मोरङमा कुटपिटबाट एक जनाको मृत्यु

मोरङको केराबारीमा कुटपिटबाट एकजनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार अपराधिक पृष्ठभूमि भएका लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बूको आक्रमणबाट केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको मृत्यु भएको हो। 

उनीहरुबीच गत पुस ३ गते केराबारी–९ स्थित एउटा पसलअगाडि विवाद भएको थियो। विवाद बढ्दै गएपछि लिम्बूले राईमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याएका थिए। अस्पतालले उपचार सम्भव नभएको बताएपछि परिवारका सदस्यले राईलाई घर लगेका थिए।

शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। 

हत्या गरेको आरोपमा प्रहरीले लिम्बूलाई पक्राउ गरिसकेको छ। पक्राउ परेका लिम्बूविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

लिम्बू यसअघि जबरजस्ती करणी उद्योग र अभद्र व्यवहारको मुद्दामा दोषी ठहर भएपछि सजाय भुक्तान गरेर छुटेका थिए।

प्रकाशित मिति: : 2022-12-21 12:09:00

प्रतिकृया दिनुहोस्