म्यान्मारको सेनाद्वारा नेपालीभाषी युवकको हत्या

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मारको सैन्य ‘जुन्ता’ले नेपालीभाषी युवकको गोली हानी हत्या गरेको छ।

‘कू’मार्फत् सत्ता हातमा लिएको सैन्य परिषद् समर्थक सशस्त्र समूह ‘प्यूसठी’ले टमु नगरका २७ वर्षीय राजु आचार्यको गोली हानी बिहीबार हत्या गरेको हो। हत्या भएको एक दिनपछि उनको लास टमु नगरमा भेटिएको स्थानीयबासीले जनाएका छन्। 

स्थानीय युवा व्यवसायी रहेका मृतक आचार्यको साथबाट ३ करोड च्याट (बर्मी रुपैयाँ) पनि लुटिएको उनको परिवारले जनाएको छ।

म्यान्मार सेनाको संरक्षणमा सञ्चालित प्यूसठीहरू सशस्त्र लुटेरा समूहले प्रजातन्त्र सर्मथक नागरिकलाई हत्या, अपहरण, कुटपिट र लुटपाट, गर्दै आएका छन्। 

लुटेरा समूहले मृतकको साथमा रहेका दुईवटा मोबाइल र एउटा मोटरसाइकल पनि कब्जामा लिएर गएको त्यहाँ रहेका एक नेपालीभाषीले बिएल नेपाली सेवालाई जनकारी दिएका छन्।

म्यान्मारमा सन् २०२० को फेब्रुअरीमा भएको सैन्य ‘कू’ भएयता प्रजातन्त्र समर्थकमाथि हत्या हिंसाका घटना भइरहेका छन्। अहिले सम्म लुटेरा समूह र सेनाले पाँच जना नेपालीभाषीको हत्या गरिसकेको छ।

प्रकाशित मिति: : 2022-11-26 20:20:00

प्रतिकृया दिनुहोस्