आज विक्रम संवतको पात्रोमा २०७९ साल मंसिर ४ गते। यही दिन गणतन्त्र नेपालमा दोस्रोपटक संघ र प्रदेशको निर्वाचन हुँदैछ। यो निर्वाचनले केन्द्रमा र सात प्रदेशमा सरकार गठन गर्छ। राष्ट्रपति उपराष्ट्रपति को को हुने भनेर तय गर्छ। सभामुख र उपसभामुखको फैसला गर्छ। कम्तीमा पनि आउँदो पाँच वर्षका लागि नेपालको राजनीतिक दिशा र दशा तय गर्छ। यी पृष्ठभूमीमा निर्वाचन हुने यो दिन नेपालको राजनीतिक जीवनमा ‘एक जुगमा एक दिन एकपटक आउने’ महत्वको दिन हो।
आमनिर्वाचनमा दुई ठूला गठबन्धन, केही नयाँ दल र स्वतन्त्र गरी हजारौं उम्मेदवार चुनावी मैदानमा छन्। केही व्यक्ति र स्थानलाई अपवादमा छोडेर प्र्रतिस्पर्धा दुई ठूला गठबन्धनबीच नै हुने निश्चित छ। यसअघिको आमनिर्वाचन र स्थानीय निर्वाचनको अफ्टरम्याथलाई हेर्दा सत्तारूढ गठबन्धनले नै बहुमत स्थानमा जित्ने देखिन्छ। यद्यपि, ढुक्क हुनेखालको परिस्थिति भने देखिदैन।
यो निर्वाचनमा नयाँ पुराना, स्वतन्त्र र दलीय- यी प्रश्नहरू पनि उठेका छन्। यी प्रश्नहरूलाई मतदाताले कसरी सम्बोधन गर्छन्, धेरै कुरा त्यसैमा निर्भर हुन्छ। यसपटकको निर्वाचनमा निर्णायक हुँदै गएका पैसा र सामाजिक सञ्जालमध्ये सामाजिक सञ्जाललाई मात्र हेर्यो भने यसपटक नयाँ र स्वतन्त्रले नै सरकार बनाउने हो कि जस्तो आभास हुन्छ। तर, त्यसो नहोला। यद्यपि, भैहाल्यो भने नेपाली राजनीति फेरि अरू अलमलमा पर्नेछ। धेरै राजनीतिक पार्टी राष्ट्रिय पार्टी भए भने त्यसबाट राष्ट्रको समय, स्रोत र साधनको अधिक खपत त हुने नै छ, त्योभन्दा पनि बढी राजनीति अनेक ध्रुवमा बाँडिएर देश दुई दलीय प्रेस्कृप्सनबाट विचलित हुन्छ। अन्तत: त्यो मुलुककै लागि अहितकर हुन्छ।
यस अतिरिक्त यो निर्वाचनले अप्रत्यक्ष रूपम देशलाई राजतन्त्र कि गणतन्त्र भन्ने प्रश्नको सामु पनि उभ्याएको छ। एकातिर एमाले अध्यक्ष ओली राजतन्त्रपक्षधर तालमेल बनाएर अगाडि बढेका छन् भने यही कित्तामा पुरानोको उछित्तो काढ्दै नयाँ र स्वतन्त्र पनि उभिएका छन्। अर्कोतिर, सत्तारूढ गठन्धन गणतन्त्रवादी कित्तामा उभिएको छ। एमालेजस्तो राजतन्त्रविरोधी पृष्ठभूमी भएको शक्ति राजालाई काँध थाप्न पुग्दा मुलुक फेरि अर्को अनावश्यक ध्रुवीकरणमा जाने सम्भावना बढ्दैछ।
मूलत: यिनै दुई विषयको निरूपण गर्नु नै यो निर्वाचनको मूल कार्यभार जस्तो देखिदैछ। सरकार बनाउने, राष्ट्रपति-उपराष्ट्रपति छान्ने, सभामुख-उपसभामुखको निर्वाचन गर्नेजस्ता आधारभूत काम त छँदैछन्। यी आधारभूत काम फत्ते गर्न पनि निर्वाचनले कुनै एक गठबन्धनलाई बहुमतको अंकगणित दिनुपर्ने हुन्छ। यस कोणबाट मतदाताले निर्णय गर्नुपर्ने भएकाले पनि सत्तारूढ गठबन्धनको पल्ला भारी हुने सम्भावना बढेको हो।
यतिबेला नेपाल भूगोलमा मेची कालीमा सीमित भए पनि भावनामा संसारभर फैलिएको छ। नेपालीहरू नेपालको परिचय सीमित गरिरहेका छैनन्, अझ विस्तृत बनाइरहेका छन्। यही क्रममा लाखौं नेपाली संसारका विभिन्न देशमा पुगेका छन्। कोही केही समयका लागि काम गर्न त्यहाँ पुगेका छन्, कोही त्यतै बसाइ सर्न पुगेका छन्, कोहीले नागरिकता नै बदलिसके। तर, जे जस्तो स्थितिमा रहे पनि उनीहरूको मन नेपाली नै हो। उनीहरूले नेपाललाई खुम्च्याएका छैनन्, नेपालीको परिचय बिस्तार गरिरहेका छन्। जस्तो कि एक नेपाली अमेरिकी भयो भने ऊ नेपाली-अमेरिकी हुन्छ। यस्ता नेपालीको संख्या अमेरिकामा ५० हजार नाघिसकेको छ।
यी बिस्तारित नेपाली भौतिक रूपमा चुनावमा सहभागी हुन नसके पनि मनको चुनावले सर्लक्कै छोपिएका छन्। के होला चुनाव ? कस्ले जित्ला ? कस्ले हार्ला ? आफ्ना निर्वाचनमा क्षेत्रमा कतिपयका घरपरिवारका सदस्य नै उम्मेद्वार छन्, कति आफन्त छन् - उनीहरूको परिणाम के होला ? यस्तै प्रश्नहरूको घेरामा उनईहरू छन्।
नेपाली डायस्पोरा नेपाली जनता जनार्दन भएर संघीय गणतन्त्र नेपालका पक्षधरलाई मतदान गरून् भन्ने चाहन्छन्। उनीहरू गैरआवासीय नेपाली नागरिकताका विरोधी दल र तिनका उम्मेद्वारले भने कुनै पनि हालतमा नजितुन् भन्ने चाहन्छन्। त्यसका लागि उनीहरू नेपालमा आफन्तहरूलाई फोन गरेर भोट नदिन आग्रह पनि गरिरहेका छन्।
योसँगै यसपटक अर्को प्रश्न पनि पेचिलो बनेको छ। त्यो के भने, गैरआवासीय नेपाली नागरिकता पक्षधरले जित्लान् कि नजित्लान्। निर्वाचनको केही समयअघि मात्र एमाले संसदमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान समेटिएको विधेयकको विपक्षमा उभियो। ऊ त्यहाँ अल्पमतमा परेपछि कुनै समय आफ्नै उपाध्यक्ष रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रयोग गरेर एमाले अध्यक्ष ओलीले विधेयक प्रमाणित गर्नबाट रोके। जसले गर्दा संसारभर छरिएर रहेका नेपालीहरूको गैरआवासीय नेपाली नागरिकताको सपनामा तगारो लाग्यो।
उनीहरूलाई डर छ, कतै एमाले तालमेलले जित्यो भने उनीहरुको त्यो सपनामा सधैंका लागि तुहिने त हैन ? त्यसको संकेतका रूपमा एमाले अध्यक्ष ओलीले भनिसके, नेपालीलाई मात्र नेपाली नागरिकता। यसको अर्थ, उनी विदेशी नागरिकता लिइसकेका एकपटकको नेपाली सधैंको नेपाली बनाउन तयार छैनन्।
एमालेले गैरआवासीय नेपाली नागरिकतामा लगाएको तगारो र ओलीको पछिल्लो ओलीका कारण विदेशमा बस्ने नेपालीहरू एमालेसँग बिच्केका जस्ता देखिन्छन्। उनीहरू यतिबेला कुनै न कुनै माध्यमबाट नेपालमा आफन्तहरूसँग सम्पर्क गरेर गैरआवासीय नेपाली नागिकता पक्षधरलाई मतदान गर्न आग्रह/अनुरोध गरिरहेका छन्। उनीहरू भनिरहेका छन्, गैरआवासीय नेपाली नागरिकतालाई तगारो लगाउने दल र उम्मेद्वारले जिते भने 'एकपटकको नेपाली सँधैको नेपाली' हुने चाहनामाथि सधैंका लागि तुषारापात हुन्छ।
उनीहरू के पनि भनिरहेका छन् भने नेपालको सुदूर भविष्य अमेरिकाजस्तै विचारको आधारमा दुई कित्तामा बाँडिएर बन्ने दुई दलीय व्यवस्थाबाटै मात्र सम्भव छ। त्यसैले स्वतन्त्र र नयाँ-पुराना भनिएकामा प्रयोग गरेर समय बर्बाद नगरौं।
हुन पनि यो गणतन्त्र नेपालको दोस्रो निर्वाचन मात्र हो। यो व्यवस्था ल्याउन योगदान दिएका दलहरू यति छिट्टै दण्डित गरिहाल्नुपर्ने परिस्थिति सिर्जना भैसकेको छेन। नेपाली जनता अहिले नै विकल्पहिन भैसकेका पनि छैनन् । यसअघि बहुमत पाएको दलले काम गरेन भने यसअघि प्रतिपक्षमा रहेको दललाई मौका दिन सकिन्छ। दुबैलाई कम्तीमा एक एकपटक मौका दिँदा पनि भएन भने पाँच वर्षपछि अर्को मौका आइहाल्छ, त्यतिबेला भने बिकल्प खोज्दा विवेकसम्मत निर्णय गरेको ठहरिन्छ।
आखिर लोकतन्त्रको सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन हो जतिबेला जनार्दन हुने भनेका जनता नै हुन्। तर, जनताले आफू जनार्दन हुन क्षणिक आवेग, कुण्ठा र निरासासँग आफ्नो विवेक साट्ने गल्ती कहिलै गर्नु हुदैन।
अमेरिकामा रहेका लाखौं नेपालीमध्येको एक यो भुइँमान्छे पनि त्यही चाहन्छ कि, 'नेपालको भलोको लागि वैचारिक कोणबाट दुई दलीय ध्रुवीकरण हुन आवश्यक छ। यसपटक त्यस्तो भएको छैन, अर्कोपटक त्यो पनि होला। यसैमा नेपाल र नेपालीको भलो छ, त्यसैमा परिचय बिस्तारित भएका नेपालीको पनि भलो हुन्छ।
यहाँको एक मत नै निर्णायक हो, आफ्नो अन्तरआत्मालाई सोधेर के गर्दा आफ्नो, देश र देशवासीको भलो हुन्छ, त्यही गर्नुहोला। फेर एकपटक हतारमा निर्णय गरेर फुर्सदमा नपछुताउनु होला। आगे जनता जनार्दन।