कुनै बेला यस्तै धुमधामका साथ अरूण–३ आयोजना नेपाल आफैँले बनाउनुपर्छ भन्दै विभिन्न अभियान र मुद्दा मामिला गरिएथ्यो–काठमाडौँदेखि वासिंगटन डीसीसम्म र जितियो पनि। त्यसपछि लाउडा विमानदेखि पश्चिम सेती, कर्णाली र महाकालीका मुद्दा बारेमा लडियो।
उद्देश्य थियो– यी सबै आयोजनाहरूमा नेपालको राष्ट्रिय हितले प्राथमिकता पाउनुपर्दछ। तर थोरै भयो, धेरै गुम्यो। त्यसपछि लडियो लण्डन १० वर्ष बसेर बृटिश गोर्खा सैनिकहरूको समान पेन्सनलगायतका विभिन्न हक र अधिकारहरू समान हुनुपर्दछ भन्दै इतिहासकै एउटा अति नै जटिल र ठूलो मुद्दा।
यसमा हामीले तत्कालिन बेलायती प्रधानमन्त्री टोनी ब्लेयरकी पत्नी तथा बरिष्ठ वकील (क्यूसी) चेरी बूथ र उनको ल फर्मलाई नियुक्त गरेका थियौँ। यसमा पछि न्यायाधीश हुनुभएका निकोलस ब्लेक पनि सहभागी हुनुभएको थियो। धेरै धमाका पिटेको थियो मुद्दाले र एकपछि अर्को गर्दै गोर्खालीको विजय पनि भएको थियो।
पछिल्लो चरणमा आएर बेलायतमा आवासीय अधिकार कि नेपालमा बसीबसी समान पेन्सन भन्ने विषयमा विवाद शुरू भयो। मुद्दाको कुरा त सकिएको थियो तर अभियानबाट हासिल गर्नुपर्ने विषयहरू अझै धेरै थिए। तर गोर्खाहरू आफूआफूमै झगडा गर्न र फुट्न थाले। चित्त नबुझेर म नेपालतिर लागेँ। पछि केही गोर्खा संगठनहरूले गोर्खा सत्याग्रहलगायतका अभियान गरेपछि अहिले खासगरी पेन्सनका सवालमा त्रिपक्षीय वार्ता चलिरहेको छ। आशा गरौँ, वार्ता सफल होस्।
अब त ठूला काम, अभियान र मुद्दा मामिला सकियो है भनेको त चार्ल्स शोभराजको मुद्दा आइलाग्यो। शुरूमा त मलाई गरौँ कि नगरौँ भन्ने भयो। तर पछि एउटा विदेशी नागरिक, उमेरले पाको, मुटुको दीर्घरोगी, कानूनले तोकेको सजाय भुक्तान नै गरिसकेपछि कानूनले तोकेको कैदछुटको सुविधा किन नपाउने भन्ने प्रश्नले मलाई उनको मुद्दा लड्न प्रेरित गर्यो।
सेवा शुल्कका रूपमा एक रूपैयाँ पनि नलिई विगत दुई वर्षदेखि लगातार लडियो। पहिलो रिटमा कैद छुट प्रदान गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा विवेकपूर्ण, कानूनसम्मत एवं मानवीय ढंगले तीन वर्षभित्र निर्णय गर्न आदेश दिइयो। तर सरकारले निर्णय गरेन। त्यसपछि अर्को रिट निवेदन दर्ता गरियो जसमा एक महिनाभित्र निर्णय गरिसक्नु भन्ने आदेश भयो। त्यसको पनि पालना भएन। अनि गत भदौमा, यो त अति नै भयो भनेर वन्दीप्रत्यक्षीकरणको रिट निवेदन लगियो। तर रजिष्टारले पटक पटक निर्णय भइसकेको विषय भन्दै दरपीठ गरिदिए। सो दरपीठका विरूद्ध अर्को निवेदन दर्ता गरियो। त्यसमा इजलाशले दरपीठको आदेश बदर गरी रिट निवेदन दर्ता गर्न आदेश दियो।
त्यसपछि दर्ता भएको सो निवेदनका आधारमा गत २०७९ मंशिर ६ का दिन चार्ल्स शोभराज सर्वोच्च अदालतबाट जारी भएको वन्दीप्रत्यक्षीकरणको आदेशबाट कैदमुक्त भए। हिजो ७ गते भक्तपुर र काठमाडौँ जिल्ला अदालतमा पुगेर पत्र बनाउँदैमा बित्यो। साँझ ७ बजेतिर चार्ल्स कैदमुक्त भए। त्यसपछि उनलाई देश निकालाका लागि अध्यागमन विभाग पठाउनु पर्नेमा विभागले बस्नको लागि हिरासतमा कोठाको व्यवस्था भइनसकको भन्दी आज ८ गतेका दिन मात्र उनलाई बुझाउने अनुरोध भयो। सोहीअनुसार चार्ल्स आज ८ गते १ बजेतिर कडा सुरक्षाबीच अध्यागमन विभाग पुगे।
यसरी भयो चार्ल्सको घरफिर्तीको व्यवस्था
आज चार्ल्सकै अनुरोधमा बिहान १० बजे म अध्यागमन विभाग पुगेँ। चार्ल्सको अनुरोध थियो कि आफ्नो गम्भीर स्वास्थ्योवस्थाको कारणले गर्दा अध्यागमनको हिरासतमा बस्नुको सट्टा सुरक्षाकर्मीको निगरानीमै भए पनि कुनै होटलमा बस्ने र गंगालाल अस्पतालमा मुटुको स्वास्थ्यपरीक्षण गराउने वा अस्पतालमै भर्ना हुने। तर सरकारको मनसाय र योजना चार्ल्सको स्वास्थ्य र सुरक्षा चुनौतीका कारण तत्कालै देशनिकाला गर्ने भन्ने बुझियो।
म तत्कालै कारागार पुगेँ। सञ्चारकर्मीहरूसँग बातचित भयो। नेपाल र भारतका सञ्चारकर्मी र विदेशी समाचार माध्यमका धेरै पत्रकार मित्रहरू त्यहाँ उपस्थित थिए। कारागार प्रमुख र विभागका पदाधिकारीहरूसँग मेरो समन्वय भइरहेको थियो।
चार्ल्स विभाग आइसकेपछि मलाई विभागका निर्देशकको कार्यकक्षमा आउन अनुरोध गरियो। चार्ल्स खचाखच सुरक्षाकर्मीहरूबीच सोफामा बसेर कुरा गरिरहेका थिए। म पुग्नेबित्तिकै भनियो कि चार्ल्सलाई सकेसम्म अहिल्यै र आजै उनको देश फ्रान्समा फिर्ता पठाउने योजना छ। हवाइटिकट, भिसा शुल्क र जरिवाना रकमको व्यवस्था गर्नुपर्ने कुरा निस्क्यो। अब पर्यो फसाद।
अहिलेको अहिले गर्ने कसले र कसरी? चार्ल्सले पनि सकेसम्म अहिल्यै र आजै फर्किन चाहेको र यहाँ बस्नुपर्ने कुनै कारण नभएको बताए। उनलाई दुई दशकपछि परिवार, आफन्त र साथीभाईहरूसँग बसेर भोलीपर्सीको क्रिसमस पर्व मनाउने तीब्र इच्छा जागिसकेको थियो।
आजै जान पाउने भएपछि उनी अति नै खुशी थिए। अनि सञ्चारकर्मीहरूको भीडमा नपसिकनै सुरक्षा घेरामै विमानस्थलमा पुगेर उड्न चाहन्थे। चाहना स्वाभाविक थियो। अब किन पो बस्नुथ्यो र उनलाई नेपाल? चार्ल्ससँगको सरसल्लाहपछि तुरून्तै एकजना मित्रलाई फोन गरेर उनको नाममा कतार एअरवेजको आजकै टिकट मगाएँ।
सो टिकटका आधारमा फ्रान्सेली दूतावासले चार्ल्सका नामममा आवागमन अनुमतिपत्र जारी गरी विभागमा मान्छे नै खटाइदियो। अनि यता टिकट जारी भयो। यति गरिसक्दा अपरान्हको ४ बजिसकेको थियो।
यति छोटो अवधिमा सारा बन्दोबस्ती मिलाउनुपर्यो। तुरन्तै फ्रान्समा उनका साथीलाई फोन गरी एक हजार यूरो रकम मगाइयो। मेरो अफिसका साथीहरूको साथ लिएर तत्कालै उनका लागि ६०० अमेरिकी डलर, एक जोडी नयाँ जुत्ता र एउटा न्यानो रातो ज्याकेटको व्यवस्था गरियो। साथीहरू सिधै विमानस्थलतिर जानुभयो।
यता अर्को समस्या पनि थियो। चार्ल्सले भिसा शुल्क र जरिवानाबापत भनेर रू. ७०,००० तिर्न लगाइयो। केही पैसा यतै पनि खोजखाज गरियो। केही पैसा उनैसँग पनि थियो, हिजोमात्र साथीहरूले पठाइदिएको। यसरी चार्ल्स आफ्नो देश प्रस्थान भए। नयाँ रातो ज्याकेटमा टिलिक्क टल्किएको फोटो हेर्नुहोस् यद्यपि फोटो खिच्ने र पठाउनेको नाम भने अझै थाहा भइसकेको छैन।
लामो अन्तरालमा नौलो अनुभूति
यसरी गत मंशिर ६ गतेसम्म वकील र कानूनी सल्लाहकारकै रूपमा खुब खटियो। हिजो र आज साथीका रूपमा खटियो। जसरी पनि उनलाई सुरक्षितरूपमा पठाइदिन पेरिसमा रहेका उनका वकील र सहपाठीहरूले दिनरात अनुरोध गरिरहेका थिए। उनीहरूले नै एउटा क्यामेरासहितको पत्रकार टोली पनि ढुक्कसँग खटाइदिएका थिए। वरपर आउने जाने व्यवस्था उनीहरूले नै गरेका थिए।
एउटा कुराचाहिँ मैले अझै पनि बुझ्नसकेको छैन। हिजो साँझ केन्द्रीय कारागारको गेटमा भएको भीडमा चार्ल्सले केही बोलुन वा सम्बोधन गरून् भन्ने जिज्ञासा थियो। मैले कारागारका प्रमुख र सुरक्षा प्रमुखसँग कुरा राखेँ। उहाँहरू यसका लागि मञ्जुर हुनुभयो। तर चार्ल्ससँग के गर्ने त भनेर सोध्दा उनले भने, 'मलाई सञ्चारकर्मीसामु केही पनि भन्नु छैन र केही कुरा पनि गर्नु छैन।'
एक दृष्टिमा लाग्यो, केही कुरा बोलिदिएको भए हुन्थ्यो। अर्को मनले लाग्यो, उनी न नेता न केही, के पो भन्नुछ र ? छुट्नुथ्यो छुटी हाले। समाचार सबैलाई थाहा भइहाल्यो। तर पनि उनले हिजो र आज दुवै दिन किन पत्रकारहरूसँग कुरा गर्न चाहेनन् भन्ने सानो खुल्दुली चाहिँ ममा पनि छ।
अबका दिनमा उनलाई झुटो मुद्दामा फँसाउने, उनको नाम र काम बेचेर धन कमाउने, उनलाई उनले गरेभन्दा बढी खराब देखाउने र बदनाम गर्ने देश, सञ्चारमाध्यम, वृत्तचित्त बनाउनेहरू सबैविरूद्ध गाली बेइज्जती र क्षतिपूर्तिको मुद्दा लड्ने र समाजसेवामा लाग्ने बताएका छन्।
उनको जीवनगाथामा आधारित भएर वृत्तचित्र बनाउने र पुस्तक लेख्ने चारजना पेरिस पुग्नेबित्तिकै करारनामा गर्न तयार भएर बसेका छन् रे।
मलाई धेरैले चार्ल्सको नेपालदेखि फ्रान्ससम्मको निजी जीवनका बारेमा सोधे तर यो मेरो सरोकारको विषय थिएन। कतिले मलाई यो काम गरेबापत धन्यवाद दिनुको सट्टा इष्र्या गरे, कुरा काटे तर यसमा पनि मतलब भएन।
जीवनमा जे गर्नुथ्यो पहिल्यै गरिसकियो। अहिले त्रिभुवन विश्वविद्यालयबाट पनि सेवानिवृत्त भएर बसिएको छ। अब बाँचुञ्जेल चलाउने भनेको यो खारिएको दिमाग र धारिएको कलम नै हो। अब नेपालदेखि अन्तर्राष्ट्रिय तहसम्म सबैखाले राज्यपीडितहरूका पक्षमा कलम चलाइन्छ, मुद्दा लडिन्छ र जितिन्छ पनि।
अन्त्यमा, विगत तीन दिनको अवधि सञ्चारजगत र विश्वकै लागि काठमाडौँ एउटा महाभारतसरह नै भयो। मैले उठान गरी सर्वोच्च अदालतमा पुर्याएको मुद्दामा राम्ररी बहस गरिदिनु हुने सहकर्मी बरिष्ठ अधिवक्ताहरू लोकभक्त राणा र रामबन्धु शर्माप्रति चार्ल्सको तर्फबाटसमेत विशेष धन्यवाद दिन चाहन्छु।
यस मुद्दामा भएको बहसमा चार्ल्सको निमन्त्रणालाई स्वीकार गरी सहभागी हुनु हुने अधिवक्ता शकुन्तला थापा र निहिता विश्वासलाई पनि धन्यवाद दिन चाहन्छु। चार्ल्सको मुद्दा र मैले गरेको कामका बारेमा समाचार प्रसारण गरिदिने वा छापिदिने सम्पूर्ण पत्रकार मित्रहरूप्रति पनि आभार व्यक्त गर्न चाहन्छु।
सबैले आआफ्नो ठाउँबाट समय र परिस्थितिअनुसार काम गर्ने हो। यो एउटा सामूहिक प्रयन्त थियो। यस प्रयत्नको सार भनेको चार्ल्स शोभराजमात्र नभई नेपालका समस्त उत्पीडित कैदीबन्दीहरूको हक र अधिकारको सवाल थियो।
अबको कानूनी लडाइँ र अभियान म आफैँले लडेको र २०७७ साउन १९ गतेको फैसलाबाट जितेको कैदीहरूले पाउने प्यारोल, खुला कारागार, सामुदायिक सेवा, पुनस्र्थापना केन्द्र, कारखानामा कामलगायतका सुविधाहरूको देशव्यापी कार्यान्वनमा लगाउनेछु।
यो ढल्कँदो उमेरमा पनि एउटा नयाँ मुद्दा लड्ने, जित्ने र नजीर कायम गर्ने जो काम भयो यसले मेरो दिमाग र कलमले पुनर्जिवन प्राप्त गरेको महशुस भएको छ। सबैमा पुन: धन्यवाद तथा आभारसहित।