उच्च हिमाली क्षेत्रकाे लिमी उपत्यका, मानसरोवर कैलाश दर्शन गर्ने प्रवेशद्वार, हल्जी गुम्बा, टल्किङ रलिङ गुम्बाहरुकाे नाम लियाे भने मस्तिष्कमा हुम्लाकाे चित्र दाैडिन थाल्छ। मष्टाे संस्कृति, लामा संस्कृति र खसआर्य संस्कृतिकाे जग। सांस्कृतिक समन्वयकाे अनुपम नमुना बन्न सकेकै कारण संसारका मानवशास्त्री र समाजशास्त्रीलाई अध्ययन, अनुसन्धानकाे लागि लाेभ्याउन सक्ने भूगाेल पनि हुम्ला नै हाे भन्नमा कुनै हिचकिचाहट छैन।
यही भूगाेललाई संसारकाे सबैभन्दा सुन्दर बनाउने सपनालाई हकिकतमा बदल्न लागिरहेका छन्, एमाले नेता दल रावल। जाे यतिबेला हुम्लाबाट प्रतिनिधिसभाकाे उम्मेदवारकाे रुपमा चुनावी मैदानमा छन्।
उनले 'सिमिकाेटलाई संसारकै सबैभन्दा उचाे स्थानमा रहेकाे सुन्दर हिमाली सहर बनाउने मेराे परिकल्पना हाे। हिल्सा हाम्राे बाेर्डरकाे सिटी हाे। त्यसलाई हामी माैलिक तरिकाले विकास गर्न सक्छौं। लिमी अर्काे नाका हाे। जाे पर्यटकीय हिसाबले अत्यन्तै सम्भावना बाेकेकाे क्षेत्र हाे। त्यसकाे माैलिक विकासमा हाम्राे ध्यान जानेछ। मानसरोवर कैलासबाट आएकाे पवित्र कर्णाली नदी हामीसँगै छ। जसलाई जल पर्यटनसँग जाेड्न सकिन्छ' भन्दै गर्दा कतिलाई पत्याउन मुस्किल लाग्ला। यी हावादारी गफ हुन् जस्ताे पनि लाग्ला तर थाेरै लगानीमा चट्टकाे व्यवस्थापन गर्न सक्याे भने मात्रै पनि हुम्ला भू-स्वर्ग बन्न सक्ने उनकाे तर्क छ।
कर्णालीकाे विकास काठमाडौंका नेताले गरिदिँदैनन्। न त उनकाे दयाले नै हरेक दिन कर्णाली नदीझैं बग्ने दुःखका पसिनाकाे मूल्य चुकाउन सक्छ। त्यसकारण सपनालाई व्यवहारमा बदल्न सक्ने र गर्न सक्ने आँट भएकाे, आफ्नै पैतालाले समग्र भूगाेल नापेकाे, भाेट-मधेस गरेकाे नेता चाहिन्छ। त्यसमा रावलकाे नाम अग्रस्थानमामा आउँछ।
कर्णाली करिडाेरलाई द्रुतगतिमा सम्पन्न गर्ने, प्रत्येक गाउँपालिका सदरमुकाम र वडाका सदरमुकाममा बाटाे पुर्याउने, साना हाइड्रोपावर विस्थापित गरेर राष्ट्रिय प्रसारण लाईन कर्णाली करिडाेरसँगै हुम्ला हुँदै हिल्सा पुर्याउने, सहरमा गएर पढ्नुपर्ने बाध्यता हटाइ गाउँमै स्तरीय शिक्षा आर्जनकाे वातावरण बनाउने, प्राविधिक शिक्षालाई प्राथमिकतामा राख्ने। जिल्ला अस्पतालमा विशेषज्ञ सेवा दिने र सेवा विस्तार गर्ने। पालिकाका अस्पताल निर्माण कार्य पूरा गरी जनशक्ति उपलब्ध गराउने तथा स्थानीय स्वास्थ्य इकाईलाई अपग्रेड गरेर प्राथमिक स्वास्थ्य केन्द्र बनाउने महत्वाकांक्षी प्रतिबद्धता उनले जनतामाझ व्यापक बनाइरहेका छन्।
त्यसबाहेक उनी प्राकृतिक स्राेत साधनहरुलाई परिचालन गरेर उत्पादनलाई जाेड दिने। पर्यटन, कृषि र जलस्रोतमा युवा भन्ने नारालाई सार्थक तुल्याउँदै युवाहरुलाई राेजगारी दिलाउने याेजना बाेकेर हिँडेका छन्।
समाजसेवा गरेर राजनीतिमा उदाएका उनकाे पक्षमा एकाएक माहाेल निर्माण हुँदै गएकाे छ। हरेक मतदाताकाे जिब्राेमा रावलकाे नाम झुन्डिएको छ। यसरी उनकाे पक्षमा माहोल निर्माण हुँदै जानुकाे रहस्य उनले सामाजिक गतिविधि गर्दा हाेस् या राजनीति गर्दा जनतालाई केन्द्रमा राखेकाे पाइन्छ। २०४५ सालमा हुम्लाकै सर्केगाँडस्थित हिमज्योति माविबाट एसएलसी पास गरेका उनी उच्च शिक्षा प्राप्तिका लागि काठमाडौं पुगेका थिए।
आज जिल्लामै उच्च शिक्षाकाे आर्जनको वातावरण मिलाउने मुद्दा बाेकेर हिँडेका उनी त्यतिबेला पढ्न भनि काठमाडौं गएपछि गर्नुपरेकाे संघर्षका दिन सम्झिन्छन्। आफ्नाे संघर्षलाई हुम्ली दु:खकाे प्रतिबिम्ब ठान्छन्।
उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। विभिन्न क्षेत्रबाट सुविधासम्पन्न ठाउँमा काम गर्ने अवसर पाए पनि उनी हुम्ला फर्किए, प्राकृतिक रुपमा सुन्दर हुम्लालाई भाैगाेलिक विकटताकाे सूचीबाट हटाउने अधिकतम प्रयत्न गर्ने अठाेट लिएर।
उनले गरेका तमाम सामाजिक गतिविधिबाट समाज हर तवरबाट परिवर्तन गर्न सम्भव थिएन। त्याे त डाेरेटाे बाटाे मात्रै थियाे। उनमा परिवर्तनकाे फराकिलो राजमार्ग निर्माण गर्ने हुटहुटी थियाे। त्यसका लागि राजनीति प्रमुख हतियार थियाे। स्कुले जीवनदेखि नै राजनीतिक चेत भएका उनले सबै नीतिकाे माउ नीति राजनीति हाे भन्ने बुझिसकेका थिए।
स्कुलिङ एकता केन्द्र मसालकाे भएपनि काठमाडौंले उनलाई अनेरास्वियूसँग निकट बनायाे। जसले मुलधारकाे कम्युनिष्ट पार्टी एमालेसँग निकट हुने अवसर जुरायाे। २०५६ सालदेखि २०६९ सालसम्म १३ वर्ष एमाले पार्टीको सामाजिक विभाग र विभिन्न इकाईमा रहेर काम गरेका उनी एमालेकाे जिल्ला अध्यक्षसमेत बने।
२०७० काे दाेस्राे संविधान सभाकाे निर्वाचनमा थाेरै मतान्तरले पराजित भएका उनी २०७४ को निर्वाचनमा हुम्ला ‘१ ख’बाट सर्वाधिक मतले विजयी भएका थिए। त्यसपछि कर्णाली प्रदेश सरकारमा सामाजिक विकास मन्त्री भए। तीन वर्षसम्म उनले उल्लेख्य काम गरे। जसमा काेराेनाकालमा देखाएकाे सक्रियता एक उदाहरणीय काम हाे।
'काेराेनाकाे बेला आइसीयु, भेन्टिलेटर, अक्सिजन प्लान्ट बनाउने मामलामा कर्णाली अगाडि रह्याे। यसमा हामीले सकेकाे गर्यौं। दशै जिल्लाका सबै अस्पतालमा आइसीयु निर्माण गर्दा हामीले काेराेनाकाे असर धेरै झेल्नु परेन,' उनले भने, 'छोरीको बैंक खाता, प्राविधिक शिक्षाको विकासका लागि हामीले सकेकाे गरेका छाैं।'
उनी चुनावी मैदानमा उत्रिएकाे बेला गठबन्धनले विवादित छविका कार्चेन लामालाई उम्मेदवार बनाएकाे छ। उनीमाथि खाेचर गुम्बाकाे मूर्ति चाेरी गरेकाे आराेप छ। युद्धकाे बेला माथिल्लो हुम्लाका नागरिकलाई दु:ख दिएका कारण जनता चिडिएका छन् भने चुनाव नजिति मन्त्री हुँदा पनि जनताको पक्षमा काम गर्न नसकेकाे आराेप छ। यस हिसाबले पनि जनताले उम्मेदवार चयन गर्दा रावल छनाेटमा पर्ने सम्भावना बढ्दै गएकाे हाे।
उनी मन्त्री हुनेबेला पर्वतीय विश्वविद्यालयकाे ड्राफ्ट बनेकाे थियाे। दुखद संयाेग, कर्णाली प्रदेश सरकारले आफ्नै लगानीमा विश्वविद्यालय खाेल्न आँट गरेन। तथापि, यतिबेला उनले ग्रामिण क्षेत्रमै उच्च शिक्षाकाे पहुँच पुर्याउने पेचिलाे मुद्दा बनाएका छन्। 'जनता हाम्राे बाेली र व्यवहारमा विश्वस्त छन्। गर्न सक्ने उम्मेदवारकाे रुपमा हेरेकाे हुनाले जित निश्चित बन्दै गएकाे छ', उनी भन्छन्।