सहरी विकास मन्त्री तथा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य मेटमणि चौधरी दाङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन्। गढवा गाउँपालिका– ३ मा ०२९ सालमा जन्मिएका चौधरी दोस्रो पटकको संसदीय यात्राका लागि चुनावी प्रतिस्पर्धा गर्दैछन्।
०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेबाट उम्मदवार भएर क्षेत्र नम्बर– १ बाटै विजयी भई उनले पहिलो पटक संसदको यात्रा सुरु गरेका थिए। घरको जेठो छोराका रुपमा जन्मिएका चौधरी एमालेको भातृ संगठन अनेरास्ववियुमा आबद्ध भएर राजनीति सुरु गरेका थिए। उनी २५ वर्षको उम्मेरमा २०५४ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष भएका थिए। त्यसपछि उनको राजनीतिक यात्रा थप बढेको थियो।
उनै उम्मेदवार चौधरीसँग बिएल नेपाली सेवाले क्षेत्र नं. १ को विकासका सवालमा कुराकानी गरेको छ। प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :
तपाईंको चुनावी प्रचारप्रसार तिब्र देखिन्छ, मतदाताको प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
हो, चुनावी प्रचारप्रसार तिब्र भइरहेको छ। दैनिक प्रतिघण्टा ५/६ किलोमिटरका दरले घरदैलो अभियान नै चलेको छ। अर्को कुरा हाम्रो अभियानसँग मतदाता पनि जोडिनुभएको छ। हामीलाई विभिन्न प्रतिक्रिया दिइरहनुभएको छ। मतदाताको प्रतिक्रिया र उहाँहरुको हामीप्रतिको मनोविज्ञान बुझ्दा मलाई थप उत्साहित बनाएको छ।
पूर्व सहकर्मी एमालेकी शान्ता चौधरी र लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेकी गंगा चौधरीसँग तपाईंको प्रतिस्पर्धा हुँदैछ। कस्तो लाग्दैछ आफ्नै सहकर्मीसँगको प्रतिस्पर्धा ?
तपाईंले भनेको जस्तै पूर्व सहकर्मीसँग म प्रतिस्पर्धा गर्दैछु। तर, के हो भने उनीहरुसँग मेरो प्रतिस्पर्धा नै छैन। उनीहरुसँग कहाँ १० प्रतिशत छ र हामीसँग ९० प्रतिशत मत छ। यसलाई के प्रतिस्पर्धा भन्ने।
अर्को राजनीतिमा आफ्नै साथीहरुसँगको प्रतिस्पर्धा भन्ने भइराखेकै हुन्छ। कहिले कोसँग प्रतिस्पर्धा गर्नु परेको हुन्छ, कहिले कोसँग मिल्नुपर्छ। समाज, देशको परिस्थितिअनुसार हामी अगाडि बढ्ने हो। राजनीतिमा आफ्नै साथीहरुसँगको प्रतिस्पर्धा भन्ने कुरा भइरहने नै हो। यो मेरा लागि सामान्य कुरा हो।
त्यस्तै मैले अरुसँग प्रतिस्पर्धा नै छैन अघि पनि भने किनभने, उहाँहरु हारिसक्नु भएको छ। उहाँहरु उम्मेदवार मनोनयन गर्नका दिन नै हारिसक्नुभएको थियो। १२ बजे मनोनयन गर्ने साथीहरुले साँझ ५ बजे मनोनयन दर्ता गरेका छन्। आफूले जित्न नसकेपछि अरुलाई उठाउन खोजेका थिए। तर, पार्टीबाट उम्मेदवार हुनुपर्ने बाध्यतकाबीच, अरुले पनि नमानेपछि बाध्य भएर साथीहरु उम्मेदवार बन्नुभएको छ।
तपाईंले भनेको ९० प्रतिशत मत, गठबन्धनको होला। तर, तपाईंको पार्टीको भोट देउखुरीमा छैन, त्यो स्थानीय तहको निर्वाचनले देखाउँछ। के गठबन्धन भन्दैमा माओवादी र काँग्रेका मतदाताले तपाईंलाई मतदान गर्छन् ?
गठबन्धन भनेकै एउटाको भर अर्कोलाई हो। माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेको जस्तै यहाँ पनि यस्तै हो। तपाईंले स्थानीय तहको मत परिणामका आधारमा नेकपा एसको मत छैन भन्नुभयो। अहिलेको निर्वाचन स्थानीय तहको निर्वाचनसँग दाँज्न मिल्दैन।
स्थानीय तहमा सबै ठाउँमा गठबन्धन थिएन। ७ सय ५३ स्थानीय तहमा १ सय ५० ठाउँमा मुस्किलले गठबन्धन थियो। त्यसैले त्यसबेलाको कुरा फरक थियो। तर, अहिले गठबन्धन दलहरुबीचमा राम्रो सहमति भएको छ। यहाँ सबै इमान्दार छौँ, प्रतिनिधि तथा प्रदेश सभा सदस्य सबैले निर्वाचन भारी मतले जित्छौँ।
अब गठबन्धन भन्दैमा सबैले मतदान गर्छन, भन्ने त हुँदैन नि। त्यो त पार्टीभित्र पनि असन्तुष्टि हुन्छ। एकले अर्कोलाई मतदान गर्दै। यसपटक संविधानको संरक्षणका लागि गठबन्धनलाई मत आउने छ र हामीले जित्नेमा कुनै शंका छैन। हेर्नुहोला मंसिर ४ पछि त्यो देखिहाल्नुहुने छ।
०७४ मा निर्वाचन जितेर मन्त्रीसमेत हुनुहुन्छ, तपाईंका चुनावी एजेण्डा त्यही ०७४ सालकै हुन कि नयाँ पनि छन् ?
मेरा धेरै एजेण्डा छैनन्। पहिलो प्रथम त हिजो ०७४ सालमा उठाएका एजेण्डाहरु पूरा भएको छैन। धेरै एजेणहरु पूर्ण भएको भएपनि केही काम सुरु भएको छ। ती काम पूरा गर्नुछ। यससँगै यस पटक मैले दुई तीन वटा एजेण्डा लिएर जनतामाझ पुगेको छु।
एक महत्वपूर्ण एजेण्डा मेरो राप्ती करिडोर बनाउनु छ। जसरी भएपनि मैले राप्ती करिडोर निर्माण गर्ने र देउखुरीको बस्ती राप्ती नदीबाट सुरक्षित गर्ने हो। जुनको मैले कही महिना अघि आफैंले शिलन्यास गरेको। अर्को कुरा नाकालगायत बस्तिहरु छ। ती बस्तीहरुलाई विकसित गर्नुपर्ने छ। जनताकाे जीवनस्तर माथि उकास्नु पर्ने नै मेरा एजेण्डा हुन्।
लमही–घोराही–तुलसीपुर सडक पूरा गर्नुपर्ने छ। प्युठानको धार्मीकस्थल स्वर्गद्वारीलाई देउखुरीसँग जोड्नुपर्ने छ। त्यसका लागि राप्ती गाउँपालिका ४ नम्बर वडाबाट स्वर्गद्वारीसम्म पुग्ने मोटर बाटोको सुरु भएको छ। जुन टेन्डर भएको छ।
अर्को महत्वपूर्ण एजेण्डा देउखुरी क्षेत्रलाई नै परिवर्तन गर्ने खालेको नयाँ एजेण्डा छ। जुन वनगाउँदेखि स्वर्गद्वारीसम्म पुग्ने केवलकार निर्माण गर्ने हो। त्यस्तै लमही–घोराही–तुलसीपुर–रिहार र भालुवाङ जोड्ने नयाँ प्रविधिको पोड वे (जमिनमाथि बनाइएको अर्को सडक) बनाउने योजना छ। जुन युएस र बेलारुसमा मात्र छ। त्यो योजनालाई ल्याउनका लागि मैले तयारी गरिरहेको छु। यो योजना दाङ आएमा दंगालीको भविष्य थप उज्वल हुने छ।
देउखुरीमा नागरिक डुवानको समस्यामा छन्, किसानले मल नपाएर खेती गर्न पाएका छैनन्। तपाईंले भनेको राप्ती करिडो, पोड वे, केलवकारलगायतको योजना त नागरिकको आवश्यक्ता एकतिर सपना अर्कोतिर भएन र ?
देउखुरीमा डुवानको समस्या छ। खेती गर्ने समयमा मल नपाउने समस्यामा कृषकलाई छन नै, त्यो हामीलाई थाहा छ र ती मागहरु पनि पूरा गर्नुपर्छ। तर देश विकासका लागि त ठुलो योजना पनि त सोच्नुपर्छ।
पहिले सपना देख्ने, देखाउने र सपना पूरा गर्ने हो। खरको छाना मुक्त गर्ने सपना मेरो आजभन्दा ४० वर्षअघिको हो। खरको छाना भएका घरमा म आफै हुर्केको हो र त्यो सपना मैले देखेको हो। ४० वर्षअघि देखेको सपना पूरा हुँदैछ।
त्यसैले सोच्ने, योजना बनाउने ठुलो कुरा हो। साना, सना नियमित हुने जस्तै सडक कालोपत्रे गर्ने कुरा, उद्योग स्थापना गर्ने कुरा त जुन सांसद आए पनि गर्छ नि। यस्ता साना कुरा, मेयरले, वडाध्यक्षले पनि गर्छन। अथवा स्थानीय सरकारले पनि गर्छ। सांसद भनेको कानुन बनाउने हो वा नीति बनाउने हो।
मुलुकलाई, १० वर्ष, ५० वर्ष वा एक सय वर्षमा कहाँ लाने भन्ने नीति त बनाउनु पर्यो नि। त्यसैले दीर्घकालिन सोच पनि राख्न आवश्यक छ। हो मेरो सपना देउखुरीलाई समृद्ध बनाउने हो। जसका लागि राप्ती नदीको कटान रोक्नु पर्ने नै छ। त्यसका लागि भालुवाङदेखि बाँकेको अगैयासम्म पुग्ने राप्ती करिडोर बनाउने मेरो योजना छ। जुन शिलन्यास भएको छ।
६७ किलो मिटरको यो करिडोर बन्यो भने यहाँको डुवानको समस्या समाधान हुन्छ। अहिले डिपिआरबाट १० अर्ब चाहिने भनिएको छ। त्यसका लागि एडिबीसँगको सम्झौता अगाडि बढेको छ। राप्ती नदीमा तटबन्द भएको छ। तटबन्धनले मात्र डुवान रोकिएन अब कोरिडोर बनेपछि यहाँको डुवानको समस्या पनि हट्ने र विकास पनि हुनेछ। सपना देख्ने हो। म जस्तै सक्रिया सांसद आएमा योजना छिटो सकिन्छ नत्र वर्षौँ लाग्न पनि सक्छ।
देउखुरी क्षेत्रको दुई भू–भाग छन्, तराई र पहाड। तपाईंले सोचेको राप्ती करिडोरदेखि पाड वे सबै तराइ क्षेत्रका लागि हुन। यहाँ तराईका जनताको र पहाडी जनताको माग एकै नहोला। पहाडी क्षेत्रका जनताका लागि तपाईंंले के याजना ल्याउनु भएको छ ?
हो, यहाँ दुई भू–भाग छन्। मेरो योजना त डाँडा–काँडामा मान्छे राख्ननै होइन। पहाडी क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्ने र पहाडबाट नागरिकहरुलाई स्थानान्तरण गर्नु पर्छ भन्ने हो।
जस्तै राप्ती गाउँपालिकाको देविकोटलाई पावर्तीका बाँया घुँडा पतन भएको ठाउँ भनेर चिनिन्छ। त्यस ठाउँका जनतालाई तल मानव बस्ती बस्न मिल्ने ठाउँमा झार्नुपर्छ र त्यस क्षेत्रलाई पावर्तीको बाँया घुँडा पतन भएको ठाउँ हो भनेर स्थापित गर्न सक्नुपर्छ। त्यसो गरियो भने त्यहाँ पर्यटनको विकास हुने र नागरिकहरुको सुरक्षित बासस्थानमा बस्न पाउने हुन्छन्।
तपाईंले भनेको जस्तै बस्ती स्थानान्तरण गर्नुपर्ने त कयौँ छन्। अघि भनिएको जस्तै कल्पना मात्र गर्नु भएको हो कि कार्यन्वयन पनि हुन्छ ?
दशैंको समयमा भएको वर्षाले लमही–घोराही सडकको मुसोटमा ठाउँ–ठाउँमा पहिरो गयो। त्यहाँका बस्ती जोखिममा परे। पाँच दिनको पानीले त्यति ठुलो क्षति गर्यो। १० दिन आएको भए के हुन्थ्यो ? त्यसैले मैले भनेको छु कि मुसोटका जति छन् १०/१५ घर, ती सबैलाई सुरक्षित ठाउँमा घर बनाइदिन्छु। उहाँहरुलाई वनसँग सल्लाह गरेर आउनुस् भनेको छु र वनसँग सल्लाह गरेर आउनुभयो भने उहाँहरुका लागि सुरक्षित ठाउँमा घर बनाउने काम हुनेछ।
यस्तै बस्ती धेरै छन्। ती सबैलाई एउटा मापदण्ड बनाएर स्थानान्तरण गर्नुपर्छ नै। नदी वरपरका बस्ती पनि जोखिममा छन्, ती बस्तीहरुलाई पनि स्थानान्तरण गर्नुपर्छ। सहर पनि व्यवस्थित गर्नुपर्ने छ। आजको सहरीकरण ठिक ढंगबाट भएको छैन।