शुभ कालीका गाउँपालिका कालिकोटमा म निर्वाचित हुँदा र त्योभन्दा पहिले हामीले हेर्दै जाँदा पहिलो समस्या भनेको भौतिक पूर्वाधार नै हो। त्यो कुरा आम जनताले र स्वयम् मैले अनुभव गरेको छु। यहाँकाे विकासका लागि अहिलेको तत्कालीन सरकारको तर्फबाट मैले मेरो गाउँपालिका र कालिकोटको विकासका लागि आवश्यक ठाउँमा ध्यानाकर्षण निरन्तर गराउँदै आएको छु।
जनताका जनजीवनका कुराहरुलाई सुधार गर्ने ठुप्रै कुराहरु छन्। जसकाे निम्ति अहिलेसम्म राजनैतिक तिक्तताबाट अगाडि बढेको समकालीन विषयलाई अध्ययन गर्दा राजनैतिक विचारधाराबाट यसको अन्त्य नगरी विकासको गति अगाडि बढ्न सक्दैन। त्यसको लागि म लागिरहेको छु। मेरो निष्कर्ष भनेको राजनैतिक प्रभावबाट हाम्रो पालिकालाई मुक्त गरिनुपर्छ, तब मात्र विकासले तिव्रता लिन सक्ने अनुमान गरेको छु।
म निर्वाचित भएपछि शुभ कालीका गाउँपालिकामा विपन्नहरुलाई स्वास्थ्य बिमा, भौतिक पूवाधार निर्माण, अधुरा-अपुरा योजनालाई पूर्णताका निम्ति विकासका काममा तीव्र रुपमा अगाडि बढिरहेका छौँ। यसलाई अझै तिव्रताका साथ अगाडि बढाउन हामी निरन्तर लागिरहेका छौँ। हाम्रो पालिका र जिल्लाको विकासका लागि हामीलाई सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ। हाम्रो स्थानीय सरकारलाई आवश्यक पर्ने स्रोत साधनका लागि प्रदेश र प्रतिनिधिसभाबाट आवश्यक पहल गरिदिन समेत ध्यानाकर्षण गराउँदै गाउँपालिकाको विकासको गतिमा अगाडि बढिरहेका छौँ।
अहिलेको लोकतान्त्रिक प्रद्धतिअनुसार देश यतिबेला तीन तहबाट चलिरहेको छ। यी सरकारहरु भनेको स्थानीय तह, प्रदेश तह र प्रतिनिधिसभा गरी तीन तहमा विभाजित छ। स्थानीय तह प्रत्यक्ष जनताको घर दैलोसंग गाँसिएको छ। प्रदेश तह भनेको जनताको जनगुनासो अनुरुपको मापदण्ड बनाएर विकासी कार्यक्रम, लैंगिक कार्यक्रम, न्यायिक वा शैक्षिक गतिविधि अथवा जनताको जीवनस्तरलाई परिमार्जित गरेर सुधारात्मक तहबाट व्यवस्था परिर्वतनको निम्ति अग्रगतिका लागि विकास समृद्धिलाई व्यवस्थापन गर्ने निकाय हो। संघीय सरकार भनेको निति नियम बनाएर विधि विधानको पालना गर्ने र आम जनतामा निति नियम र विधि निर्माण गर्ने गरी तीन सरकार गठन हुन्छ। त्यसैले भर्खरै मात्र तीन तहको निर्वाचन सम्पन्न भएको छ। हामी अब तीनै तह मिलेर हातेमालो गरेर अगाडि बढ्ने छौँ।
कालिकोटमा हालै गएको बाढीले गर्दा अलि जोखिम पूर्ण छ। यातायात पूर्वाधार विकासमा सहर र गाउँको तुलना गर्नै मिल्दैन। त्यसैले कालिकोटका लागि हामीभन्दा पहुँचमा भएकाहरुले कालिकोटका जनताको मर्म बुझ्ने हो भने अन्य जिल्ला जस्तै हुन सक्छ। तर नेतृत्वगर्ण र राज्यले यस्ता ठाउँमा उचित ध्यान दिनुपर्छ।
हाम्रो जिल्लामा विभिन्न राजनैतिक दलहरु छन्। हामी सबै एकआपसमा समन्वय गरेर अगाडि बढ्नुपर्छ। अहिले मैले कुनै दललाई सर्मथन गरेपनि पार्टीभन्दा पनि आम जनताको जनप्रतिनिधि हुँ। चुनाव जितेर जनताको लागि काम गर्छु भनेर आइसकेपछि जनमुखि हुन जरुरी छ। किनभने जनताको जनादेश प्रयोग गरिसकेपछि आम राजनैतिक दलहरूले विचार सिद्धान्तलाई गन्थन मन्थन दुबै तरिकाले आम जनताको साझा सत्ताको दायित्व पुरा गरिनुपर्छ। हाम्रो यो स्थानीय तह सिकाइ हो, मिलेर अगाडि बढ्नुपर्छ। सत्ता र पार्टीलाई दुबै तहबाट बुझेर जनताको हितको लागि काम गर्ने हो, पार्टी मुखीभन्दा पनि जनता मुखी हुनुपर्छ।
हाम्रो कालिकोटमा नौ वटा स्थानीय तहहरु छन्। त्यसमा ६ वटा पालिकामा माओवादी केन्द्रले जितेको छ। सांगठनिक हिसाबले कालिकोटमा माओवादीको राम्रो छ। त्यसैले हामीले भनेको झैँ समाजवाद उन्मुख व्यवस्थाको निर्माण लोकतान्त्रिक मूल्य मान्यतालाई लागु गरेर समाजवादको निर्माण गर्ने हाम्रो उद्देश्य हो। जनताप्रति बफादार, उत्तरदायि भएर, सम्झेर काम गर्नुपर्ने हाम्रो कर्तव्य हो। जनताको गास, बास र कपाससंगको समन्वय हाम्रो भूमिका हो। त्यसैले हामीले माथिल्लो तहमा पनि यस्तै प्रकारको सन्देश दिइराखेका छौँ।
विकासको नाममा केही ठाउँमा विनाश पनि भइरहेको छ। त्यस्तै कर्णालीमा मात्र हैन, देशको धेरै विकट ठाउँमा डाेजर आतङक मच्चिरहेको छ। जनताले सुख पाएका छैनन्। सडक नपुगेको ठाउँमा सडक निर्माण गर्नुपर्छ। अहिले त्यसका लागि हामी व्यवस्थित रुपमा लागेका छौँ।
हाम्रो पालिकामा शिक्षालाई पनि व्यवस्थित गर्दै छौँ। जहाँ विकासको नाउँमा विनाश भइरहेको छ। वातावरणीय प्रदूषणलाई रोकथाम, बाढीपहिरो भू-क्षयबाट रोक्न र बाँझो जमिनलाई कसरी खेती योग्य जमिन बनाउने भन्ने ध्यान दिनुपर्छ। उत्पादनमूलक कार्यक्रम, बेरोजगार युवालाई रोजगार अवसर निर्माण गरिदिने र आफ्नै देशमा उत्पादनको पहल गरिरहेका छौँ।
कालिकोट कस्तो जिल्ला हो?
कालिकोट, जाजरकोट काइने ढुङ्गा खानी भएकाे एउटा महत्वपूर्ण ठाउँ हो। त्योभित्र मेरो पालिकामा पनि त्यसको खानी रहेको छ। त्यो ढुङ्गा खानीलाई तीन तहको सरकारले समन्वय गरेर अगाडि बढ्यो भने रोजगारका लागि संकट छैन। यो कुरा सबैले ध्यान दिनुपर्छ।
कालिकोट एउटा जनयुद्ध र जनआन्दोलन मात्र होइन, कर्णाली खसआर्यको बाहुल्यता भएको जिल्ला पनि हो। कर्णालीभित्रको कर्णाली त्यतिबेलाको इतिहास बोकेको ठाउँ हो। खसआर्यको इतिहास, बाइस पाखा र अठारद्वाराले चिनिने कर्णाली धेरै कुराले फरक छ। खस भाषा, दश वर्ष जनयुद्धको इतिहास निकै फरक रहेको छ। यो फरकफरक इतिहासलाई जनता र राजनैतिक दलले बुझेका छन्।
क्रान्तिकारी विचार, परिवर्तनकारी विचार बोकेको कर्णाली कालिकोट हो। यहाँबाट सरकारले सिक्ने सिकाइ बनिराखेको छ। विकास, शिक्षा, कर्णालीप्रति हेर्ने दृष्टिकोण, भाषा शैली, रीतिरिवाज उठाइ-बसाइ, संस्कार, सभ्यता फरक भएकाले बुझ्ने-हेर्ने दृष्टिकोण फरक छ। त्यसैले कर्णालीका जनता क्रान्तिकरी रुपले प्रस्तुत हुन्छन्।
कालिकोटको पर्यटन भनेकै मुख्य गरेर पचाल झरना, इन्द्रको अप्सरा रारा र कालिकोटको साँस्कृतिक, कला, जनयुद्धको इतिहास बोकेका ठाउँ, विभिन्न ताल-तलैया, हिमालहरु छन्। त्यसलाई व्यवस्थापन गर्न सके मात्र पनि कर्णाली, कालिकोटले पर्यटकीय रुपमा राम्रो गर्न सकिन्छ। जडीबुटी, रेडपाण्डा, डाँफेलगायत धेरै कुराहरु पाइन्छ। मान्छेहरुले कर्णालीप्रति हेर्ने दृष्टिकोण फरक छ।
उत्पादनमूलक कुरा गर्दा, फलफूलजन्य कुराहरु उत्पादन हुन्छ। स्याउ, ओखर, सुन्तला, केरा यो ठाउँकाे पकेट क्षेत्र हो। तर बजारमा भारतबाट कम गराउने र साे समयको मूल्यअनुसार व्यवस्थापन गर्ने सके धेरै विकास गर्न सकिने ठाउँ हो। उत्पादनमा नैराश्यता आएपछि बजारको अहिले आवश्यकता छैन। किनभने उत्पादन गरेर किसानले मूल्य पाउँदैनन्। कालिकोट आत्मनिर्भर र उत्पादनमूलक छ। हिजोको इतिहास हेर्ने हो भने चीनमा अन्तर्राष्ट्रिय व्यापार गर्न सक्ने स्थिति नेपालको कालिकोटमा थियो तर अहिले त्यस्तो छैन। उत्पादनमा माथि रहेको कर्णाली पछि पर्नुका थुप्रै कारणहरु छन्। यसको समाधानका लागि हामी लागिपरिरहेका छौँ।
(बिएल नेपाली सेवाका लागि शुभ कालीका गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्यसंग ध्रुव बस्यालले गरेको कुराकानीमा आधारित लेख)