वीपीले प्रदान गरेको राजनीतिक धरातल अनुयायीहरूको झुण्डमा रुपान्तरित

ओम आचार्य

विराटनगर
sketch by raveendra mannadhar
sketch by raveendra mannadhar

मैले नेपाली काँग्रेसलाई गम्भीरतापूर्वक लिएको छु र मेरो हमेसा यो प्रयत्न रहन्छ कि मैले नेपाली काँग्रेसलाई अझ हस्टपुष्ट बनाेस्। वीपी कोइरालाले एक राजनीतिक धरातल दिएर जानुभएको छ, यही धरातलमा रहेर आज नेपाली काँग्रेस यहाँसम्म आइपुगेको छ। एउटा कुरा तपाईंलाई थाहा छ, भगवान बराहले पनि धरातल प्रदान गर्नु भएको थियो, पृथ्वी प्रदान गर्नु भएको थियो र संकटको समयमा पृथ्वीको रक्षा गर्नु भएको थियो। अहिले हामीलाई वीपी कोइरालाले जुन राजनीतिक धरातल प्रदान गर्नु भएको छ, त्यसकाे रक्षा गर्दै नेपाली काँग्रेसलाई बचाउनु हाम्रो परम दायित्व हो।

वीपीले प्रदान गर्नु भएको राजनीतिक धरातलमा रहेर नेपाली काँग्रेस हुर्किरहेको छ। यसमा धेरै नवआगन्तुकहरुलाई फूल/माला र अविरले हामीले पार्टी प्रवेश गराउँदै नेपाली काँग्रेसमा शिक्षित र दीक्षित गराउँदै छौँ। कति नेपाली काँग्रेसको विचार सिद्दान्तको प्रकाश पार्दै सभा, गोष्ठी, सेमिनार गर्दै आएका छौँ। र, मानिसहरुको राजनीतिक जिज्ञासा लोकतन्त्र, समाजवाद, मानवअधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता इत्यादीमा हामीले निदान गर्दै आएका छौँ। र, मानिसहरुलाई राजनीतिक जीवन यात्रामा हिँड्न अग्रसर गराउँदै लोकतन्त्र र समाजवाद नै राजनीतिक जीवनको अकाट्य हिस्सा हो त्यो जनमानससम्म पुर्‍याउँदै आएका छौँ।

हामीलाई राजनीतिक धरातल प्रदान गर्ने वीपी कोइराला र उहाँलाई साथ दिने शीर्ष नेताहरुले देशभरि भ्रमण गर्दै धेरै राजनीतिक सभा सम्मेलन सम्पन्न गर्नुभयो। सयौँ हजारौँ किलोमिटरको राजनीतिक यात्रा सम्पन्न गर्नुभयो, देशको कुनै कुनामा जानुभयो र जहाँ जहाँ जानुभयो त्यहाँका मानिसहरु स्वफुर्त पार्टी प्रवेश गरे र नेपाली काँग्रेसमा शिक्षित र दीक्षित हुँदै गए। त्यतिखेर वीपीकालिन समयमा पार्टी प्रवेश गरी काँग्रेसमा दीक्षित भएकाहरु भौतिकवादी मानिसहरु थिए र भौतिकवाद मानिसहरु जे गर्थे ती सबै तिनिहरु गर्थे। तर, कालान्तरमा ती मानिसहरुमा अद्भुत परिवर्तन आयो र सदाका लागि ती सबै छोडे। अत्याधिक भौतिकवादी हुनु राजनीतिमा एक भयंकर दोष हो तर सन्तुलीत भौतिकवादी हुनु राम्रो कुरा हो तर सबै नैतिकता, संवेदनशीलता, सबै नियम धर्म, नाता सम्बन्ध दाउमा राखेर सिर्फ अति भोग अपनाउनु समस्त समस्या, संकट, शोषण, समस्त भ्रष्टाचार एवम् सम्पूर्ण विनासको कारण हो। यस्तो प्रवृत्ति, यस्तो सोचले सबै राजनीतिक धरातल जीवनको सबै आयामहरुको सिर्फ पतनको कारण मात्रै हुन्छ।

यही भएर वीपी कोइरालाले प्रदान गर्नु भएको राजनीतिक धरातलमा रहेर हामीले नेपाली काँग्रेसलाई अगाडि बढाउन वीपी कोइरालाले प्रेरित गर्नुभएको हो।

नेपाली काँग्रेसमा वीपीले प्रदान गर्नु भएको राजनीतिक धरातलमा मुलत: दुई किसिमको काँग्रेस छन्, एउटा काँग्रेसमा दीक्षित मन मष्तिष्कले नै प्रेरित भएर राजनीतिलाई समाज सेवा मानेर यसैलाई कर्म मानेर हिँड्ने र अर्को काँग्रेसका अनुनायी।

अनुनायी त्यस्ता हुन्छन नेताले जे भन्यो त्यो ठिक भन्ने। हजुरको एकदम ठिक भन्नु हुन्छ, म हजुरको मान्छे, हजुरको सबै कुरा मान्छु तर राजनीतिक बाटोमा हिँड्ने मेरो समय आएको छैन, मैले धेरै काम गर्नु छ, अनुयायी भन्छ: राजनीतिक धरातलमा रहेर काम गर्दा के फाइदा हुन्छ अनुनायी फाइदा र नोक्सान हेरेर काम गर्छ, एउटा व्यापारी जस्तो तर शिष्य फाइदा र नोक्सान हेर्दैन, ऊ निष्ठा र विश्वासले राजनीतिक कर्म गर्दै जान्छ वीपीले प्रदान गरेको राजनीतिक धरातलमा रहेर त्यो धरातललाई अरु मजबुत, अरु शक्तिशाली र बलियो बनाउँदै जान्छ।

अहिले नेपाली काँग्रेसमा अनुनायीहरुको झुण्डै झुण्ड छ। यिनीहरु नाफा र नोक्सानको हिसाब गरेर व्यक्तिगत लाभमा छन। यी अनुनायीहरु नेताले जे गर्‍याे ठिक, हजुरबाट कहिले गल्ती हुँदैन जी/हजुरी गर्ने हुन्छन। यस्ता  नुनायीहरुको झुण्डले वीपीले प्रदान गरेको धरातल डुब्ने र धमिराले मक्किएको अवस्थामा पुगेको छ।

कहिलेकहीँ त्यो धरातलमा रहेर शिक्षित र दीक्षित भएकाहरु पनि अनुनायीहरुको झुण्डमा परेर अनुनायीमा रुपान्तरित हुन थालेका छन।

नेपाली काँग्रेसले वामपन्थीहरुसँग चुनावी गठबन्धन गर्नु पनि वीपीले प्रदान गरेको धरातलविरुद्ध थियो। आफ्ना आसेपासे जो राजनीतिक कर्म नै गर्दैनन्, व्यापारी जस्तो नाफा नोक्सान हेर्ने अनुनायीहरुलाई प्रत्यक्ष र समानुपातिकमा राख्नु पनि राजनीतिक धरातलविरुद्ध नै थियो।

कानुनी राज्य र सुशान, लोकतन्त्र र समाजवाद, मानवाधिकार, विचार र अभिव्यक्तिको स्वतन्त्रता, मौलिक हक र अधिकारको पृष्ठभूमि भएको त्यो राजनीतिक धरातललाई बिर्सेर अहिले नेपाली काँग्रेस वीपीले प्रदान गरेको राजनीतिक धरातलको शिक्षित र दीक्षित शिष्य हाेइन एउटा अनुनायीको रुपमा काम गर्दै गरेको छ। अनुनायी नाफा र नोक्सानमा आफ्नो ध्यान केन्द्रित गर्छ। त्यसैको उदाहरण हो अहिलेको मन्त्रिपरिषदले राष्ट्रपति समक्ष पठाएको अध्यादेश। यो अध्यादेश कथम्कदाचित पारित भए सरकारलाई राजनीतिक मुद्दाको नाममा व्यक्ति हत्या, आगजनी, विस्फोट, राष्ट्रविखण्डन, लुटपाट, अपहरण इत्यादी उन्मुक्ति मिल्छ।

के अहिले नेपालमा रहेका अझ सत्ता गठबन्धन दलका पार्टीहरुको राजनीतिक धरातल यही हो ? नेपाली काँग्रेसको त राजनीतिक धरातल त पक्कै नहुन सक्छ।

झापाको वर्ग हत्या, माओवादीको सशस्त्र आन्दोलन, नेपाली काँग्रेसको विमान अपहरण पनि यस्तै राष्ट्रविरुद्ध र समाज विरुद्धकाे विप्लव थियो। यी राजनीतिक दलमा रहेका व्यक्तिहरुले पनि उन्मुक्ति पाए, त्यो पनि राजनीतिक मुद्दा नै थियो। र, अहिले वर्तमान मन्त्रिपरिषदबाट पेश भएको अध्यादेश पनि यस्तै प्रकृतिका राजनीतिक दलका व्यक्तिहरुलाई उन्मुक्ति दिने सरकारको सोच हो। तर, यस्तो कहिलेसम्म संसारमा देशको मौजुदा राजनीतिक प्रणाली संविधानमा असहमती जनाउने राजनीतिक दल हुन्छ नै र यी राजनीतिक दलबाट यस्तो विप्लव, आन्दोलन यस्तो विखण्डन, यस्तो लुटपाट, हत्या आगजनी, अपहरण राजनीतिमा निरन्तर हुने गर्छ के ती भविष्यमा पनि निर्माण हुने सरकारले सबैलाई उन्मुक्त दिँदै जाने ? के यसले कानुनी राज्य र सुशासनको रक्षा गर्छ ?

वीपीले प्रदान गरेको राजनीतिक धरातलमा रहेर सरकारको नेतृत्व गर्न पाएको नेपाली काँग्रेस अब अनुनायीहरुको झुण्ड बन्न थालेकाे छ।

प्रकाशित मिति: : 2022-12-15 22:15:00

प्रतिकृया दिनुहोस्