प्रदेश १: एमाले संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत चयन

प्रदेश १ को सबैभन्दा ठुलो दल नेकपा एमालेले हिक्मत कार्कीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ।

प्रदेशसभामा प्रत्यक्षतर्फ २५ र समानुपातिकबाट १५ गरी ४० संसद जितेको एमालेले आइतबार संसदीय दलको नेता चयन गर्न संसदहरुको बैठक बोलाएको थियो। 

दोस्रोपटक झापा ५ (१) बाट निर्वाचित भएका कार्की प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हुन्। ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ जना आवश्यक पर्छ।

प्रदेशमा एउटै दलसँग स्पष्ट बहुमत नभएकोले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था छ। निर्वाचनमा गठबन्धन गरेर चुनावमा गएको सत्ता गठबन्धनको ४६ संसद छन्।

एमाले र राप्रपा मिल्दा पनि ४६ संसद पुग्छन् । समानुपातिकबाट एक सिट पाएको जनता समाजवादी पार्टी (जसपा) प्रदेशमा सरकार गठनका लागि निर्णायक बनेको छ । प्रदेशमा जसपाले जता समर्थन गर्छ त्यही गठबन्धनको सरकार बन्छ।

प्रकाशित मिति: : 2022-12-25 14:58:00

प्रतिकृया दिनुहोस्