ललितपुर महानगरले गर्‍यो महिला स्वयंसेविकालाई नगद पुरस्कारसहित सम्मान

शनि शाक्य

ललितपुर

ललितपुर महानगरले १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस तथा विश्व स्वयंसेवक दिवसको अवसरमा २१ जना महिला स्वयंसेविकालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। 

६० वर्ष पूरा भएका १५ वर्षभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकामा रहेर जिम्मेवारी पूरा गरेका १९ जना र ६० वर्षभन्दा कम उमेरका तर १० वर्ष सेवा गरेका दुई जनालाई गरी महानगरले २१ जनालाई नगदसहित सम्मान गरेको हो। 

६०वर्ष पूरा गरेकालाई जनही एक लाख र ६० वर्षभन्दा कम उमेरकालाई जनही २० हजार र कदर पत्र दिएर महानगरप्रमुख चिरीबाबु महर्जनले सम्मान गरेका हुन्।

त्यसैगरी महानगरले महानगरको वडा नं ३ को वडा स्वास्थ्य कार्यान्वयन समितिलाई समुदाय स्तरमा उत्कृष्ट स्वास्थ्य सेवा पुर्याएको भन्दै १ लाख नगद पुरस्कारसहित साेमबार सम्मान गरेकाे थियाे। 

साथै क्षयरोगका बिरामीलाई डट्स प्रविधिबारे बुझाउँदै समुदाय स्तरमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेकोमा वडा नं ३ का दीपक महर्जनलाई १० हजार नगद पुरस्कार सहित सम्मानित गरिएको थियो। 

त्यसैगरी वडा न. २०का पुष्कर महर्जन उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरकको रुपमा २५ हजारसहित सम्मानित भए। 

महानगर वडा नंं.५की फ्याउरी सुनार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मध्ये उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बन्न सफल भइन्। उनी २५ हजार नगदसहित सम्मानित भएकी हुन्। 

देशभर ५१ हजार,४ सय २३ महिला स्वयंसेविका छन्। महिला स्वयंसेविकाले परिवार नियोजनबारे जनचेतना, झाडा पखाल,खोप तथा भिटामिन ए,जुकाकोऔषधि,स्वास्थ्य शिक्षा प्रदान गर्दै आएका छन्। 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कोरोनाको बेला स्वास्थ्य स्वयंसेविकाले निर्वाहको गरेको महत्वपूर्ण भएको बताए।

सेवा भावले समुदायमा पुगेर स्वास्थ्य स्वयंसेविकाले गरेको कामका कारण नागरिकमा स्वास्थ्य चेतना वृद्धि भएको बताए। 

नगरप्रमुख चिरीबाबु महर्जनले महिला स्वास्थ्य स्वयंसेविकाको अक्षयकोषलाई सक्रिय बनाउन आवश्यक पहल गर्ने स्पष्ट पारे।

महानगर उपप्रमुख मंजली शाक्य बज्राचार्यले निस्वार्थ र विनासर्त स्वयंसेविकाले गरेको कामबाट नागरिक लाभान्वित भएको बताइन्। 

स्वइच्छाले सेवा गर्ने भावले समुदायमा खटिएकाहरु स्वयंसेविकाहरुलाई दृढ इच्छाशक्ति सहित समुदायमा खटिन उनले अनुरोध गरिन्। 

ललितपुर महानगर स्वास्थ्य महाशाखा प्रमुख सरित महर्जनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले समुदायमै पुगेर पूरा गरेको जिम्मेवारीका कारण बाल मृत्युदर र मातृ मृत्युदर घटेको बताइन्।

नागरिकलाई निरोगी बनाउन स्वयंसेविकाको भूमिका महत्वपूर्ण भएको उनले प्रष्ट पारिन्। कार्यक्रममा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र २९ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2022-12-06 11:30:00

प्रतिकृया दिनुहोस्