काफलडाँडामा खुल्यो पुन संग्रहलाय

समाजसेवी चामबहादुर पुनको प्रतिमा पनि अनावरण

BreaknLinks
BreaknLinks

म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका– ८ काफलडाँडामा ‘पुन समुदाय सङ्ग्रहालय’को उद्घाटन गरिएको छ।

पुन समुदायको जीवनशैली झल्काउने उद्देश्यले ‘करबाकेली बाबा संरक्षण समिति’ले बनाएको सङ्ग्रहालयकाे सगरमाथा आरोही एवं चलचित्र अभिनेत्री दिया पुनले मंगलबार उद्घाटन गरेकी हुन्।

मंसिर १३ गते मंगलबार करबाकेली थानमा ठूलो कुलपूजा मेला लागेकाे थियाे। कुलपूजासँगै सङ्ग्रहालय उद्घाटन एकै दिन गरिएको थियो। कुलपुजामा म्याग्दी वरीपरिगाउँ र विदेशदेखि समेत सयौं तिर्थालु करबाकेली बाबाको दर्शन गर्न आएका थिए।

करबाकेली बाबाको पुजा गर्नाले मनोकामना पुरा हुने जनविश्वास छ। करबाकेली बाबाका दुई छोराहरू रामचन र कुलचनकाे नाममा तिर्थालुले भेडाको साँढ चढाएर बलि दिएका थिए।

काठ र ढुंगाबाट परम्परागत शैलीमा बनाइएको दुई तले भवनमा पुन समुदायको जन्मदेखि मृत्यू संस्कार झल्कने सामाग्री सजाइएको छ। भवनमा पुरातात्विक महत्वका सामान जस्तै जाँतो, ढिकी, कोल लगायत पुन समुदायले प्रयोग गर्ने सामाग्रीहरु सजाइएको छ।

भुइँतलामा पुस्तकालय छ जहाँ नेपालका विभिन्न जातजातिको इतिहास, संस्कृती र जीवनशैलीको पुस्तकहरु राखिएको छ।

सङ्ग्रहालय बनाउन करिब ८० लाख रुपैयाँ खर्च भएको समाजसेवी चाम वहादुर पुनले बताए। यसका लागि देश विदेशमा बसोवास गर्ने म्याग्देलीको सहयोग रहेको छ। साथै अन्नपूर्ण गाउँपालिका र गण्डकी प्रदेश सरकारले ५/५ लाख रुपैयाँ मात्र सहयोग गरेका छन्।

वि.स. २०७६ साल बैशाखबाट संग्रहालय निर्माणको कार्य सुरु गरिएको थियाे। सङ्ग्रहालय नजिकै करबाकेली थान र सामुदायिक पाहुना घर पनि बनाइएको छ।

समाजसेवी चाम बहादुर पुनको प्रतिमा पनि अनावरण

सङ्ग्रहालय उद्घाटन समाराेहमा बेलायती गोर्खा सेनाबाट निबृत भएपछि नेपालमा सामाजिक क्षेत्रमा दशकौ बिताएका चाम बहादुर पुनको प्रतिमाको पनि अनावरण गरिएको थियो।

आफ्ना जन्मथलोको विकासमा अतुलनिय योगदान पुर्याउने समाजसेवीको सम्मानस्वरुप प्रतिमा बनाइएको हो।

उनले करबाकेली बाबाको अनुसन्धानका साथै यस क्षेत्रको धार्मिक, सांस्कृतिक, सामाजिक र पर्यटकीय पूर्वाधार विकासको नेतृत्व गर्दै आएका छन।

उनै समाजसेवी चाम बहादुर पुनको प्रतिमालाई पुन समाज नेपालका अध्यक्ष भिमबहादुर पुनले अनावरण गरेका थिए।

बेलायतमा बसोबास गर्दै आएका अतिप्रसाद पुन, गिरबहादुर पुन र मूर्तिकार धनु याख्याको आर्थिक सहयोगबाट मूर्ति निर्माण गरिएको करबाकेली बाबा संरक्षण समितिले बताएको छ।

केहि वर्ष अघि पुनहिलबाट फूलबारी, करबाकेलीथान हुँदै बेनी बजार जोड्ने ‘करबाकेली इको ट्रेक’ पदमार्ग एक्सप्लोर गरिएको थियो।

पदमार्गमा जैविक विविधता, धौलागिरि, अन्नपूर्ण र मानापाथी सहितका हिमाल, पुन समुदायको संस्कृति एवं जीवनशैली अवलोकन गर्न पाइन्छ।

करबाकेली बाबा संरक्षण समिति काफल डाँडाको अगुवाई एवं काठमाडौंस्थित कन्सेप्ट नेपालको प्राविधिक सहयोगमा एक्सप्लोर गरिएको पदमार्गले पुनहिल, फूलबारी र करबाकेली थानलाई बेनी बजारसँग जोड्छ।

धार्मिक हिसाबले मात्र होइन, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक हिसाबले समेत करबाकेली क्षेत्र सुन्दर छ। करबाकेली थानबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालसहित वरपरका गाउँबेसीको मनमोहक दृश्य देखिन्छ।

प्रकाशित मिति: : 2022-12-04 19:35:00

प्रतिकृया दिनुहोस्