मतदान केन्द्र सम्हाल्दै महिला कर्मचारीको टोली

File photo
File photo

खोटाङमा एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएका छन्। दिक्तेलको सरस्वती मावि (ख) केन्द्रमा अधिकृत छैठौँ सर्मिला राईको नेतृत्वमा सात महिला खटिएका हुन्।

साकेला गाउँपालिकामा कार्यरत राईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको हो। सो केन्द्रमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कार्यरत पाँचौं स्तरका कर्मचारी इरन राईलाई सहायक मतदान अधिकृत, सोही नगरपालिकामा कार्यरत पाँचौ स्तरका कल्पना पोखरेल र चौथो स्तरका अरुणा बानियाँलाई सहायक कर्मचारीका रुपमा खटाएको छ। 

त्यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकी प्राशि द्धितीय सविता ढकाल, हलेसी तुवाचुङ नगरपालिकाकी प्राशि तृतीय देवी राई, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चौथो स्तरका सिता यादवलाई सहायक कर्मचारीका रुपमा खटाएको छ।

जिल्ला अदालतकी सरस्वती दाहाललाई सहयोगीका रुपमा खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नमूना मतदान केन्द्रका रुपमा एउटा मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्रै खटाइएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए। 

मतदान केन्द्रमा खटिएका महिला कर्मचारीको टोलीले मतदानस्थल तयार पारेर मतदाता नामावली वितरण, बुथ प्रतिनिधि कार्ड वितरण गरिरहेका छन्।

खोटाङका १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा स्थायी मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रको मतदान अधिकृतका रुपमा महिला कर्मचारी खटिएका छन्। 


प्रकाशित मिति: : 2022-11-19 15:05:00

प्रतिकृया दिनुहोस्