युएईको नेपाली क्लबले पायो भारतीय व्यवसायीको साथ

युएईमा नेपाली समुदायका बीच विभिन्न अवसरमा खेलकुद गतिविधि सञ्चालन गरिरहेको 'युथ स्पोर्टिङ क्लब' ले भारतीय व्यवसायीको साथ पाएको छ।

प्रायोजक नपाउँदा नियमित रूपमा खेलकुद गतिविधि सञ्चालन गर्न नसकेको गुनासो गरिरहेको बेला क्लबलाई भारतीय व्यवसायीद्वारा सञ्चालित 'फ्लाईमोड ट्राभल एण्ड टुरिजम' ले १ वर्षको लागि प्रायोजन गर्ने भएको हो।

बरदुबईको अलकरामा क्षेत्रमा अवस्थित फ्लाईमोड ट्राभलले यसअघि पनि क्लबद्वारा आयोजित विभिन्न प्रतियोगिताहरुमा प्रायोजन गर्दै आएको थियो। यसपटक भने ट्राभलले लिखित रूपमै सम्झौता गरेर १ वर्षको लागि प्रायोजक बनेको युथ स्पोर्टिङ क्लबका खेलकुद संयोजक रउल श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।

श्रेष्ठका अनुसार सम्झौता अवधिभर क्लबको नाम, लोगो, जर्सी तथा क्लबले प्रयोग गर्ने सम्पूर्ण खेलकुद सामाग्रीमा फ्लाईमोडको लोगो प्रयोग गरिनेछ।

युएईमा नेपाली व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेपनि खेलकुद क्षेत्रमा क्रियाशील क्लबलाई प्रायोजक खोज्न विदेशी गुहार्नुपर्ने स्थिति आइरहेको सन्दर्भमा कम्तिमा १ वर्षको लागि भएपनि प्रायोजक पाउनु सुखद रहेको रउल श्रेष्ठ बताउँछन्।

ट्राभलको कार्यालयमा हालै भएको उक्त सम्झौतामा ट्राभलको तर्फबाट राकेशकुमार र ब्रुसालीले हस्ताक्षर गरेका थिए भने क्लबका तर्फबाट रउल श्रेष्ठ र तारा गुरुङले हस्ताक्षर गरेका थिए।

सन २०१९ देखि सञ्चालनमा आएको फ्लाईमोड ट्राभल युएईमा दर्तावाल व्यवसायीक संस्था हो। यसले एयर टिकट, भिजा प्याकेज, होटल बुकिङ, क्रुज बुकिङ, ट्राभल इन्सुरेन्सलगायत टुरिजमसम्बन्धी अन्य धेरै सेवाहरु प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति: : 2022-12-02 12:08:00

प्रतिकृया दिनुहोस्