नेपालमा केही छिटपुट घटना बाहेक शान्तिपूर्ण रूपमै आम निर्वाचन सम्पन्न भएको छ। छिटपुट घटना पनि नभएको भए सुनमा सुगन्ध हुने थियो। त्यस्तो चाहना यो पंक्तिकारको पनि थियो। तर, सबै प्रिय चाहना कहाँ पूरा हुँदा रहेछन् र ? जे जस्तो कारणले भए पनि छिटपुटमा ज्यान गुमाउनेको आत्माले शान्ति पाओस्। शोक सन्तप्त परिवारजनमा समवेदना, घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना।
पछिल्लो सूचनाअनुसार कतिपय मतपेटिका मतगणनास्थलमा पुर्याइएका छन्, कतिपय बाटोमा छन्। जे होस्, अबको केही समयपछि प्रारम्भिक मतगणनाका सूचना सार्वजनिक हुन थाल्नेछन् जसले यसपटकको परिणाम कता जान्छ भन्ने प्रारम्भिक रूझान दिनेछ।
जनता निर्वाचन परिणाम सुन्न उत्सुक छन्। अहिले सबैभन्दा बढी नयाँ कि पुराना, दलका कि स्वतन्त्र भन्ने प्रश्न उछालमा छ। जनताले कुन विकल्प रोजे, त्यसको साङ्गे अबको केही दिनमा हुन्छ नै।
तर, अझै पनि आमसञ्चार माध्यमहरूमा यसले जित्छ, उसले जित्छ भन्ने खालका काँचो अनुमानको खेती रोकिएको छैन। यसपटक नेपाली जनमत कता जान्छ, यसै भन्न सकिने अवस्था छैन। त्यसमा पनि अपेक्षा गरेभन्दा थोरै मतदान भएको छ, यस्तो अवस्थामा त परिणाम प्रक्षेपण गर्न झनै जोखिमपूर्ण हुन्छ।
अहिलेसम्मको सत्य भनेको मतदान सम्पन्न भएको छ र त्यो अपेक्षा गरेभन्दा कम करिव ६१ प्रतिशत मात्र मतदान भएको छ। यो मतदान स्थानीय निर्वाचनभन्दा ६ प्रतिशत कम हो। यो किन भयो होला ? यसका कारण अमुक अमुक निर्वाचन क्षेत्रको परिणाम कसको पक्षमा जाला ? त्यसले समग्र परिणामलाई कतातिर डोहोर्याउला? यो समयमा यी विषयमाथि केही मन्थन गर्न भने सकिन्छ।
मन्थनका लागि सूचना र त्यो सूचनामा आधारित भएर विश्लेषण गर्न सक्ने क्षमता चाहिन्छ। अनि, त्योभन्दा पनि ठूलो कुरा माइन्डसेटबाट बाहिर निस्कन सक्नुपर्छ। तर, ‘नानीदेखि लागेको बानी नजानी’ हामी नेपालीलाई यसो गर्न भने फलामको च्युरा चपाउनुजस्तै हुन्छ।
मतदान कम हुनुका केही आधारभूत कारण छन्, केही भौतिक, केही मनोवेज्ञानिक। पहिला केही भौतिक कारण हेरौं। नेपालको ठूलो वालिग जनसंख्या या त विदेशमा छ या सहरमा। विदेशमा बस्ने मतदाताका लागि मतदानको व्यवस्था छैन, सहरमा बस्ने मतदाताका लागि गाउँ फर्कन सहज यायायात छैन। दोस्रो, पहाडी तथा हिमाली भुभागमा मतदान केन्द्र पायकमा छैनन्। तेस्रो, निर्वाचनका दिन यातायातका साधन पनि चल्न दिइदैन। तेस्रो, जनतालाई मंसिरको चटारो छ।
अब केही मनोवैज्ञानिक कारण हेरौं। सबैभन्दा ठूलो प्रश्न भोट हालेर मलाई के पो हुन्छ र ? सर्वसाधारण जनतालाई नेपाली मिडिया र विचार निर्माताहरूले यस्तो नकारात्मक प्रश्नको भारी बोकाइदिएका छन् कि यस प्रश्नको विष वर्षौसम्म झर्नेवाला छैन। नेपाली जनतालाई सम्झाउनुपर्ने सत्य चाँहि के हुन्थ्यो भने निर्वाचनले व्यक्तिगत रूपमा कसैलाई केही दिदैन। यसले वृहत अर्थमा राज्य संयन्त्रमा पुग्ने प्रतिनिधि छान्ने हो र ती जनप्रतिनिधिमार्फत् देशको राज्य व्यवस्था चल्ने हो। त्यो राज्यव्यवस्था सही किसिमले चल्दा सुशासन हुने हो र त्यसको सामहुकि फल जनताले पाउँने हो। स्वभावत: त्यो फल पाउने नैसर्गिक अधिकार व्यक्तिगत रूपमा हरेक जनतालाई हुन्छ।
नेपालमा अपेक्षित संख्यामा मतदान भएन। यो तथ्यले पुरानाप्रतिको वितृष्णा त देखायो नै, नयाँप्रति कुनै आकर्षण पनि देखाएन। यसका अनेक कारण छन् त्यसमा पनि मूलकारणचाँहि चुनाव के का लागि भन्ने प्रश्नको उत्तर नै जनतालाई बुझाउन नसकिएको हो।
तर, दर्भाग्य नेपाली जनतालाई के भनेर भड्काइयो भने यी नेताले हामीलाई के दिए ? यी पुरानालाई दिएर के भयो ? हो, उनीहरूले पनि दिएनन् किनकि व्यक्तिगत रूपमा दिने पनि केही हैन।
यसरी भड्काइएपछि पुरानाका नाममा बिस्तारै निर्वाचन पद्धतिप्रति नै वितृष्णा जाग्यो। जब पद्धतिप्रति नै वितृष्णा जाग्यो, तब नयाँ या पुराना भन्ने कुरा नै गौढ भयो। त्यसैले नयाँप्रति पनि जनता आकर्षित भएनन्। मनोवैज्ञानिक रूपमै नेपाली मिडिया र एजेण्डा सेटरहरूले नेपाली जनतालाई गलत बाटोतिर डोहोर्याए।
मतदान कम हुनुको तत्कालिन कारण पनि छ, त्यो के भने करोडौ खन्याएर गरिएको निर्वाचन मिडिया क्याम्पेनको असफलता पनि हो। एकजना मिडियाको म पनि ज्ञान नभएकी जानकी तुलाधर भन्ने आयुक्तलाई मालिक बनाइएको थियो क्या रे। उनले आफ्नो हात जग्गनाथ गर्दै, आफैं गीत गाउँदै नाचेको पीएसए सञ्चारमाध्यममा देखिएको थियो। यस किसिमको हर्कते सोच भएका मानिसको नेतृत्वमा चलेको मिडिया क्याम्पेनले फुल पाने कुरै थिएन, पारेन नै।
दु:खका साथ भन्नुपर्छ, अहिले उनीहरूले मतदान कम भयो आदि इत्यादि भनेर चिन्ता व्यक्त गरिरहेका छन्। जनतालाई त्यही बाटोमा हिडाएपछि पुगिने त त्यही ठाउँमा थियो, पुगिएको मात्र हो। यसमा अब उनीहरूले भन्दा पनि मुलुकले चिन्ता गर्नुपर्ने भएको छ।
यसो त मतदान विश्वका समृद्ध र चेतनशील जनता भएको ठाउँमा पनि कम हुन्छ। अमेरिकाकै कुरा गरौं, २०२० को आमचुनावमा यहाँ ६६.८ प्रतिशत मत खसेको थियो। अमेरिकामा यति धेरै मतदान भएको यो शताव्दीमै पहिलोपटक थियो। यो ऐतिहासिक संख्याको मतदान भएकोमा अमेरिकामा उत्सव मनाइएको थियो।
मतदान व्यक्तिगत लेनदेनको विषय हैन, यो त वालिग मतदाताको नैसर्गिक अधिकार पनि हो, कर्तव्य पनि हो। यस किसिमको सोच जनताको मस्तिष्कमा नराखेसम्म मतदान बढ्दैन, घट्छ। त्यो काम अरूले हैन, मिडिया र मत निर्माताले नै गर्ने हो।