मदिराको मारमा मधेशका दलित महिला

पर्साको मनियारी गाउँ चमरपट्टिको दलित वस्तीकी अनिता देवीलाई सबभन्दा ठूलो दुःख केही छ भने त्यो उनकै पतिको पियक्कड स्वभाव र त्यसले सिर्जना गरेको घरेलु हिंसाको अन्तहिन सास्तीको छ। पतिले दिनरात पिउन थालेपछि घर व्यवहार त्यसै बिग्रने नै भयो, त्यसमाथि कुटपिट र यौनहिंसा पनि उत्रेपछि जीवन ज्यादै दयनीय भएको उनको गुनासो छ।

मधेशका अधिकांश दलित महिलाको अवस्था अनिताकोभन्दा फरक भने छैन। खुलेआम रुपमा दारुका भट्टीहरु संचालन छन् मधेशका दलित वस्तीमा। यस्तै भट्टी नै आफ्ना श्रीमानको बिहानदेखि बेलुकीको बस्ने ठाउँ बन्न पुगेको उनी बताउँछिन्।

दारुका खुलेआम पसलहरुले गर्दा गाउँका पुरुषहरु कमाएको जत्ति सबै रुपैयाँ रक्सी सेवन गरेरै सकिने गरेको गुनासो गर्छिन चमरपट्टीकी अर्की पीडित दलित महिला सुनिता देवी। मनियारी गाउँकी कान्तिदेवी अरुको खेतमा मजदुरु गरेर दिनको ३ किलो धान कमाउछिन् जसको मूल्य ९० रुपैयाँ मात्र हुन्छ। यही ज्यालाको धान बेच्दा आएको रुपैयाँले उनी परिबार चलाउँछिन्।

उनका पति भने जतिखेर पनि रक्सीको नसामा धुत भएका हुन्छन्। गाउँमा रहेका दारुका भट्टीहरु बिहानै ६ बजेदेखि अबेर रात ११ बजेसम्म खुल्ने गर्छ, जसकारण मनियारी गाउँमा बसोबास गरेका दलित समुदायका पुरुषहरु घरपरिवार र कामभन्दा पनि मदिरा सेवन गर्नमै मस्त हुन्छन्। तर, जनप्रतिनिधि तथा प्रहरीले भट्टी बन्द गर्न चासो नदेखाएको गुनासो दलित महिलाहरुको छ।

यसरी अधिकाशं गाउँहरुमा अहिले खुलेआम रुपमा अवैद्ध घरेलु मदिराका पसलहरु संचालनमा आउँदा खासगरी दलित समुदायका महिलाहरु यसको प्रत्यक्ष मारमा परिरहेका छन्। दिनहुँ ज्यालादारी गरी कमाएको पैसा श्रीमानले मदिरा सेवनमै खर्चदा घर खर्चसमेत टार्न गाह्रो भएको दलित महिलाहरुले गुनासो गरे। गैरदलित महिलाहरुले पनि यस्तो समस्याको सामना गर्नु परेको छ तर खासगरी दलित समुदायमा घरपिच्छे मदिरा सेवन कर्ताको संख्या बढी रहेकाले यस समुदायका महिलाहरु बढी आजित भएका छन्।

दलित समुदायका पुरुषहरु दिनहुँ मदिराको लतमा हुदाँ सो समुदायका महिलाहरु घरेलु हिसांको सिकारसमेत भइरहेका छन्। आफ्नै श्रीमानबाटै दिनहुँ बलत्कार तथा यौन हिसांको सिकारसमेत भइरहेका दुखेसो उनीहरुको छ। तर, गाउँका अगुवाहरुलाई आफुहरुको यस्तो समस्या सुनाउँदा एक महिला त्यसमाथि दलित भएकै कारण ध्यान नदिने गरेको गुनासो महिलाहरुको छ।

मधेश प्रदेशमा दलितहरु महिलाहरु रक्स्याहा पतिबाटै ज्यादा आक्रान्त देखिन्छन्। चेतनाको कमी र अशिक्षाका कारण मदिराको दिनहुँ सेवनले आफूहरुको स्वास्थ्यमाके असर गर्छ भन्ने बारेमा दलित पुरुषहरुलार्य जानकारी छैन। १६ बर्षको उमेर पुग्ने बित्तिकै यस समुदायमा पुरुषहरु मदिराको सेवन गर्ने गरेको दलित अगुवाहरु बताउँछन्।

देशमा अहिले तीन तहको सरकार गठन भइसक्दा पनि यस समस्याप्रति कसैको ध्यान पुग्न सकेको छैन। मधेश प्रदेशको सरकारले अहिले बेटी बचाओ बेटी पढाओ अभियान नै चलाएको छ तर सो अभियानमा खुलेआम रुपमा दारुको बिक्री बितरणले गर्दा तराई मधेशका महिलाहरुले भोग्ने परेको समस्यामाथि कुनै योजना समेट्न सकिएको छैन। स्थानीय सरकारको कुरा गर्दा अहिले आफ्नै पालिकामा दारुको भट्टीहरु संचालन हुँदा पनि केही गर्न सकेका छैनन्। उल्टै जनप्रतिनिधिहरुले दलितहरुको भोट लिनका मदिराको लोभ देखाउने र विभिन्न काम गराउने गरेको दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामले बताए। उनले भने गाउँका सम्पन्न व्यक्तिहरुले कुनै पनि पनि काम गराउदा पैसाभन्दा पनि मदिराकै लोभ हेराउने प्रवृतिले गर्दाले पनि दलितहरुको आदतमा सुधार नआएका बताए।

पर्साको महुवन र बलुवामा मात्रै १५ वटा जत्ति मदिराको भट्टी पसलहरु संचालनमा छन्। ५ सय घरधुरी रहेको महुवन गाउँमा २५० घर जत्ति दलितहरुकै रहेको छ। दलित समुदायको ठुलो बसोबास रहेको महुवन गाउँको दलित बस्तिमा प्रत्येक घरका पुरुषहरु कमाउनुभन्दा पनि दिनहुँ मदिराको सेवन मै मस्त हुन्छन्। वीरगंज महानगरपालिका वडा नं. २२ अन्तर्गत मनियारी गाउँमा खुलेआम रुपमा अवैध घरेलु मदिराको कारोवार फस्टाउँदा सो गाउँका महिलाहरु दिनहुँ घरेलु हिसांको सिकार भइरहेको महिलाहरुको गुनासो छ। तर, यसप्रति जनप्रतिनिधि प्रहरी प्रशासनको ध्यान नपुगेको पीडित महिलाहरुको गुनासो छ।

आफ्नै गाउँ ठाउँमा खुल्ला रुपमा मदिरा भट्टीहरुको संचालनले गर्दा भइरहेको समस्याको बारेमा सोध्दा स्थानीय जनप्रतिनिधिहरुले भने घरेलु मदिरा नियन्त्रणका लागि आफूहरुले प्रयास गरेको भए पनि मदिरा बिक्री वितरण गर्नेहरुले अन्त शुल्कबाट प्रमाणपत्र लिने हुँदा कारवाही गर्न नसकेको बताए। यसलाई रोक्नका लागि प्रहरी प्रसासनले के गर्दैछ भन्ने प्रश्नमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले स्थानीय प्रहरी प्रशासन अवैध भट्टी नियन्त्रण तथा घरेलु मदिरा प्रतिबन्धमा कठोर रुपमा लागेको बताए। अवैध रुपमा संचालित भट्टीलाई बन्द गर्ने आफूहरुको प्रयास जारी रहेको तर यसप्रति प्रहरी प्रशासन मात्र नभई स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिँदै प्रहरी प्रशासनलाई मात्र दोष दिने प्रवृति गलत भएको बताए। यसप्रति समाजका हरेक जिम्मेवार व्यक्तिको ध्यान पुग्नुपर्नेमा जोड दिए।

पर्साको मनियारी जस्तै बारा पर्सा रौतहटका दर्जनौँ गाउँहरुमा अवैध भट्टी पसल संचालित छन। पर्साको जगरनाथपुर, हरपुर, जिङ्गना बर्वालगायत बारा जिल्लाको दलित गाउँ तेलकुअवा, पिपरपाति, रहुवाई, हर्दिया, केवही रौतहटको दलित गाउँ गौर, डुमरीया लतमरी, राजपुर भिन्डाबरलगायत अधिकांश गाउँमा अवैध घरेलु मदिराको कारोवार फस्टाइरहेका छन्।

दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामकाअनुसार बारा पर्सा रौतहट मात्र नभई प्रदेश २ को ८ वटै जिल्लामा बसोबास गरीरहेको दलितहरुको यस्तो समस्या रहेका छन्। खुलेआम रुपमा चलिरहेको दारुका भट्टी पसलहरुले गर्दा ग्रामिण क्षेत्रका महिला हिंसाका घटनाहरु भट्टी पसलकै कारण बढेका छन्। दलित पुरुषहरुलाई दिनहुँ मदिरा चाहिने महिला तथा बालबालिकाहरु प्रत्यक्ष मारमा परिरहेका छन्। रामकाअनुसार यस्तै अवस्था रहे दलितहरुको अवस्था कहिल्लै सुध्रिन नसक्ने बताए।

सीमा पारी भारतको बिहारमा पनि पुरुषहरुको दिनहुँ मदिरा सेवनले गर्दा महिलाहरुले यस्तै समस्याको सामना गर्नु परेको थियो तर बिहार सरकारले मदिरामाथि पूर्णरुपमा न्देज लगाएपछि त्यसको मार अहिले सीमा वारिका जिल्लाहरुमा परेको छ। खुल्ला सीमानाकाले गर्दा अहिले भारतीयहरु मदिरा सेवनको लागि सीमा वारिका जिल्लामा आउने गर्छन, जसकारण अहिले बारा पर्सा रौतहट लगायतका जिल्लाहरुमा बढी अवैध रक्सिका भट्टीहरु संचालनमा आएका छन्। समुदायप्रति बढिरहेको यस्तो बिकराल समस्याप्रति समयमै प्रहरी प्रशासनलगायत तीनै तहका सरकारको ध्यान पुग्नु आवश्यक देखिन्छ।

प्रकाशित मिति: : 2022-12-26 14:22:00

प्रतिकृया दिनुहोस्