रवि लामिछानेका ‘दूत’ किन पुगे भारतीय दूतावास ?

पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाल लैनचौरस्थित भारतीय दूतावास पुगेका छन्।

प्रवक्तासमेत रहेका उनी शनिबार दिउँसो भारतीय दूतावास र खुफिया एजेन्सी ‘रअ’को एउटा गोप्य संवादमा सामेल भएको दूतावासनिकट स्रोतले जनाएको छ।

‘हाम्रो ढकालजी र अर्को एकजना साथी दिउँसो ३ बजेतिर आउनुभएको थियो। उहाँहरूलाई अनिलसापले ल्याउनुभएको हो। चिफसापसँग ढकालजीको भेट भएन। प्रशन्नसापलाई भेटेर फर्किनुभयो,’ ‘रअ’ कार्यालयका एक अधिकारीले बिएल नेपाली सेवासँग भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री ढकालले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई भेट्न खोजेपनि दूतावास कार्यालयले भेट दिएन। भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रशन्न श्रीवास्तव र खुफिया एजेन्सी ‘रअ’का उच्च अधिकारी अनिल गिरिलाई भेटेर उनी फर्किए।


रवि लामिछानेले किन भेटे केपी शर्मा ओलीलाई ?


महान्त्री ढकाल र डेपुटी चिफ अफ मिसनबीच नेपाल—भारतको आपसी सम्बन्ध र आमनिर्वाचन पछिको नेपाली सत्ता राजनीतिबारे छलफल भएको बताइएको छ। स्रोतका अनुसार दूतावास कार्यालयले औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलाेपटक बधाई—शुभकामना दिएको हाे।

नेपालको सत्ता राजनीतिकमा खास अर्थ राख्ने भारतीय दूतावासमा नयाँ पार्टीका शीर्ष नेताको आवतजावतलाई अर्थपूर्ण रुपमा हेरिएको छ। रास्वपाका सांसदहरूलाई सार्वजनिक मिडियामा बोल्न अंकुश लगाएका महामन्त्री ढकाल आफै भारतीय दूतावास पुगेका छन्।

‘मुकुल ढकालजी भारतीय दूतावास गएको हिजो रातिदेखि पार्टीभित्र गाइँगुइँ हल्ला छ। तर सत्य के हो, थाहा छैन। यदि उहाँ यसरी एक्लैएक्लै त्यहाँ जानुभएको हो भने गम्भीर समीक्षा हुन्छ। जनतासँग माफी माग्नुपर्छ,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना केन्द्रीय सदस्यले भने। समाचारको स्रोतबारे थप पुष्टि गर्न खोज्दा महामन्त्री ढकाल फोन सम्पर्कमा आएनन्।

रास्वपाका एक नेताले बताएअनुसार सभापति रवि लामिछानेले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार राति भेटवार्ता गरेका थिए। लगतै, लामिछाने र नेपाली कांग्रेसका महामन्त्री गगन थापाबीच नयाँ बानेश्वरको एउटा होटलमा भेटवार्ता भएको थियो।


रविको बटमलाइनः गगनलाई प्रधानमन्त्री मान्छौं, देउवा–प्रचण्डलाई मान्दैनौं

प्रकाशित मिति: : 2022-12-18 09:09:00

प्रतिकृया दिनुहोस्