पाठेघर मुखकाे क्यान्सरकाे जाेखिममा महिलाहरू

दाङकाे घोराही उपमहानगरपालिका-५ स्थित रज्जे मन्नामेमा शनिबार पाठेघरको मुखको क्यान्सर जाँचसम्बन्धी शिविर गरियो। शिविरमा सहभागी महिलामध्ये १० प्रतिशतमा पाठेघरको मुखको क्यान्सर भएकाे भेटियाे।

शिविरमा २० जना महिलाले पाठेघरकाे मुखकाे क्यान्सर भएन/भएकाे जाँच गराए। जसमा २ जनामा पाठेघरको मुखको क्यान्सर भेटियाे। १ जनामा तेस्राे डिग्री खसेको, ३ जना महिलाको पहिलो डिग्री पाठेघर खसेको (आङ खसेको) तथा अरुमा पनि प्रजनन स्वास्थ्यसम्बन्धी समस्या देखियाे।

समस्या नदेखिएकाे महिला एक जना पनि भेटिएनन्। रज्जे मन्नामे भन्ने ठाउँ ग्रामीण बस्ती भए पनि बजारदेखि खासै टाढा छैन। माेटर यात्रा गर्ने हाे भने ढिलै भने पनि २ घण्टामा पुगिन्छ। तर यस गाउँमा महिलाहरूमा स्वास्थ्यकाे पहुँच नपुगेकाे माथिकाे तथ्यांकले देखाउँछ।

बजारदेखि केही टाढाकाे बस्ती मात्र हाेइन, केही दिनअघि बजार क्षेत्र घोराही-१४ स्थित परिवार नियोजन क्लिनिकमा गरिएकाे शिविरका पनि १० प्रतिशत महिलामा पाठेघरकाे मुखकाे क्यान्सर भएकाे भेटिएकाे थियाे। घाेराही उपमहानगरपालिकाले औपचारिक रुपमा पाठेघरको मुखको क्यान्सर जाँच यहीँबाट सुरू गरेकाे पनि थियाे।

घाेराहीका अन्य ठाउँमा गरिएकाे शिविरमा पनि महिला प्रजनन स्वास्थ्यका बारेमा सचेत नभएकाे भेटिएकाे घाेराही स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्तीले बताए। घाेराही क्षेत्रमा नै यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकार नभएकाे र क्यान्सरसम्बन्धी समस्या ठुलाे देखिनु जिल्लाका ग्रामीण बस्तीमा अझ बढी यससम्बन्धी समस्या कस्ताे हाेला साेचनीय विषय बनेकाे छ।

घाेराहीका स्वास्थ्य शाखा प्रमुख घर्तीका अनुसार याैन तथा प्रजननसम्बन्धी समस्याका बारेमा खुलेर भन्न नसक्ने तथा रोग लुकाएर बस्ने गरेकाले पनि यो समस्या विकराल बन्दै गएको छ। जहाँका नागरिकलाई सचेत र स्वास्थ्यकाे पहुँचमा पुगेकाे भनिन्छ, त्यही क्षेत्रमै पाठेघरकाे मुखकाे क्यान्सर हुने अवस्थामा पुगुञ्जेल उपचार गर्न नआउनु सरकारकाे स्वास्थ्य सचेतनाकाे कमी भएकाे देखिन्छ।

घर्तीले बजार क्षेत्रमा बसोबास गर्ने महिलाहरुले प्रजनन स्वास्थ्यको असावधानीका कारण तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरुमा रोग लुकाउने समस्याले यो समस्या थपिएको बताउँछन्। यसका लागि स्थानीय सरकारका तर्फबाट निरन्तर प्रयास भइरहे पनि आफ्नो स्वास्थ्यका बारेमा सबै सचेत नहुँदासम्म समस्या निवारणमा चुनौती रहेको उनकाे भनाइ छ।

अबका दिनमा प्रजनन स्वास्थ्यका बारेमा थप अभियान चलाउनुपर्ने अवस्था आएको घर्तीले बताए।

'आजकाे अभ्यासले समस्या समाधान हुँदैन'

संस्थागत परिवार नियोजन क्लिनिककी प्रमुख वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक राधा पौडेलले अहिलेको अभ्यासले पाठेघरको मुखको क्यान्सर समस्या समाधान सम्भव नभएको बताउँछिन्।

समुदायमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर तथा प्रजजन स्वास्थ्यमा देखा परेको समस्यालाई निकै जोखिमको अवस्थामा पुगेको पाइएकाले अबका दिनमा सबै निकायले गम्भीरताका साथ अभियान चुलाउनुपर्ने र पहिचान भएकाहरुको समयमै उपचार गर्नमा ध्यान दिनुपर्ने उनले बताइन्।

‘राज्यस्तरबाट स्वास्थ्यका क्षेत्रमा गरिएको लगानी पूर्ण छैन, त्यसैमा नागरिकहरु पनि स्वास्थ्यको सहज पहुँचमा छैनन्, यसले गर्दा पनि धेरै असर गरेको छ,’ उनले भनिन्, ‘अब फरक तरिकाले अभियान चलाउनुपर्ने हुन्छ।’

पाठेघरको मुखको क्यान्सर जाँच सेवा नागरिक स्वस्थ बनाउने अभियान हरेक नागरिक वर्गमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न स्थानीय सरकारले अभियान अघि बढाएको घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले बताइन्।

महिलाहरुमा बढ्दो पाठेघर क्यान्सर रोकथाम गर्न र यौन तथा प्रजनन स्वास्थ्य सेवा हरेक परिवारसम्म पुर्याउन नि:शुल्क रुपमा सेवा सुरु भएको जानकारी गराउँदै सहर--बजार, गाउँ-ठाउँ जताततै यो अभियान तीव्र पारेर महिलाको पाठेघर जोगाउँदै स्वस्थ नागरिक बनाउने काम भइरहेको उनकाे भनाइ छ।

पछिल्लो समय समुदायमा पाठेघर क्यान्सरको जोखिम उच्च हुँदै गएको हुँदा कोही पनि महिला उपचार अभावमा समस्या झेल्न नपरोस्, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा र सचेतना सहज रुपमा पाउँदै स्वस्थ रुपमा जीवन बाँच्न सकुन् भन्ने उद्देश्यसहित अभियानको थालनी भएको उपप्रमुख डिसीले बताइन्।

नेपालमा हरेक वर्ष ३० देखि ३५ हजार क्यान्सरका नयाँ बिरामी थपिने गरेको विभिन्न अध्ययनले देखाउँछ। क्यान्सर सुरुमा नै पत्ता लगाउन सकिए निको हुने भएकाले विशेष सर्तकता अपनाउन चिकित्सको सुझाव छ।

तर नेपालमा भने अधिकांश व्यक्ति क्यान्सरको अन्तिम चरणमा पुगेपछि मात्रै अस्पताल जाने गर्दा मृत्यु हुने क्रम बढेको छ। बिरामीले सुरुकै अवस्थामा सर्तकता अपनाउन नसक्नाले क्यान्सर रोगले थप जाेखिमकाे रूप लिँदै गएको चिकित्सकको भनाइ छ।

क्यान्सर काउन्सिल नेपालका अनुसार नेपालमा ७५ हजार नागरिक क्यान्सरबाट प्रभावित भएको अनुमान छ। क्यान्सरबाट प्रभावित हुनेमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ।

महिलाको पाठेघरको मुखको क्यान्सर बढी मात्रामा हुने गरेको देखिएको छ। मुख्यतः महिलामा पाठेघरको मुखको क्यान्सर, फोक्सोको क्यान्सर, आन्द्रा, पेटको क्यान्सर र पुरुषमा फोक्सो, घाँटी, आन्द्राको क्यान्सर हुने गर्छ।

प्रकाशित मिति: : 2022-12-19 17:08:00

प्रतिकृया दिनुहोस्