वि.सं. २०५४ सालदेखि १६ दिने लैङ्गिक हिंसाविरुद्ध सचेतना कार्यक्रम अन्तर्राष्ट्रिय अभियानका रुपमा नेपालमा पनि सञ्चालन हुँदै आएको छ। महिला तथा बालबालिकाले कुनै किसिमको हिंसा भोग्नु नपरोस्, त्यस्ता खालका लैङ्गिक हिंसाविरुद्ध साझा पहल र प्रयत्न रहोस् भन्ने हेतुले यो दिवस मनाउने गरिन्छ।
हिंसाविरुद्धकाे १६ दिने यो अभियान चलिरहँदा मैले चाहिँ सात समुन्द्र पारी बस्ने साथीले मसंगै भलाकुसारी गर्ने क्रममा अनायासै ‘बच्चा र श्रीमानलाई छोडेर अफिसको काममा कहिले कुन जिल्ला, कहिले कुन ठाउँ र कहिले त लामो समयको लागि विदेश नै जाने गरेको थियौ रे नि? भनेर सोधेको प्रश्न झल्याँस याद आयो।
कामको सिलसिलामा जानुपर्ने हुन्थ्यो, गइन्थ्यो भन्ने जवाफ दिएपनि आफूलाई त्यो कुराले बिझाइरह्यो। बच्चा र श्रीमानलाई छोडी-छोडी जाने म मात्र पहिलो महिला हो र? भनेर आफूले आफूलाई प्रश्न गरेँ। आफ्नो र घरपरिवारको सहमतिमा कामको लागि बाहिर जानु भनेको ठुलो कुरो त थिएन।
अहिलेको समयमा अधिकांश महिलाहरु कुनै न कुनै कार्यालयमा पढाइअनुसारको जागिरमा जाने, विभिन्न व्यवसायमा संलग्न हुने र सामाजिक, आर्थिक, धार्मिक, राजनीतिक जस्ता अनेकौँ क्षेत्रहरुमा व्यस्त हुनु भनेको सामान्य भइसक्यो। जनसंख्याको हिसाबले हेर्दा पनि महिलाको संख्या पुरुषको तुलनामा बढी नै छ। तीमध्ये कोही बाध्यताले, कोही रहरले त कोही घर, समाज र देशप्रति मेरो पनि दायित्व हुनुपर्छ भनेर हिँड्ने गरेको छ।
कोही ‘बाहिर गएर जागिर खान्न बरु घरपरिवार नै हेरेर बस्छु’ भन्नेहरु पनि छन्। यी सबै स्वेच्छा, अवस्था र बाध्यतामा भर पर्ने कुराहरु हुन्। बाध्यता नै नभए पनि पुरुषले मात्र होइन्, महिलाहरुले पनि केही न केही काममा लाग्नुपर्छ। चुप लागेर बस्नु हुँदैन, समयको सदुपयोग गर्नुपर्छ।
आयआर्जनको काम गर्नु भनेको दुःख पाएर वा पैसा कमाउनका लागि मात्र नभई आफ्नो पहिचान, सम्मान र आत्मसन्तुष्टिको लागि गर्ने हो। महिला दिदीबहिनीहरुलाई म फलानाको श्रीमती, बैनी, दिदी, छोरी हो मात्र भन्नु भन्दा पनि आफ्नै नामले चिनाउन सक्नु नै आफ्नो पहिचान बनाउनु हो भनेतापनि उक्त सल्लाह सुझाव कतिपयलाई मान्य भएन।
यसै सन्दर्भमा एक महिलाको प्रसंग पनि सम्झना आयो। ती महिलालाई बाहिरी काममा जाने/आउने गरेका आफ्नो श्रीमान कुन समयमा खाना खान आउने हो थाहा नै हुँदैन थियो। तापनि श्रीमानलाई खाना पकाएर खुवाउनलाई दिनभरि जस्तै पर्खिने गरेको देखिन्थ्यो। बिहानको एक छाक तातो खाना खुवाउने चक्करमा उनले पुरै समय पर्खेर नै खर्चने गर्थिन्।
उनको दैनिकी प्रायः सधैँ त्यसरी नै बित्थ्यो। त्यो देखेर एक घण्टा मात्र भएपनि आफ्नो लागि समय निकालेर सीप विकासको काम सुरु गर भन्दा मानिनन्। कारण उसको श्रीमानलाई बाहिर गएर काम गरेको मन नपर्ने र उनी स्वयंलाई पनि बाहिर गएको श्रीमान जुन समयमा आएपनि श्रीमानलाई तातो भात खुवाउन पाए आफूलाई आनन्द लाग्ने बताइन्। तर उनको त्यो त्याग र सेवा केही वर्षमा नै तोडियो, कारण श्रीमानले दोस्रो श्रीमती भित्र्याए र उनीसंग सरोकार नै राखेनन्।
आखिरमा श्रीमानलाई तातो खाना खुवाउने चक्करमै आफैं कैयौं दिन भोकै बस्न तयार हुने ती महिला पनि बाहिर काम गर्न जान बाध्य भइन्। तर त्यही प्रवृति नै अन्तिम सत्य हैन। किनकि कसैले चाहिँ श्रीमानले नगर भन्छ, बसिबसी खान छोडेर किन काम गर्नु, काम गर्न मलाई केको खाँचो भन्ने गरेको पनि भेटेको छु।
काम किन गर्ने? पैसाले तिमीलाई कहिल्यै पुगेन र काम गर्न खोजेको? भनेको पनि सुनेँ। कसैले बाहिर काम गर्न थालेपछि ‘बिग्रन्छ र मेरो श्रीमतीलाई बिगार्न आए’ भन्नेहरु पनि थिए भने त्यसै अनावश्यक समय खेर फाल्नु हुँदैन भनेर कामको लागि सबै चाँजोपाँजो मिलाई दिने सदस्यहरु पनि नभेटिएका होइनन्। समाजमा घर परिवेशअनुसार आ-आफ्नो स्वभाव र विभिन्न विचारधारा भएको मान्छेहरु भेट्दा त्यति आश्चर्य पनि लागेन। अझ हिंसाको पाटोमा कुरा गर्ने हो भने त डरलाग्दो स्थिति छ।
अझै पनि सासु-बुहारी, नन्द-भाउजु, आमाजुको सम्बन्धलाई चासोको विषयले हेरिनु, घरपरिवारभित्र मेलमिलापको विषयमा जान्न लालायित हुनु, महिला बाह्य काममा जाने थाहा पाउँदा पाउँदै पनि घरपरिवारबाट सहयोग नहुनु र दाइजोको विषयलाई लिएर तान्डव मच्चाउने पात्र र प्रवृति पनि हाम्रो समाजमा व्यापक छन्।
समाज, कार्यालय एवं घरपरिवारमा समेत पुरुष-महिलाबीचमा मात्र होइन, महिला-महिलाबीचमा पनि असमान व्यवहारहरू हुने गरेको पाइन्छ। टाँठाबाठाहरुलाई बढाइचढाइ गर्ने, सोझासाझालाई होच्याएर व्यवहार गर्ने, बहुविवाह गर्ने व्यक्तिलाई कानुनले सजाय दिने व्यवस्था गरे पनि श्रीमानलाई सजाय दिनुको साटो दोस्राे श्रीमती भई आउने महिलालाई छुट्याउने र सामाजिक बहिष्कार गर्ने, श्रीमान दोषी छ भन्ने कुरा जान्दा जान्दै पनि नजरअन्दाज गर्ने, श्रीमान मनपर्ने, सौता सहन नहुने जस्ता विभेदपूर्ण व्यवहारहरु कम हुन सकेको छैन। हालै धरानमा महिला अधिकारका नाममा आमा समूहले एक महिलालाई बिनाआधार मरणासन्न हुने गरी पिटेको घटनाले पनि सो कुराहरुको पुष्टि हुन्छ।
यस्तै संस्थाको नियमित बैठकमा कार्यकारी महिला सदस्य आफू उपस्थिति नहुने तर श्रीमानको उपस्थिति देखाइ भत्ता लिने/दिने गरेको पनि देखियो, जुन न नियमले न त नैतिकताले नै मान्य हुन्छ। यति मात्र होइन्, महिला सशक्तिकरणको सवालमा महिलाले नै महिलालाई विवादित व्यवहार गर्ने गरेको छ। सरकार जुनसुकै दलको भएपनि महिलाले महिलाको हकहितको मुद्दामा लड्ने हो तर महिलाहरुलाई मूलधारमा ल्याउनुअघि कुन दलमा आबद्ध छन्, उनको पृष्ठभूमि, जातभात, धनी-गरीब र कुन समुदायका हुन् भन्ने कुरामा चासो राखी मुद्दालाई ओझेलमा पार्छन्।
वास्तवमा महिला सशक्तिकरण भन्ने बित्तिकै जुनसुकै पृष्ठभूमिको भएतापनि महिला केन्द्रित भई काम गर्नुपर्ने तर पहिलो प्राथमिकतामा अन्य होइन, हाम्रो मात्र पार्न खोज्नु विभेदपूर्ण व्यवहारका सूचकहरु हुन्। समानता र अधिकारका कुरा सिद्धान्तमा गरेर, भनेर या दिएरै मात्र पर्याप्त हुँदैन। सबैले आफ्नो सोच र व्यवहारमा समेत परिवर्तन ल्याउन अत्यन्त जरुरी छ।
त्यसो त सबै महिलाहरु चुप लागेर बसेका पनि छैनन्। जे जस्तो सोच र व्यवहारहरु देखिएता पनि केही गर्न ईच्छुकहरु भने ईच्छासंग उपाय पनि खोजेर अघि बढेका छन्। इच्छाशक्ति भएकाहरुले केही नगर्ने बहाना बनाउनुको साटो व्यवहार मिलाएर भएपनि अगाडि बढ्ने कोशिस गरेका छन्। आफूलाई व्यस्त राख्न सके स्वास्थ्यको हिसाबले पनि निरोगी हुन सकिने, अनावश्यक कुरामा समय व्यतित नहुने र ‘खाली दिमाग शैतानको घर’ नहुनु पनि हो। हुनत सबै कुरामा सधैँ सबैलाई समान रुपले सहज हुँदै जान्छ भन्ने छैन।
समयानुकूल, अवस्थाअनुसार अगाडि बढ्दै जानुपर्ने स्थिति सबैलाई छ। यति हो, कसले कसरी आफ्नो बाहिरी काम र घरपरिवारलाई समन्वय गर्दै लग्यो र लान्छ भन्ने कुरा हो। त्यसो त विवाहित महिलाहरुलाई घरपरिवार छोडेर फिल्डमा बसेर काम गर्नु, परिवार र कार्यालयको कामबीच समन्वय गर्दै लैजानु अविवाहित र पुरुषहरूको तुलनामा कठिन छ। उनीहरुलाई घरपरिवार बालबच्चा छोडेर बाहिर काम गर्नु त्यति सजिलो भने पक्कै छैन।
सबै कुराको तालमेल मिल्दा पनि घर व्यवहार झ्वाट्ट छोडन गाह्रो छ। परिवारकै साथ, सहयोग र समझदारीको बाबजुद पनि अनेकौँ बिघ्नबाधा, लाञ्छना खेप्नु पर्ने स्थितिलाई पार गर्नुपर्ने अवस्था आउँछ। परापूर्वकालमा पुरुषहरु बाहिर गएर कमाउने र महिला घरायसी काम गर्ने भनेर कामको बाँडफाँट थियो। सोहीअनुसार चलेको पनि थियो तर समयअनुसार सबै कुरा परिवर्तन हुँदै जाँदा महिला शिक्षित भए, परिवार शिक्षित हुन्छन्। अर्थात् महिलाको पहुँच हुन सके परिवारलाई पनि सहयोग हुन्छ। परिवारभित्र तथा बाहिर स-सम्मान बाँच्न सक्छ भन्ने विचार संगसंगै महिला विकास, लैङ्गिक समानता र अधिकारको कुराहरू क्रमसँगै उठ्दै गयो। फलस्वरुप केही अपवादबाहेक घरका सदस्यहरुले सोही धारणाअनुसार सहयोग गर्ने गरेको र गर्दै आइरहेको पनि छ।
खाने मुखलाई जुँगाले छेक्दैन भन्ने भनाइ झैँ यो एक्काइसौँ शताब्दीसम्म आइपुग्दा महिलाहरु पुरुष सरह काँधमा काँध मिलाएर हिँडिरहेका छन्। हरेक समस्याहरुलाई परास्त गर्दै अगाडि बढ्न सफल पनि भएका छन्। आफ्नो पहिचान बनाउने, सफलता हासिल गर्ने कुरामा परिवारका सदस्यहरूले गर भनेर हौसला दिनु, वातावरण बनाइ दिनु एउटा पाटो त हो तर पहिचान बनाउने हुटहुटी त गर्न चाहने व्यक्ति स्वयंमको आफ्नो प्रयासमा भर पर्छ। मभित्र पनि सक्षमता छ भन्ने भावनाको विकास गर्न सके आफूसंगै परिवारलाई पनि सहयोग पुग्ने र ठिक-बेठीक छुट्याएर विकल्प रोज्नसमेत सक्षम हुन सकिन्छ।
सक्षम र सफल हुन निरन्तर साधना गरिरहनु आवश्यक देखिन्छ। त्यसका लागि परिवारका सदस्यहरूका साथसाथै, साथीभाइ र आफ्ना आफन्तहरुको साथ, सहयोग र समर्थन हुन सके केही गरौं र गर्नुपर्छ भन्नेहरुका लागि दरिलो मियो हुन सक्छ। तर यो सबैभन्दा पनि महत्वपूर्ण कुरा चाहिँ महिला सशक्तिकरणको आशा अपेक्षा गर्ने र त्यसको निम्ति भूमिका पनि खेल्न तयार रहने महिलाहरुको पङ्क्तिले महिला सशक्तिकरणको अभियानको नेतृत्व लिनुपर्छ। त्यसो गर्न केवल आफू वा आफ्नालाई मात्रै हेर्ने र सशक्त पार्ने हैन। समग्र महिला सशक्तिकरणको लागि सम्पूर्ण महिला एकताबद्ध भएर लाग्नु अनिवार्य छ। अरु जे होस् न होस्, महिला सशक्तिकरणको बाधक चाहिँ महिला कुनै हालतमा हुनु हुँदैन।