आम निर्वाचनको परिणाम आइसकेको छ। परिणाम कसैले पनि सोचेजस्तो छैन। न सत्तारूढ गठबन्धनले, न प्रतिपक्षी तालमेलले। न पुराना दलले, न नयाँ दलले। अरूको त के कुरा गर्नु जनता जनार्दन भनिएका मतदाता पनि आफैँले दिएको अहिलेको जनादेश देखेर छक्क परेका छन्।
यसपटकको जनादेश खण्डित हुने थियो, भयो नै। त्यही सम्भावना टाल्न देशका ठूला दलले चुनावपूर्वको गठबन्धन गरेका थिए। तर, यो पनि सफल हुन सकेन। फलतः मुलुकले विचित्रको त्रिशंकु संसद् पाएको छ। जहाँ, सत्ता मोलतोलको खेलमा ठूला दल कमजोर र साना दल बलवान हुने गजबको अभ्यास देखिने निश्चितप्रायः छ।
चुनावको परिणाम आएसँगै हार्नेहरू अझै पनि हारको सही कारण देखिरहेका छैनन्, जित्नेहरू पनि आफ्नो जितका कारण भेटिरहेका छैनन्। दुई चार सय मतले हार्ने हुन् वा १०–२० हजारले, सबै हारको कारण धाँधली नै बताइरहेका छन्।
उता, जित्नेहरू भने आफू जनताको सेवक भएकाले जितेको भनेर आत्मरतिमा रमाइरहेका छन्। यथार्थमा यहाँ जित पनि जित जस्तो छैन, हार पनि हारजस्तो छैन। केही अपवादहरू छन् जसलाई सामान्यीकरण गर्न सकिँदैन।
यो हारजितको आत्मरति मूल्यांकनको सिलसिला यहाँ चलिरहन्छ, हार्नेहरू कोही मुखको तीतो पोख्छन्, कोही अड्डा अदालत पनि जालान्। कोही लेख लेख्छन्, कोही अन्तर्वार्ता दिन्छन्। कोही पीडामा पिउलान् पनि। यो क्रम अर्को चुनावसम्म पनि चलिरहन्छ। हार्नेको कसले इतिहास लेख्छ र लेखिने त जित्नेहरूकै हो। भनाइ नै छ, जो जित्छ उही सिकन्दर।
अब यी सबै विगत भए। बढीमा सन्दर्भका रूपमा यिनीहरुको यदाकदा चर्चा–परिचर्चा हुने हो। यसै पनि नौ दिनमा नौलो र बीस दिनमा बिस्र्यो हुने देश हो नेपाल। अलिअघिका कुरा सम्झने कसलाई फुर्सद हुन्छ र ?
अब आगतको कुरा गरौं। शक्ति केन्द्रहरूमा सरकार गठनको चहलपहल सुरू भएको छ। कसैको पनि बहुमत नभएको र कसैको पनि भर नहुनेखालको परिस्थिति सिर्जना भएकाले हरेक कुराहरू पेचिला हँुदैछन्। यस्तै बेला हुने हो नानाथरिका आकलन। अहिले सरकार कसरी बन्ला, त्यसैको आकलन मौसम सुरू भएको छ।
राजनीतिमा अनेक भनाइ छन्। जस्तो कि, राजनीतिमा असम्भव भन्ने केही हँुदैन, यो अथाह सम्भावनाको खेल हो। राजीतिमा कोही स्थायी मित्र पनि हुँदैन, कोही स्थायी शत्रु पनि हुँदैन। नेपालमा यी सबै भनाइहरू लागू भएकै छन्। जनता ती सबै प्रयोगका साक्षी फड्के किनारामा बसिरहेकै छन्।
नेपालमा सरकारमा पुग्न र टिक्न आन्तरिक अंकगणित मात्र ठीक गरेर पुग्दैन, बाह्य शक्तिहरूको आशीर्वाद पनि आवश्यक हुन्छ। त्यो कसले लिन सक्छ भन्ने कुरा पनि महत्वपूर्ण रहन्छ। अहिलेका लागि त्यो कोणबाट पनि देउवाकै ग्रहदशा ठीकजस्तो देखिन्छन्।
अब सरकार कसरी बन्छ त ?
सरकार बन्ने अहिले पाँच जीवित सम्भावना देखिन्छन्। कुनैको सम्भावना अलि बढी होला, कुनैको कम। तर, सत्ता राजनीति अत्यन्त तरल स्थितिमा पुगेको यतिबेला कुनै पनि सम्भावना नम्बर एकमा पुगेर सरकार बन्न सक्छ।
सम्भावना–१ : वर्तमान सत्तारूढ गठबन्धनकै सरकारको निरन्तरता
अहिले पनि अंकगिणतले सत्ता गठबन्धन सबैभन्दा ठूलो गठबन्धन मात्र होइन, गठबन्धन जोगिए सामान्य बहुमत प्राप्त गठबन्धन हो यो। यसमा थपिएर मन्त्री हुनका लागि खासगरी मधेसी दलहरू लाइनमै छन्। तर, प्रश्न यो गठबन्धनको पहिलो प्रधानमन्त्री को हुने भन्ने छ ?
कांग्रेसमा जतिसुकै ठूला कुरा गरे पनि अंकगणितले शेरबहादुर देउवा नै संसदीय दलको नेता हुने लगभग निश्चित छ। अहिलेको गठबन्धन चलाउन उनी जति काबिल खेलाडी कांग्रेसमा छँदा पनि छैनन्। त्यस्तो अवस्थामा देउवाको रोजाइ पहिलो प्रधानमन्त्री हुने भन्ने हुन्छ। संख्याको हिसाबले कांग्रेस सबैभन्दा ठूलो दल हुने भएकाले यो स्वभाविकजस्तो पनि देखिन्छ।
तर, संसद्मा तेस्रो दलका रूपमा सत्ताको साँचो अहिले पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै हातमा छ। उनी पनि गठबन्धनबाट सुरूको प्रधानमन्त्री हुन चाहिरहेका छन्। कांग्रेसले साथ नदिए एमाले र अन्य दलको साथ लिएर पनि प्रधानमन्त्री हुने खालको पत्ता पनि खोलिसकिएको छ।
यसले सत्तारूढ गठबन्धनको सता सम्भावनालाई केही पेचिलो बनाएको छ। तर प्रचण्डको यो चाललाई राजनीतिक पण्डितहरूले माओवादीले राष्ट्रपति र नेकपा एसले सभामुख लिएर कांग्रेसकै नेतृत्वमा सरकारमा जानसक्ने चालका रूपमा लिनुपर्ने बताएका छन्। नेतृत्व कसको हुने ? भन्ने प्रश्न रहला तर अहिले पनि सरकार बन्ने शिखर सम्भावना भने यही नै हो।
सम्भावना–२ : वामपन्थी गठबन्धनको सरकार
यसअघि नै यो गठबन्धन मात्र होइन, पार्टीकै एकल सरकार पनि गिरेको र त्यसपछि दुईपटक नेकपा विभाजित भइसकेको अवस्थामा यो सम्भावना त्यति काम रूप होलाजस्तो देखिँदैन। तर, निर्वाचनमा विचार नमिलेका दलहरूको गठबन्धनमा मत साटासाट नभएको र देशको वामपन्थी मत अझै पनि वामपन्थी गठबन्धन होस् भन्ने चाहना राख्ने भएकाले यसको सम्भावनालाई पूरै नकार्न सकिन्न।
यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका निर्णायक हुन्छ। वामपन्थी एकता बिगार्ने उनको मैमत्ता प्रवृत्तिमा लगाम लगाउन उनी तयार भए र पहिलेकै बिन्दुमा पुगेर माओवादी र नेकपा एसलाई व्यवहार गरे भने यो सम्भावना देखिन्छ। तर, त्यसका लागि प्रचण्ड र नेपालले ओलीलाई सहजै विश्वास गर्न सक्दैनन्। प्रचण्ड र नेपाल भर्खरै सत्ता गठबन्धनमा रहेर चुनावमा गएकाले पनि यो सम्भावना अलि असजिलो छ।
यो सम्भावनाले काम गर्न कांग्रेसभित्रको आन्तरिक राजनीति कसरी अगाडि बढ्छ भन्ने पनि हेर्नुपर्ने हुन्छ। अहिले कांग्रेसको संसदीय दलमा देउवाको विकल्पको खोजी भइरहेको छ। झट्ट हेर्दा उनको विकल्प नदेखिए पनि राजनीतिमा असम्भव भन्ने केही हुँदैन भन्ने मान्ने हो भने उनको विकल्प पनि सम्भव छ। त्यो विकल्प भनेको कांग्रेसमा वामपन्थीसँग गठबन्धन गर्नु हुँदैन भन्ने पक्षको पल्ला भारी हुनु हो। अहिलेको सत्ता गठबन्धनको भविष्यका लागि यो पनि एक जबर्जस्त पक्ष हो।
सम्भावना–३ : एमाले समर्थनमा माओवादी सरकार
वर्तमान गठबन्धनलाई टुटाएर कांग्रेसलाई सत्ताभन्दा बाहिर राख्ने हो भने यो एक विकल्प हुनसक्छ। यसका लागि फेरि पनि एमाले अध्यक्ष ओलीको भूमिका निर्णायक हुन्छ। उनले आफ्नो मान्छे विद्यादेवी भण्डारी अथवा सुवास नेम्वाङलाई राष्ट्रपति बनाउनुपर्ने लगायतका विषयमा प्याकेजमा सम्झौता भएर यो विकल्प अगाडि बढाउन सक्छन्। र, पछि एमाले सरकारमा जान पनि सक्छ।
सरकारमा फर्कने सबै बाटा बन्द हुँदै गएका ओलीले राजनीतिक जीवनकै उत्तराद्र्धमा यस किसिमको यु–टर्न नगर्लान् भन्न पनि सकिन्न। नेकपा र नेकपा एमाले जोगाउन नसकेर लागेको कालो धब्बा मेटाउने दिशामा यो महत्वपूर्ण प्रस्थानविन्दु हुनसक्छ।
तर, यो सम्भावनाका लागि एमालेको मतले मात्र पुग्दैन, अन्य दलको पनि सहयोग लिनुपर्ने हुन्छ। प्रचण्ड यसो गर्न सक्षम हुन्छन् जस्तो देखिन्छ। किनकि, उनी उपेन्द्र यादवको जसपा, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, सिके राउतको जनमत पार्टीसम्मलाई मिलाउन सक्ने हैसियत राख्छन्।
सम्भावना–४ : कांग्रेस र एमालेको आलोपालो सरकार
भलै संसदीय पद्धतिमा संसद्को पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउनु नैतिक मानिँदैन तर अजब गजबको नेपालमा केही पनि असम्भव छैन। राजनीतिक स्थायित्वको नाममा प्रचण्ड र नेपाललाई देखाउन पनि ओलीले यो सम्भावनाका पहल गर्न सक्छन्।
यसो गर्दा कांग्रेस र एमालेका लागि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलागयतका अतिरिक्त सिंहासन पनि प्राप्त हुन्छन्। यसका लागि कांग्रेस तयार नहुन सक्छ र देउवामाथि यसो नगर्न पार्टीको प्रचण्ड दबाब पनि पर्न सक्छ।
तर, देउवा यस्तै तिकडम गरेर ज्योतिषी हेराउँदै सातपटक प्रधानमन्त्री हुने दाउमा रहेकाले उनी यो सम्भावनाका लागि तयार नहोलान् भन्न सकिन्न। नेपालमा सुरूमा ज्ञानेन्द्रलाई प्रत्यक्षरूपमा सत्ता बुझाउन र पछि अप्रत्यक्षरूपमा सत्ता फर्काउन उनले खेलेको कुभूमिका इतिहासमा दर्ता भइसकेको छ।
सम्भावना–५ : एमालेको समर्थनमा कांग्रेस सरकार
झट्ट हेर्दा असम्भवजस्तो देखिए पनि यो एक जीवित सम्भावना हो। यसका लागि पनि फेरि ओलीकै निर्णायक भूमिका हुन्छ। उनी एमालेका लागि राष्ट्रपति, सभामुखलगायतका पद लिएर कांग्रेसलाई एकलौटी सरकार बनाउन दिन सक्छन्। त्यसो गर्दा उनी प्रचण्ड र नेपाललाई सरकारबाट मात्र होइन, राष्ट्रपति, सभामुखलगायतका सबै ठूला पदबाट बाहिर राख्न सफल हुन्छन्।
जे–जस्तो मूल्य तिरेर पनि आफ्ना विरोधीलाई भित्तामै पुर्याउने ओलीकै दुबुद्र्धिले नेकपा र एमाले विभाजन भएर मुलुक अहिलेको त्रिशंकु अवस्थामा पुगेको हो। त्यसैले ओलीले त्यसो नगर्लान् भन्न सकिन्न।
सरकार बनाउन माथिका सबै विकल्पहरू खुला छन्। अहिलेको परिस्थिति हेर्दा आउँदो यो संसद्को कार्यकालभरि सबैखाले सम्भावनाको भुइँ टेकेर सरकार बन्न सक्छन्। ठूला पार्टीका त भन्न सकिन्न तर साना पार्टीका लगभग सबै सांसद मन्त्री बन्ने प्रचुर सम्भावना छ। सरकारमा जाने हानथाप बढेर साना दलहरू विभाजित हुन सक्छन्। अर्थात् राजनीतिमा सबै सम्भावनाहरू जीवित हुन्छन्।
नेपालमा सरकारमा पुग्न र टिक्न आन्तरिक अंकगणित मात्र ठीक गरेर पुग्दैन, बाह्य शक्तिहरूको आशीर्वाद पनि आवश्यक हुन्छ। त्यो कसले लिन सक्छ भन्ने कुरा पनि महत्वपूर्ण रहन्छ। अहिलेका लागि त्यो कोणबाट पनि देउवाकै ग्रहदशा ठीकजस्तो देखिन्छन्।
घुम्दै फिर्दै रूम्जाटार अर्थात्, जतिसुकै रस्साकस्सी गरे पनि बढीमा माओवादीले राष्ट्रपति र नेकपा एसले सभामुख लिएर देउवा नेतृत्वको सरकारमै जाने सम्भावना बढी देखिन्छ।
चुनावमा गठबन्धन भएर गएपछि केही समय त्यसैलाई टिकाएर प्रयत्न गर्नु वाञ्छनीय पनि हो। तर, यो टिकाउ प्रयोग भने होइन। किनकि, नेपाली जनताले वैचारिक धरातल नमिल्ने दलहरूको चुनावी गठबन्धनलाई भर्खरै अस्वीकार गरेका छन्।
प्रकारान्तरमा देशले अंगीकार गरेको निर्वाचन पद्धतिले सम्भव भएसम्म वैचारिक धरातलमा आधारित दुई दल र त्यो सम्भव नभए वैचारिक धरातलका गठबन्धनको माग गरेको छ। अर्थात् एउटा वामपन्थी गठबन्धन अर्को प्रजातान्त्रिक गठबन्धन। अहिले नै त्यसको प्रयास गरे पनि अन्यथा भन्न मिल्दैन। त्यसका लागि परिस्थिति निर्माण भएको छ, चाहिएको भनेको नेतृत्वको इच्छाशक्ति मात्र हो।