पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई ‘सञ्चारमाध्यम र सामाजिक सञ्जाल’मा प्रतिबन्ध लगाएको छ।
नवनिर्वाचित सांसदहरूले ‘सार्वजनिक खपतका लागि जथाभावी बोल्दै हिँडेपछि’ थप अंकुश लगाउन बाध्य भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जनाएका छन्।
वैचारिक दृष्टिकोणमा रुमल्लिएका ‘घन्टी’का सांसद, पदाधिकारी र सदस्यहरूले सार्वजनिक मञ्चमा अनेकाैँ व्यक्तिगत मत राख्दैआएका छन्।
‘मिडियामा गएर नबोल्नू भनिएको छ। सपथ नलिएसम्म नबोल्ने रे! रवि दाइको सन्देश भन्दै महामन्त्रीज्यूले अफिसमै बोलाएर उर्दी दिनुभयो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना सांसदले बिएल नेपाली सेवासँग भने।
मिडियामा अन्तर्वार्ता दिँदा मनलाग्दी विचार प्रवाह गरेपछि सांसदहरूलाई प्रतिवन्ध लगाइएको एक पदाधिकारीले पुष्टि गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका जिम्मेवार नेताहरूबीच सार्वजनिक ‘बोलीमा एकमत’ नुहँदा सामाजिक सञ्जालमा वाद—विवाद भइरहेको छ।
‘पार्टीले कुनै स्पष्ट दृष्टिकोण दिएको छैन। हामी नयाँ सांसदहरूलाई प्रशिक्षित पनि गरेको छैन। अनि कसरी एउटै आवाज बोल्न सकिन्छ। यसो गर, त्यसो नगर भन्नुपर्यो! नत्र के—को प्रतिबन्ध,’ पार्टीकै एकजना सांसदले भनिन्।
स्रोतका अनुसार प्रवक्तासमेत रहेका महामन्त्री ढकाललाई मात्रै पार्टीको नीति—सिद्धान्तबारे मिडियामा बोल्न भनिएको छ। तर अन्य सांसद, पदाधिकारी र सदस्यलाई पार्टी प्रवक्ताको अनुमति बेगर नबोल्न उर्दी जारी गरिएको छ।
‘जनताको भारी मतबाट निर्वाचित हामी स्वतन्त्र सांसदहरूलाई रवि दाइ र मुकुलजीसामु एसम्यान बनाउने प्रयास गरियो। यतिसम्म साँघुरो सोच राखेर हामी कहाँ पुग्छौँ? यसरी पनि पार्टी चल्छ, हेरौँ आगामी कसरी बित्छ,’ समानुपातितर्फ निर्वाचित एकजना सांसदले भने। त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफैले पनि मिडियामा नबोल्ने बताएका छन्।