कहिले होला लुम्बिनी प्रदेशसभा सदस्यको शपथ ग्रहण ?

लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण कहिले होला? अहिलेसम्म कुनै जानकारी छैन। मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको अन्तिम मत परिणाम आएको आज (शुक्रबार) हप्ता दिन पुगिसकेको छ।

आयोगले २८ मंसिरमा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो भने २९ गते प्रतिनिधिसभाको मत परिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।

मंसिर २ गते आयोगले प्रदेश प्रमुखलाई मतपरिणामको प्रतिवेदन बुझाएको थियो। मतपरिणाम प्रदेश प्रमुखलाई बुझाएसँगै प्रदेश सरकार गठनको प्रकृया खुलेको थियो। तर प्रदेश सरकार गठनको प्रकृया खुलेको हप्तादिनसम्म पनि लुम्बिनी पदेशमा शपथ ग्रहणको तयारीसमेत हुन सकेको छैन।

प्रदेशसभालाईसमेत कहिले नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ ग्रहण हुने भन्नेबारे जानकारी छैन। संविधानको धारा १८३ को उपधारा १ बमोजिम निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ।

अधिवेशन आह्वान भएको हक हप्ताभित्र प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण गर्नुपर्ने हुन्छ। तर अन्तिम मतपरिणाम आएको हप्तादिनसम्म प्रदेशसभाको अधिवेशन आह्वान हुन सकेको छैन। जसले गर्दा कहिले प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण हुन्छ भन्नेबारे थाहा नभएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले बताए।

‘संविधानत: प्रदेशसभाको अधिवेशन पुस २१ भित्र बोलाइसक्नु पर्नेछ,’ सचिव पुनले भने, ‘त्यसपछि मात्र प्रदेशसभा सदस्यको शपथ ग्रहण हुन्छ।’ उनले पुस १५ गतेदेखि २१ गतेको बीचमा शपथ ग्रहण हुने जानकारी दिए। प्रदेशसभाको अधिवेशन आह्वान नभएकाले शपथ ग्रहणको तयारी नथालिएको उनले बताए।

पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले शपथ ग्रहण १७ गते अघि नै हुने जानकारी दिए। ‘प्रदेशसभाको अधिवेशन आह्वान भएको एक हप्ताअघि नै प्रदेश प्रमुखबाट शपथ ग्रहण हुन्छ,’ उनले भने, ‘त्यसपछि जेष्ठ सदस्यको अध्यक्षतामा प्रदेशसभाको अधिवेशन सुरु हुन्छ।’

प्रदेशसभा भवन सजाइँदै

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यकामा रहेको प्रदेशसभाको भवन निर्माणको कार्य सम्पन्न भएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणले गर्नुपर्ने कामहरु पूर्ण रुपमा सम्पन्न भएको प्राधिकरणका इन्जिनियर विष्णु केसीले जानकारी दिए।

अहिले भवनलाई साजसज्जावट गरिँदैछ। प्रदेशसभाले नै भवनलाई सजाउँदैछ। हाम्रो तर्फबाट गर्नु पर्ने कामहरु सकिएको छ। ‘अब प्रदेशसभाले नै भवनलाई सजाउने काम गरिरहेको छ।’ ई. केसीले भने।

नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण स्थायी राजधानी दाङमा नै गरिँदैछ। भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको प्रदेशसभा सचिव दुर्लभ पुनले जानकारी दिए।

बुधबार मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा भवनको फोटो समाजिक सञ्जालमा राख्दै नवनिर्वाचित सांसदहरुलाई स्वागत गर्न आतुर रहेको बताएका थिए। उनले संसद बैठकको लागि तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिएका थिए।

साविकको राप्ती प्राविधिक शिक्षालयमा प्रदेशसभा भवनदेखि मुख्यमन्त्री कार्यालय छ। यही शिक्षालयको परिसरभित्र अन्थ थप ६ वटा मन्त्रालयहरु राखिने प्रदेश सरकारले जनाएको छ। अस्थायी राजधानी बुटवलबाट स्थायी राजधानी दाङमा मन्त्रालयहरु स्थानान्तरण गर्ने काम भइरहेको छ।

प्रकाशित मिति: : 2022-12-23 11:37:00

प्रतिकृया दिनुहोस्