कांग्रेसले प्रदेश–१ मा पुस १५ गते संसदीय दलको नेता चयन गर्ने

प्रदेश १ मा नेपाली कांग्रेसले पुस १५ गते संसदीय दलको नेता चयन गर्ने भएको छ। सोमबार प्रदेशसभा सदस्यको शपथग्रहणपछि बसेको कांग्रेस प्रदेश १ को कार्यसमिति बैठकले दलको नेता पुस १५ गते चयन गर्ने निर्णय गरेको हो। 

नेपाली कांग्रेसका प्रदेश सभापति तथा प्रदेशसभा सदस्य उद्धव थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रयास हुने बताए। सहमति जुट्न नसके निर्वाचनको प्रक्रियाअघि बढ्ने र दलको नेतामा आफ्नो दावेदारी रहने उनको भनाइ छ।  

यस्तै नेपाली कांग्रेसले प्रदेशको दलको नेता छान्न राष्ट्रियसभा सदस्य तथा कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिको सदस्यमा उमेश थापा, रेगिना भट्टराई, लक्ष्मी चौधरी र नन्द नेम्वाङ रहेका छन्।

प्रदेशसभामा १७ जना प्रत्यक्ष र १२ जना समानुपातिकमा गरी कांग्रेसले २९ संसद जितेको छ। संसदीय दलको नेताका लागि प्रदेशसभापति थापासँगै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, पार्टी केन्द्रीय सदस्यत्वय अमृत अर्याल, भीम पराजुली र प्रदीप सुनुवारको दाबेदारी रहेको छ।

प्रकाशित मिति: : 2022-12-27 09:04:00

प्रतिकृया दिनुहोस्