बिक्री भएन बंगुर : दाङले थेगेन, काठमाडौंले लगेन

१२ सय बढी किसान समस्यामा

घोराही उपमहानगरपालिका–१७ क्वाडीमा छ, नमुना बहुउद्देश्यीय बंगुर फार्म। फार्ममा साना-ठूला गरी २५ वटा बंगुरहरु छन्। जसमा ११ वटा बंगुरका साना पाठापाठी बिक्री गर्ने भइसकेका छन्। करिब १० वटा जति अलि ठूला भएका पाठापाठी बिक्री नभएर बसेका छन्। ३ वटा ठूला बंगुर पनि बिक्री हुन सकेको छैन।

घोराही-१५ का गिरिराज अर्सीले सञ्चालन गरेको यस फार्ममा गएको फागुनदेखि बंगुर बिक्री नहुँदा त्यसै बसेका छन्। उनले बंगुर व्यवसाय गर्न थालेको एक वर्ष भएको छ। तर एक वर्षमै उनी यस व्यवसायबाट हात झिक्ने अवस्थामा पुगेका छन्।

‘मैले बंगुर पाल्न थालेको एक वर्ष भयो, तर फागुनदेखि बंगुर बिक्री नहुँदा म घाटामा गइरहेको छु,’ उनले भने, ‘यो व्यवसाय के गर्ने भन्नेमा सोचिरहेको छु।’ बंगुर पालन सुरु गरेको ३–४ महिनासम्म बंगुर बिक्री राम्रैसँग गरेका अर्सीले बितेको १० महिनादेखि बिक्री गर्न सकेका छैनन्।

‘न मासु मार्केटमा बंगुर बिकेको छ, नत पाठापाठी नै बिक्री भएको छ,’ उनले भने, ‘जसले गर्दा दाना खुवाउँदैमा घाटा भइरहेको छ।’

०००

घोराही–१७ गैरागाउँमै छ, परिवर्तन बंगुरपालन फार्म। यो फार्म जिल्लाकै पुरानो फार्ममध्ये एक हो। यस फार्ममा २५० जति साना ठूला बंगुरहरु छन्। यहाँको बंगुर बिक्री नभएपछि निःशुल्क बंगुरहरु वितरण गरिएका छन्। ‘न मासुका लागि बंगुर बिक्री भएको छ, न माठापाठी सबै ठप्प छ,’ फार्म सञ्चालक वीरबहादुर चौधरीले भने, ‘मैले त सित्तैमा बंगुरहरु वितरण गरिदिएको छु।’

पाल्न गाह्रो भएपछि करिब ५०/५५ वटा साना बंगुरका पाठापाठी निःशुल्क अरुलाई वितरण गरेको उनले बताए। ‘बिक्री भएन, राखेर के गर्ने,’ चौधरीले भने, ‘ठूलो भए दाना धेरै लाग्छ। ठाउँ अभाव हुन्छ। सित्तैमा करिब ५५ वटा अरुलाई बाँडिदिए।’

उनको फार्ममा अझै पनि ३०/३५ वटा बिक्रीका लागि राखेका साना पाठापाठी छन्। यी पाठापाठी भने बिक्री हुन्छ कि भनेर राखेको उनले बताए। चौधरीसँग भएका बंगुरहरु धेरैजसो बिक्री गर्ने भइसकेका छन्। तर चैत्र महिनादेखि बिक्री ठप्प हुँदा  पाल्न निकै समस्या भएको उनले बताए।

अर्सी र चौधरी मात्र होइन, घोराही उपमहानगपालिकाभित्र मात्र करिब २०० बंगुरपालक कृषकहरु बंगुर बिक्री नहुँदा समस्या रहेका छन्। यो संख्या व्यवसाय छाडेका कृषक बाहेकका हुन्। करिब एक वर्षदेखि बंगुर बिक्री ठप्प भएपछि ५ दर्जन (६० बढी) बढी व्यवसायीले बंगुर पाल्न छाडेको बंगुर व्यवसायी संघका घोराही नगर अध्यक्षसमेत रहेका चौधरीले बताए।

उनले पहिले बजारमा ३५० रुपैयाँ प्रतिकेजीमा बिक्री हुने बंगुरको मासु अहिले ३०० सयमा पनि मुस्किलले बिक्री हुने गरेको जानकारी दिए। ‘पहिले बजारमा फुटकरमा ३५० रुपैयाँमा बंगुरको मासु बिक्री हुने गर्थ्याे, तर अहिले ३०० समयमा पनि धौधौ हुन्छ’, उनले भने।

घोराहीमा मात्र होइन। दाङमा करिब १२ सय कृषक बंगुर व्यवसायमा छन्। यी सबै कृषकहरु बंगुर बिक्री नहुँदा निकै समस्यामा रहेको बंगुर व्यवासयी संघ दाङका सचिव तुल्सीराम बुढाले बताए।

बुढा स्वयम व्यवसायी हुन। बंगुर बिक्री हुन छाडेपछि गएको चैत्र महिनादेखि उनले बंगुरकलाई बालि (प्रजनन प्रकृया) लगाएका छैनन्। घोराही उपमहानगरपालिका–१३ मा तुल्सी कृषि तथा पशुपञ्छि पालन नामक फार्मबाट उनले बंगुर पाल्दै आएका छन्। साना ठूला गरी उनको फार्ममा ५० वटा बंगुरहरु छन्। तर बिक्री नभएपछि ८/९ महिनादेखि बंगुरहरु फार्ममै रहेको उनले बताए।

उनले जिल्लामा बंगुर बिक्री हुन थालेको दुई वर्ष पुग्न थालेको बताए। आउने वैशाखमा जिल्लामा बंगुर बिक्री हुन छाडेको दुई वर्ष पुग्ने उनले जानकारी दिए। ‘धेरै भयो बंगुर बिक्री हुन छाडेको। अलिअलि त गएको चैतसम्म बिक्री भयो। अहिले ठप्प छ,’ सचिव बुढाले भने, ‘मूल्यमा ह्रास आउन थालेको त आउने बैशाखमा दुई वर्ष पुग्छ।’

बंगुर बिक्री हुन छाडेपछि बंगुरलाई मार्नेसम्मको योजनामा पुगेको उनले बताए। ‘बंगुर ठूला भएका छन्। दाना धेरै लाग्छ, खर्च धेरै छ,’ उनले भने, ‘बिक्री भएको छैन। अनि कति घाटा वेहोरी रहने भनेर म त बंगुर मारेर फाल्ने योजनामासमेत पुगे।’

किन भयो समस्या?

जिल्लामा माग भन्दा उत्पादन धेरै भएपछि बंगुर बिक्री हुन छाडेको हो। पहिलेको मागअनुसार जिल्लामा बंगुर बिक्री भइरहेको छ। तर सरकारले बंगुर पाल्नका लागि प्रोत्साहन मात्र गरेको र बजारको सुनिश्चिता नगर्दा अहिले व्यवसायी मारमा परेको बुझाई घोराही–१५ का बंगुर व्यवसायी गिरिराज अर्सीको छ।

‘घोराही उपमहानगरले मात्र गत वर्ष ४०० पाठापाठी वितरण गर्यो। तर त्यसको बजारको सुनिश्चितता गरेन,’ उनले भने, ‘पहिले नै जिल्लामा धेरै व्यवसायी थिए। ४०० पाठापाठीबाट उत्पादन भएको बंगुर कहाँ बिक्री गर्ने ?’

दाङको बंगुरको बजार आफ्नै जिल्लासहित काठमाडौं, पोखरा, चितवन लगायत पूर्वी जिल्लामा हुन। तर यी जिल्लामा अहिले बंगुर बिक्री हुन सकेको छैन। व्यापारीहरु पूर्वबाटै सस्तो मूल्यमा बंगुरहरु खरिद गरेर लगेको र दाङ नआउँदा समस्या भएको बंगुर व्यवसायी संघ दाङका सचिव तुल्सीराम बुढाले बताए।

काठमाडौंमा अहिले पनि बंगुर पठाउन सकिने उनी बताउँछन्। गाडी भाडा महंगो हुँदा घाटा बेहोरेर बंगुर पठाउन नसकिएको उनले बताए। दाङमा खपत हुने बाहेक अहिले जिल्ला बाहिर हप्ता दुई गाडी मात्र बंगुर जाने गरेको घोराही नगर अध्यक्ष चौधरी बताउँछन्।

उनका अनुसार पहिले दिनमै दुई गाडी जिल्ला बाहिर बंगुर बिक्री हुने गरेको थियो। अहिले पनि एक गाडीलाई काठमाडौं पठाउन पर्यो भने ४० हजार बढी भाडा लाग्छ। उक्त भाडा तिर्न व्यापारी इच्छुक नदेखिएको र काठमाडौं नजिकका जिल्लाबाट व्यापारीहरुले बंगर खरिद गरिरहेको चौधरीले बताए।

जसले गर्दा दाङका बंगुरहरु बिक्री हुन नसकेको उनले बताए। यदि स्थानी तह, उद्योग वाणिज्य संघले भाडामा सहजिकरण गर्ने हो भने अहिले पनि काठमाडौंमा बंगुर लग्न सकिने बताए।

के भन्छ उद्योग वाणिज्य संघ ?

दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव टंकसिंह बुढाथोकीले उद्योग वाणिज्य संघ व्यवसायीहरुको बंगुर बिक्रीका लागि पहल गर्ने बताए। बंगुर व्यवसायीहरुले पहिले एक पटक कुरा उठाएको सम्झँदै पहल गरिदिन आग्रह गरेमा आफूहरु बजार खोज्नदेखि ढुवानीमा सहजिकरण गर्नेमा सहयोग गर्न तयार गरेको महासचिव बुढाथोकीले बताए।

‘बिक्री भएन भन्ने समस्या त पहिले एक पटक उठेको थियो। खास छलफल हुन सकेको थिएन,’ उनले भने, ‘केके समस्या भएको हो? कहाँ सहजिकरण गर्नु पर्ने हो? व्यवसायी आएमा हामी सहयोग गर्न तयार छौँ।’ 

प्रकाशित मिति: : 2022-12-13 11:51:00

प्रतिकृया दिनुहोस्