विराट एक्स्पो– २०२२ को तयारी पूरा

आगामी मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगरमा हुने कृषि तथा औद्योगिक मेला विराट एक्स्पो–२०२२ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

आइतबार एक्स्पो आयोजक उद्योग संगठन मोरङले विराटनगरको डिग्री क्याम्पसमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो।

‘मेरो देश मेरै उत्पादन’लाई प्राथमिकता दिएको एक्स्पोमा ३६१ वटा विभिन्न प्रकारका ब्यापारिक स्टल रहने आयोजकले जानकारी दिएको छ।

एक्स्पोमा कृषि तथा औद्योगिक प्रदर्शनी, स्टार्टअप पवेलियन, लगानी पवेलियन, पर्यटन पवेलियन, श्रम, रोजगार तथा सीप पवेलियन, स्थानीय परिकार, परम्परागत सीपको प्रत्यक्ष प्रस्तुति, सन्ट्रेल डिजिटल डिस्प्ले, सांस्कृतिक कार्यक्रम, सिङ्गिङ आइडल, पेपरलेस क्यासलेस भर्चुअल वातावरण लगायत मुख्य आकर्षण हुने मेलाका संयोजक भोलेश्वर दुलालले जानकारी दिए।

एक्स्पोमा माउन्टेन फ्लाइट उडानको समेत तयारी गरेको दुलालले बताए। यसपटकको एक्स्पो अरुबेलाको भन्दा फरक हुने उनले जानकारी दिए। उनका अनुसार यसपटक थिमेटिक सेसन तथा सेमिनारको समेत आयोजना हुने छ।

यस्तै उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मेलामा कम्तीमा २ लाख सर्वसाधारणले सहभागिता जनाउने बताए। मेलामा करिब साढे ३ करोड रुपैयाँ खर्च हुने उनले बताए।

एक्स्पो विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा हुनेछ।

प्रकाशित मिति: : 2022-12-04 17:50:00

प्रतिकृया दिनुहोस्