री?

एकाएक सत्ता समिकरण बदलिएपछि प्रदेशतिरको राजनीति पनि फेरिएको छ।

प्रदेश १ मा एमाले, माओवादी, राप्रपा र जसपाको संयुक्त सरकार बन्ने छ। नेतृत्वको टुंगो केन्द्र लाग्ने भएपनि अहिले मन्त्रीका लागि सम्भावित नामहरुको चर्चा हुन थालेको छ।  

एमालेको नेतृत्वमा सरकार बन्दा स्थायी समिति सदस्य एवं संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्नेछन्। त्यस्तै ताप्लेजुङबाट निर्वाचित तिलकुमार मेन्याङ्वो मन्त्री वा सभामुख हुन सक्ने सम्भावना छ। 

यस्तै एमालेबाट समानुपातिक संसद बनेका भोजपुरकी सिर्जना राई र उदयपुरकी सिर्जना दनुवार मन्त्री बन्ने सम्भावना छ। यी दुईमध्ये एक जना मन्त्री बन्न सक्ने सम्भावना रहेको बताइएको छ। दुवै आआफ्नो जिल्लामा लोकप्रिय महिला नेतृ हुन्। 

त्यस्तै पुरुषतर्फ सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, मोरङका खड्ग बस्नेत, लिलाबल्लभ अधिकारी, इलामका राम राना, खोटाङका पिके राई, सुनसरीका रेवती भण्डारी र धनकुटाका यसअघि पनि निर्वाचित संसद निरन राई र इन्द्रमणी पराजुली मनत्री बन्ने लबिङमा छन्। 

संखुवासभाबाट पहिलो पटक निर्वाचित विदुर लिङ्थेप पनि नयाँ अनुहारमा सम्भावित सूचिका नेता हुन्। उनी यसअघि मादी नगरपालिकाका मेयर थिए।

नेकपा माओवादीबाट मन्त्री बन्दा मोरङका गणेश उप्रेती (शुशिल), तेह्रथुमका दुर्गा चापागाई, संखुवासभाका राजेन्द्र कार्की मोरङकी गीता तिम्सिना मन्त्री बन्न सक्ने सूचिमा रहेको स्रोतले बताएको छ। यस्तै आदिवासी जनजातिबाट समेट्दा उदयपुरका नारायण बुर्जा मगर वा सोलुखुम्बुका गम्बु शेर्पा मन्त्री हुन सक्ने सम्भावना छ। 

राप्रपाले भने सरकारमा जाने नजाने भन्ने टुंगो लगाएको छैन्। सरकारमा सहभागी भएको खण्डमा राप्रपाबाट भक्तिप्रसाद सिटौला मन्त्री बन्ने सम्भावना रहेको छ। भागबन्डाका आधारमा जसपाकी एक्ली संसद निर्मला लिम्बू पनि मन्त्री बन्ने सम्भावना छ।

प्रकाशित मिति: : 2022-12-27 11:50:00

प्रतिकृया दिनुहोस्