सुदूरपश्चिम र मिथकहरू

हेमन्त विवश

काठमाडौं
BreaknLinks
BreaknLinks

आदिमकालदेखि नै मान्छेले जिन्दगीका कैयौं घुम्तीहरू पार गर्ने क्रममा कतै रोएको छ, कतै अचम्मित परेको छ, कतै मुस्कान छोडेर हिँडेको छ भने कतै कुनै शक्तिप्रति आस्थावान बनेर मौनतामा एकाग्रतामा बाँचेको छ। यसरी जिन्दगी जिउने क्रममा धर्म, संस्कृति, चालचलन, रीतिरिवाज सबैले बेरिएको छ। अनि बोकेको छ प्रतीकका रुपमा बग्दै गरेको पौराणिक कथाको भारी।

पूर्वजका पालाका तिनै कथाहरूलाई एक पिँढीबाट अर्को पिँढीमा सम्झिँदै अनि सम्झाउँदै र सुन्दै वा सुनाउँदै गएको छ। जहाँ अतिमानवीय संकल्प, शाहस अनि शक्तिका वीर गाथाहरू लुकेका छन् र अति रोचकीय ढंगले सजिएका पनि छन्। यिनै कथा, कहानी, वीर गाथाहरू, चरित्र चित्रणहरू लामो समयदेखि सुनिदै आएका छन्। यिनैलाई हामी मिथ भन्छौँ। तर इतिहासका सत्य-तथ्य पाटाहरू मिथ हुन सक्दैनन्। त्यसभित्र समेटिएका कथा व्यथाहरू मिथकका रुपमा देखापर्दछन्। जस्तै पृथ्वीनारायण शाहले बीच थालबाट भातको गास झिक्न खोज्दा बूढी आमाले दिएको उपदेश मिथ हो।

त्यो समय जतिखेर ब्रिटेन विश्वको एक शक्तिशाली राष्ट्र थियो, विश्वमा क्लासिकल लर्निङको उच्च लहर चलिरहेको थियो। कैयौं लेखक र बौद्धिक समुदायका मानिसहरू ग्रीक र रोमन मिथकबाट प्रभावित थिए। अँग्रेजी साहित्य रोम र ग्रीकको मिथबाटै प्रभावित थियो। त्यतिखेर हामीसँग पनि कमी थिएन मिथकहरूको। तर बिडम्बना भनौँ या दुर्भाग्य हाम्रा मिथकहरूको चर्चा कहीँकतै हुन सकेन। बरु हामी पनि प्रभावित भयौँ तिनै ग्रीक र रोमका मिथकहबाट। चर्चा गर्न थाल्यौँ तिनै प्रमिथसका बारेमा।

हरेक राष्ट्र र समाजका मिथकहरूलाई फैलाउनमा साहित्यकार, संस्कृतिविद् अन्वेषक र विद्वत वर्गको उत्तिकै जिम्मेवारी रहन जान्छ। त्यस्तै जिम्मेवार निकायको रुपमा राजनीतिक कोणबाट पनि महत्वपूर्ण भूमिका निर्वाह हुनुपर्दछ। पाठ्यक्रमभित्र मिथकहरूलाई समावेश गराएर विद्यालय र विश्वविद्यालयमा पठनपाठन गराउने वातावरणको सिर्जना गर्न राज्यको महत्वपूर्ण भूमिका र दायित्व रहनजान्छ। जुन कुरा हामीले जति गर्नुपर्ने थियो, त्यति अझ गर्न सकेका छैनौँ।

हरेक संस्कृति र सभ्यताको बहुमूल्य अङ्गका रुपमा हेर्न सकिन्छ मिथलाई। जो कुनै विचारको कित्तामा पर्दैनन् र राख्न सकिँदैन पनि। सुदूरपूर्व र सुदूरपश्चिमका मिथकहरूमध्ये कुनै कुनै दुबैतिर उस्तै ढंगले सुन्न सकिन्छ, जस्तै- सुनकेस्रा रानीको कथा। केही बिलकुलै नौला छन् भने कुनैले थोरै मात्रामा भिन्नता बोकेका छन्। कल्पनाशीलता, संवेदना अनि सौन्दर्यबोधका छालहरू एकआपसमा मिस्सिँदै गर्दा अनेक रुपधारण गरेर सर्दै आइरहेका हुन्छन् यी कथा र गाथाहरू पुस्तौ पुस्तासम्म।

यस्ता कहानी अनि गाथाहरू र पौराणिक कथाहरू कैयौं सुन्न सकिन्छ, मध्य तथा सुदूरपश्चिममा। त्यस क्षेत्रमा सुनिने कैयौं यस्ता कथाहरू नौला छन्, यानकि नेपाली साहित्यमा भित्रिन सकेका छैनन्। ती सारा कुराहरू स्थान अभावका कारण यो सानो लेखभित्र समेट्न त्यति सजिलो छैन। यद्यपि, यस्ता केही कथाहरू दुई/चार वटा मात्रै भएपनि यहाँ प्रस्तुत गर्न सान्दर्भिक देखिन्छन्।

लोककथाहरू:

सुदूरपश्चिममा अनेक थरिका मनोभाव समस्या जिज्ञासा र नैतिक दृष्टि झल्काउने खालका लोककथाहरू सुन्न पाइन्छ। यस्ता कैयौं कथाहरूले लेख्य रुप नपाउँदा र पछिल्ला पिँढीका (हालका) मानिसहरूले खासै वास्ता नगर्दा अनि पुराना बुढापाकाहरूले विस्तारै धर्ती छोड्दै गर्दा त्यत्तिकै लोप भएका छन्। अझ भनौं तिनै बुढापाकाहरूसँगै सती गए कतिपय लोककथाहरू कसैले थाहा नपाउने गरेर।

युगौंदेखि जनमानसमा जीवित यी दुर्लभ मिथकहरू केही समययता युवा पिँढीको विदेशिने क्रम बढ्दै गएको तथा पुराना मूल्य, मान्यता र मिथहरूलाई बेवास्ता गर्न थालिएकोले एक पिँढीबाट अर्को पिँढीमा सर्न नपाउँदै इतिहास र संस्कृतिका केही पाटाहरूसँगै केही मिथहरू पनि लोप भइसकेका छन्। केही भने नेपाली साहित्यभित्र भित्रिसकेका छन्। अनि केही भित्रिने क्रममा छन्।

जेठी-बौरानीको कथा

सुदूरपश्चिममा जेठाजुलाई जेठी र भाइबुहारीलाई बौरानी भनिन्छ। सदियौँ पुरानो कथा हो, जेठाजु र भाइबुहारीका बीचमा प्रेम भएछ। गाउँ-समाजमा जुन कुरा अहिले पनि पाच्य छैन भने त्यो समयमा त समाजले चाल पायो भने उसले छोएको पानी नचलाउनेदेखि गाउँबाट निष्कासित गर्न समेत बेर लाग्दैनथ्यो।

अहिलेको जसरी गाउँ-समाज छोडेर बाहिर गई गुजारा चलाउन पनि सजिलो थिएन। तर प्रेममा मान्छे अन्धो हुन्छ भनेझैं माया प्रेम झाँगिदै गएपछि अरु कसैले चाल नपाउने सुरक्षित स्थान रोज्ने क्रममा दुबै खप्तडका पाटनबाट पनि दुई घण्टा टाढाको स्थानमा पुगी छेउमै रहेको निकै नै ठुलो ढुङ्गामा अडेस लगाई बसेछन्। दुबैले गफगाफ गर्दै अंकमाल गर्ने क्रममा चट्टानको टुप्पामा बसेको कागले देखेर कराएछ।

कागले श्राप दिएछ- ‘खप्तडको यो पवित्र भूमिमा आई जेठी-बौरानीको पवित्र सम्बन्धको समेत ख्याल नगरी यस्तो कार्य गर्ने तिमीहरूलाई कतै बाटो नमिलोस्।’ रिसको झोकमा ती दुईले पनि कागलाई सरापेछन्, ‘कसैले चाल नपाओस् भनेर यति टाढा यो सुनसान ठाउँमा त हामी पुगेका थियौँ। यहाँ पनि तैँले पिछा गर्न छोडिनस्, अब तैँले पनि गति नपाएस्।’ यसरी एकअर्काको श्रापले गर्दा तीनैले त्यसै ठाउँमा प्राण त्याग गरे भन्ने भनाइ छ। हाल पनि ढुङ्गामा टाउको निहुराएर विपरीत दिशातिर फर्किएका महिला र पुरुषको आकृतिका साथै चट्टानको शीरमा झुण्डिएको कागको आकृति समेत देख्न सकिन्छ।

सन्जावालीको कथा

बडुभाट नामको व्यक्तिको घरमा सन्जावाली नामकी कन्या जन्मिन्छिन्। जन्मिने बित्तिकै तीन/चार महिनाकी जस्ती देखिने सन्जावाली दिन प्रतिदिन ठुली हुँदै गइन्। विस्तारै उनको बिहेको प्रसंग चल्न थाल्यो, यसै सिलसिलामा एकदिन रुपामुक्ता नामको केटासँग बिहे पनि भयो। बिहे भएको केही महिनापछि रुपामुक्ता एकदिन बिहानै ससुराल गए तर संयोगले त्यही दिन एकादशीको ब्रत परेको रहेछ। तब ज्वाइँलाई प्रश्न सोधियो, ‘जुवाइ तम्रा देश एकादशीको ब्रत हुन्छ कि हुँदैन?’ ज्वाइँको उत्तर थियो, ‘किरमडी काठको छोलु दन्त ब्रत माझको एकै अनन्त।’ तब केही बोल्न सकिने अवस्था हुँदैन। दिनभर पानीसम्म नखाएर ब्रत बसेका ज्वाइँराजाको साँझपख मूर्छा परेर प्राण नै जान्छ। मध्य रातमा ज्वाइँको लाशलाई कसैले थाहा नपाउने गरी पिपलको रुखमुनि गाडिन्छ।

केही दिनपछि माथिबाट सन्जावाली बुवाको घरतिर झर्दै गर्दा बाटैमा बुवासँग भेट हुन्छ र भन्छिन्, ‘कि मेरो लोग्ने देऊ हैन भने भाइ देऊ, भाइलाई मार्छु।’ पागलजस्तै भएकी सन्जावालीले पिपलकै रुखमुनि भाइलाई लगेर गर्दनमा खुकुरी हान्न खोज्दा भाइको घाँटीमा नलागी खुकुरी पिपलको जरामा बजारिन्छ। त्यसैबेला पिपलको जराबाट हाइ निन्नरा भन्दै रुपामुक्ता निस्किन्छन्। सन्जावालीका आँखाबाट हर्षका आँसु झर्छन्।

रानीमौलाको भारत:

मध्य तथा सुदूरपश्चिममा प्रचलित डमरुजस्तो सानो र दुईतिर फुकेको, हातले बजाइने बाजाका साथ दमाई जातिले नाच्ने गाउने लोकनृत्य एवं गीतलाई भारत अथवा हुड्केली भनिन्छ। जसमा वीर पुरुषहरूका गाथाहरू गाइन्छ। युद्ध लडाइँ वीरताको सुन्दर वर्णन गरिएको पाइन्छ भारतमा। भारतको मूल अर्थ हो ‘कथा’। विशाल कथानक भएको गाथालाई ‘महाभारत’ भनिएको हुँदा ससाना कथानक भएका लोकगाथालाई ‘भारत’ भनिएको हुनुपर्छ। जसअन्तर्गत रानीमौलाको भारतलाई सुदूरपश्चिमको प्रमुख भारतका रुपमा पनि लिएको पाइन्छ। जुन कथा यस्तो छ।

राजा प्रथम द्यौका सात रानीहरू मध्ये रानीमौलाबाहेक सबै पुत्रवती थिए। रानीमौला अपुतै रहेकीले सौताका बचन सहन नसकी घरबाट कतै टाढा तपस्या गर्न हिँडिन्। त्यो तपस्या गरेको ठाउँ महाकाली किनारको पर्शुराम तीर्थ वाङ्घाट मानिन्छ। लामो समयको कठोर तपस्या पश्चात उनलाई देवताले वरदान दिए। पति बिना नै उनको पुत्र जन्म्यो। कोखीबाट बाहिर निस्केको उक्त पुत्र जन्मने बित्तिकै हिँड्न सक्ने भयो। पछि त्यही देदीप्यमान बालक घटाल देवता बने। प्रसिद्ध शक्तिपिठका रुपमा चिनिने घटाल देवताको मन्दिर डडेल्घुरा जिल्लामा पर्दछ।

तेडीको चैत:

चैतको अर्थ हुन्छ चरित्र गाथा। मध्य तथा सुदूरपश्चिममा विभिन्न पर्व पर्वादिमा यी चरित्र गाथाहरू नृत्यसहित खेलिन्छन् वा भनौं गाइन्छन्। यी चरित्रगाथाहरू बीर पुरुषका बारेमा र विभिन्न देवीबीदेवताका बारेमा रचिएका हुन्छन्।

पद्मराज जोशी भारद्वाजको पुस्तक कालो पातलमा उल्लेख भएअनुसार पहिले डोटी राज्य जुम्लाको सिंजाराज्यको अधिनमा थियो। डोटी राज्यलाई स्वतन्त्र गराउन राजा निरयपालको प्रमुख भूमिका रहेको मानिन्छ। डोटीलाई जुम्लाबाट स्वतन्त्र गर्न त्यति सजिलो थिएन, त्यसैले राजा निरयपालले तेडी देवतालाई गुहारेका थिए। तेडीले आफ्ना सहचर लाटो र मसानीलाई अगाडि लगाए बेडुखोले देवतालाई संरक्षक बनाए। गौणीबाग देवतालाई असजिलो परिस्थितिको सामनार्थ खटाए। ढडाल देवतालाई हावाहुरी चलाउन लगाए।

जुम्लाको सिंजा नपुग्दै बाटैमा त्यहाँका मष्टा देवतासँग मितेरी लगाए। किनकि मष्टा नै थिए सिंजागढका संरक्षक। पछि तेडीको आशय बुझेपछि मष्टाले तेडीलाई फर्केर जान अनुरोध गरे। तर तेडी अदृश्य रुपमा सिंजागढ पुगे। राजाको दरवारभित्र माहुरीको रुपधारण गरेर पसे र रानीको आँखामा अदृश्य पाराले बसी विस्तारै आँखामा घोच्न थाले। रानीका आँखामा पीडा हुन थाल्यो चारैतिर अन्धकार छायझै हुन थाल्यो। ओखतीले केही सीप नचल्ने भयो।

अन्तमा राजाले आफ्ना इष्टदेव मष्टालाई पुकार्दा मष्टाले मितले यस्तो गरिरहेका र मितसँग आफूले बैरत्व लिन नसक्ने बताए। सिजाका राजाले तेडीलाई दमाहा, तामाका भोकर घण्ट सेता चमर चाँदीको गडुवा राउली बाउली नामक देउकेटीदेखि चाँदीको गाग्रीका साथै सिजाको मैदानसमेत टक्र्याउँछु भन्दा पनि मानेनन्। उल्टो आफूले भनेको कुरा नभए दरवारमा अझै अरु आतड्ढ मच्चाउने घोषणा गरे। त्यसपछि मनले नचाहँदा नचाहँदै पनि भनेबमोजिमका सामग्री र राज्य दिन बाध्य भए जुम्ली राजा। र तेडीका कारण डोटी राज्यको दोस्रो राजधानी दिपायल भयो।

मिथकको प्रभाव

मध्य तथा सुदूरपश्चिमेली समाजमा मिथकले ठुलो प्रभाव पारेको छ। जसरी व्यक्ति र समाजलाई प्रजातन्त्रको महत्व छ, त्यस्तै मिथको पनि उतिनै महत्व रहेको छ। किनकि यसले समानुपातिक सहभागिता जनाएको हुन्छ। हरेक वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व गरेको हुन्छ। विश्व समुदायमै देखापरेका छन्, तीन स्तरका मानिसहरू। हरेक समुदायमा आफूलाई उच्च स्तरका ठान्नेहरूको बोलवाला देखिन्छ।

सुदूरपश्चिम पनि यो कुराबाट अछुत छैन। अझै भन्ने हो भने त्यहाँको हरेक समाजमा जातभात र छुवाछुतको खाडल उस्तै छ। अझै पुरिएको छैन। समाजमा हेपिएर बसिरहेकाहरूले युगौदेखि पीडाको भारी बोकि नै रहेका छन्। तर पीडा कम गर्ने र समयसमयमा मनोरन्जका गतिविधिमा सहभागिता जनाउन सिकाउँछ त्यही मिथले।

मध्य तथा सुदूरपश्चिममा मनाइने जात्राहरू सबै तिनै मिथकका प्रारुपहरू हुन्। जहाँ हरेक जात र वर्गका मानिसहरूको सहभागिता हुन्छ। घर समाजमा सधै दबिएर बसेका त्यस क्षेत्रका महिलाहरूका लागि गौरा पर्व, पुतला नाच जस्ता पर्वहरूले वर्षमा दुईचार दिनमात्रै भए पनि केही स्वतन्त्रताको महसुश गराउँछन् र मनोरञ्जन दिलाउँछन्।

तर, केवल मनोरञ्न मात्रै प्रदान गर्ने कहानीहरू मिथक हैनन्। मिथकको पछाडि निकै गम्भीर प्रयोजनहरू दर्शनका कलेवरहरू निहित हुन्छन्। कतिपय विद्वान्हरूले मिथकलाई मानव संस्कृति र सभ्यताको अभिन्न अङ्गका रुपमा लिएको पाइन्छ। जहाँ नैतिक दृष्टि भेटिन्छ अनि भेटिन्छ नीतिमूलक स्वर पनि। यहाँका धेरै जसो मिथकमा सत्यताको विजय हुने कुरामा बढी जोड दिएको पाइन्छ।

मान्छेको जन्मदेखि मृत्युसम्मका कैयौँ गतिविधिहरू समेटिएका भेटिन्छन् मिथभित्र। अनि व्याख्या र विश्लेषण गरिएको हुन्छ सृष्टिको सुरुवातदेखि पुनर्जन्मसम्मको। भारत, चैत, फाग, धमारी, माङ्गल वा हुड्केली सबैभित्र निहित छन् मिथकहरू। जुन सबै त्यही समाजका उपज हुन्। जुन मानव सभ्यताको आदिमको कथा हो।

प्रकाशित मिति: : 2022-11-26 22:30:00

प्रतिकृया दिनुहोस्