लिम्बू जातिको महान चाड चासोक तङनाम (उद्यौली पर्व) का अवसर पारेर मोरंङको उर्लाबारी -९ आम्बारीमा बृहत सांस्कृतिक कार्यक्रम गरि मनाईने भएको छ।
किरात याक्थुङ चुम्लुङ उर्लाबारीको आयोजनामा यहि मंसिर २२ देखी २४ गतेसम्म भव्य रुपमा सांस्कृतिक कार्यक्रमका साथ चासोक तङनाम मनाईने भएको हो।
विहान ७ वजेदेखि साँझसम्म विभिन्न कार्यक्रमका साथ चासोकलाई उत्सवका साथ मनाईने तयारी गरिएको किरात याक्थुङ चुम्लुङ उर्लाबारीकी अध्यक्ष बानु सुब्बाले जानकारी दिईन्।
अध्यक्ष सुब्बाका अनुसार यसवर्ष पनि न्वागी पूजा ,प्रसाद वितरणसहित लोकसंस्कृतिमूलक केलाङ च्याब्रुङ नाच, येवा लाङ,माङलाक प्रर्दशनी, धाननाचको प्रर्दशनी, लिम्बु गीतमा नृत्य ,गीत प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ। त्यस्तै, छेलो, डोरी तान्ने,हाईजम्प,लङ जम्प प्रतियोगिता हुने छन्।
आधुनिक प्रविधि, जीवनशैली, परिवर्तित समाज, भुमण्डलीकरण आदि कारणले नया पुस्ताले मौलिक सांस्कृतिक चाडपर्वहरु बिर्संदै गएकाले चुम्लुङले व्यबस्थित र सामुहिक रुपमा चासोक तङ्नाम मनाउदै नयाँ पुस्तालाई जानकारी दिने र हस्तान्तरण गर्ने उदेश्यले भव्यता दिन थालिएको अध्यक्ष सुब्बाले बताईन्। उनले यस क्षेत्रमा चासोकलाई साझा सांस्कृतिक चाडको रुपमा विकसित गर्न प्रयास भइहेको जानकारी दिईन।
खेतवारीमा छरपोख गरेर अन्नवाली उव्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङनाम मनाइने गरिएको आयोजक समितिका प्रकाश कन्दङ्वाले बताए। चासोकको अवसरमा तन्नेरीहरु च्याब्रुङ बजाएर नाच्दै साइनो नलाग्ने युवायुवतीहरु एकापसमा हात समाएर पालाम गाउदै धान नाच्ने गरेका छन्।
यो चाडलाई लिम्बु समुदायहरु एकअर्काबीचमा एकता र मेलमिलापको रुपमा लिने गरेको कन्दङ्वाले बताए।
सो पर्वको अवसरमा हरेक बर्ष आम्बारीस्थित चासोक तङनामस्थलमा भब्य मेलाको आयोजना हुँदै आएको छ।मेलालाई भब्य र सब्य रुपमा सम्पन्न गर्नका आफ्नो टिम सहित नारद लुङ्फङ्वाले संयोजकको भुमिका सम्हालेका छन्।
के हो चासोक तङ्नाम
प्रकृतिपूजक पूर्वका बहुल लिम्बू जातिको प्रकृति नै पुज्ने संस्कृति हो– चासोक तङ्नाम। यो संस्कृति लिम्बू समुदायले अपनाएको खेती प्रणालीको विकासदेखि मनाउँदै आएका हुन्।
धान पाक्न थालेसँगै थक्याउने समयभरि यो चाड मनाइन्छ। मङ्सिर पूर्णिमाको दिन यसलाई सामूहिक रूपमा मनाउने चलन छ। यो समय पूर्वेली लिम्बू बस्ती चासोक तङ्नाममय बन्छ।चासोक तङ्नाम पैयुँ फुल्नुका साथै माछा, चरा दक्षिणतिर लागेको उँधौली याम (दक्षिणायण) को न्वागी पर्व पनि हो।
लिम्बू मुन्धुम (शास्त्र) अनुसार आदिम लिम्बू पुर्खा सावा येत्हाङहरूले का“चो कन्दमुल खान्थे।
यसबाट उन्मुक्ति पाउन पुर्खाले तपस्या गरे। यसको सुनुवाइ गर्दै तागेरानिङ्वाभुमाङले मानिसलाई आगोसहित पारामा (कोदो जातको पाङ्दुर), क्यावो (फापर), फामु (कागुनी) लगायत विज दिए।
प्राप्त बिज सावा येत्हाङका चेली सिबेरा याक्थुङमा (लिम्बू महिला) ले संरक्षण गरेर कृषि युगको सुरुवात गरिन्। आगोले मानिस खाद्यान्न पकाएर खान अभ्यस्त भए।
यसपछि मानिसले स्वास्थ्यवद्र्धक खाद्यान्न पाउन थाले। यसपछि प्रकृतिसहित खाद्यान्नको बीउ दिने ‘तागरेनिङ्वाभुमाङ’लाई सधन्यवाद आफूले नखाई चोखो अन्न अर्पण गर्न थालियो। यसैको निरन्तरता ‘चासोक तङ्नाम’ अहिले पनि कायम रहेको हो।
चासोक तङ्नामले लिम्बू समुदायको परम्परागत जीविकोपार्जनको पेसागत मुख्य आधार कृषि हो भन्ने पनि जनाउँछ।
धान र कोदो पाकेपछि लिम्बू जातिले चासोक गर्नैपर्ने चलन छ।
चासोक पूजा आ–आफ्नो घरमा फेदाङ्मा (लिम्बू पुरेत) बोलाई गरिन्छ। फेदाङ्माले तागेर निङ्वाभुमाङलाई पुगार्दै नयाँ अन्न खान पाउने अनुमतिको माग गर्छन्।
खाँदा, रोग व्याध नलागोस्, स्वस्थ जीवन जिउन पाइयोस् भन्ने कामना पनि गरिन्छ। फेरि पनि धेरै अन्न फलाउनमा सहयोगको याचनासमेत गरिन्छ।
चासोकका बेला कलात्मक रूपमा चिटिक्कको पुतली झलक दिने धानका बाला बुनिन्छ। यसलाई घरको पनि शोभा बढ्नेगरी ढोकाछेउमा झुन्ड्याइन्छ। यसरी आफूहरूको पहिचानसहितको सभ्यता बोक्ने चासोक तङ्नाम लिम्बू जातिले आफ्नो मौलिकताको मुख्य चाड मान्छन्।
लिम्बु भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङनाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ।परम्परादेखि घरघरमा चासोक तङनाम मनाउदै आए पनि डेढ दशकयता यसलाई आदिवासी जनजाति लिम्बुलगायत चार किरातीले आप्mनै शैलीमा सामूहिक रुपमा सार्वजनिक माङहिम र स्थलमा भेला भई तीन दिनसम्म मनाउन थालेका छन्।
रिसराग, इष्र्या बिर्सेर चासोक तङनाममा आत्मीयतासाथ लिम्बु दाजुभाइ एवं दिदीबहिनीले भेटघाट र शुभकामना आदानप्रदान गर्छन्।
खाद्य परिकार चाम्रे, याङबेन (झ्याउ), सिगोले, फिलिङ्गे र फुदोको अचार, कोदोको तोङवा, तीनपाने रक्सी बनाएर खाने गर्छन्। पाहुनाको सेवासत्कार गर्छन्।चेलीबेटी हुक्वा (आफैले बनाएको शोभित) र अन्य प्रकारको चेसुङ (कोसेली) साथ माइतीघर आउनेजाने गर्छन्।
युवा सार्वजनिक स्थानमा भेला भई परम्परागत जातीय खेल ‘पक्लुङ’ (छेलो हान्ने खेल) खेल्नुका साथै माछा मार्ने गर्छन्।सामूहिक रुपमा केलाङ च्याब्रङ बजाएर र्छुइ र्छुइ हा सरलाइमा सर भन्दै नाच्छन्।
नाता नपर्ने तरुणतन्नेरी जातीय पहिरन र गहनामा सजिएर एकआपसमा हात समाउदै मायाप्रीतिका गीतलाई पालामको भाकामा स्वर उरालेर ‘यालाङ’ (धाननाच) नाँच्छन्। प्रौढ, वृद्धवृद्धा मुन्धुमी साम्लो, हाक्पारे आदि गीत गाएर मनोरन्जन गर्छन्।
यस चाडले जातीय पहिचान र सांस्कृतिक गौरव बढाउनुका साथैं सामाजिक सद्धभाव, एकता र पारस्परिक सहयोगको भावना पनि विकास गरेको छ।
पुरानो पुस्ताका लिम्बूले आफ्नो संस्कार संस्कृति नयाँ पुस्तालाई चासोकको माध्यमबाट हस्तान्तरण गर्ने चलन छ।
चासोक तङ्नाममा आयोजना हुने कार्यक्रममा गैह्रलिम्बू समुदायका मानिसहरुको पनि बाक्लो उपस्थिती रहदै आएको छ। जसले गर्दा जातिय सद्भावको विकास गराएको जानकारहरु बताउछन्।
यसपर्वमा लिम्बू जातिका मानिसहरुले शुभकामना साटासाट गर्दै उत्सवका रुपमा मनाउने चलन रहेको छ यसपर्वले भाइचारा,आपसि सद्भाव बढाउने गरेको पाईन्छ।