गंगा चौधरी (सतगौवा) दाङ निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छिन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उनी प्रतिस्पर्धीका रुपमा उत्रँदै तेस्रो पटक संसदको यात्रा तय गरेकी छन्।
यसअघि उनी दुई पटक समानुपातिकबाट सांसद भएकी थिइन्। तत्कालीन थरुहट तराई पार्टी नेपाल हुँदै डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ शक्ति नेपालमा आबद्ध भएकी चौधरी २०७४ सालमा एमाले प्रवेश गर्दै समानुपातिक सांसद भएकी थिइन्।
उनी संसदमा सधैंजसो चर्चामा रहिन्। कोरोना महामारीमा अक्सिजन सिलिण्डर वितरण किन नहोस् वा संसदमा राष्ट्रियताका विषयमा बोल्दा उनको चर्चा भइरह्यो। यो चर्चासँगै उनी दाङ–१ बाट प्रतिनिधिसभाका लागि एमालेबाटै उम्मेदवार हुने आशामा थिइन्। तर एमालेले गंगालाई टिकट दिएन।
उनको ठाउँमा शान्ता चौधरीलाई एमालेले टिकट दिएपछि गंगा हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरो लिएर चुनावी मैदानमा उत्रिएकी छन्।
क्षेत्र नम्बर १ मा लमही नगरपालिका, गढवा, राजपुर र राप्ती गरी चार स्थानीय तह छन्। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा माओवादी र कांग्रेसले २/२ वटा पालिका जितेका छन्। एमालले त्यस क्षेत्रमा कुनै पनि पालिका जितेको छैन।
बिएल नेपाली सेवासँग कुरा गर्दै गंगाले आफ्नो तीन वटा एजेण्डा पूरा गरेमा राजनीति नगर्नेसमेत बताएकी छन्। तर समाजसेवामा भने सक्रिय रहने उनको दाबी छ।
ती तीन एजेण्डा के हुन्? दुई पटक सांसद हुँदा गंगाले के गरिन्? लगायत विषयमा बिएल नेपाली सेवाले गंगासँग कुराकानी गरेको छ। प्रस्तुत छ, उनै चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंश:
एमालेबाट टिकट नपाएपछि हाम्रो नेपाली पार्टीबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। प्रचारप्रसारमा मतदाताबाट प्रतिक्रिया कस्तो पाइरहनुभएको?
मतदाताबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेकी छु। उहाँहरु के भनिरहनुभएको छ भने, हामी दल देखेर हैरान भइसक्यौँ। अब स्वतन्त्रलाई नै भोट दिन्छौँ भन्नुहुन्छ। अझ, गंगा चौधरी जस्तो राम्रो छवि बनाएको उम्मेदवारलाई भोट दिन्छाैँ भनेर मतदाताहरुले भनिरहनुभएको छ।
तपाईं पनि त हाम्रो नेपाली पार्टीबाटै उम्मेदवार हुनुहुन्छ नि?
मैले हाम्रो नेपाली पार्टी रोजेको होइन, पार्टीको लौरो चुनाव चिन्ह मात्र रोजेको हो। म त्यो पार्टीको सदस्य पनि होइन। त्यो पार्टी कस्तो छ, कुन संरचनाको छ भन्नेसमेत मलाई थाहा छैन। यत्ति हो कि कमल थापाले एमालेको सूर्य चिन्ह लिएको जस्तै मैले हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा छु।
विगतका दिनमा पनि हृदेश त्रिपाठीले सूर्य चिन्ह लिएर चुनाव जित्नुभयो र उहाँ स्वतन्त्र नै रहनुभयो। त्यस्तै मैले पनि बालेनको लौरो चुनाव चिन्हको जुन चर्चा छ, त्यही चुनाव चिन्ह मात्र लिएको हो। कुनै दलसँग म आवद्ध भएको होइन। मैले कुनै दलको झण्डा बोकेर चुनाव प्रचारप्रसार पनि गरेकी छैन। राष्ट्रिय झण्डा बोकेर चुनाव प्रचारप्रसारमा छु।
बलियो उम्मेदवार मानिने तपाईंकै पूर्व सहकर्मीहरु गठबन्धनबाट मेटमणि चौधरी र एमालेबाट शान्ता चौधरीसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। संगठनविनाको प्रतिस्पर्धा आफ्नो पक्षमा पर्ने सम्भावना कसरी देख्नुभएको छ?
पहिलो कुरा, तपाईंले भनेको जस्तो अन्य उम्मेदवारभन्दा म कमजोर उम्मेदवार होइन। कमजोर र बलियो कुन आधारलाई मान्ने हो? मैले मलाई कमजोर उम्मेदवार ठानेकी छैन। मैले राष्ट्रिय रुपमा उठाएका मुद्धाले नै संगठन नभएपनि म अरुभन्दा बलियो उम्मेदवार हुँ। मेरो परिचयले मलाई फेरि एक पटक चुनाव जित्छु र देउखुरीको विकासमा लाग्छु भन्ने छ।
संगठन हुँदैमा चुनाव जितिन्छ भन्ने छैन। बालेन शाहले काठमाडौंको मेयरमा जित्नुभयो। उहाँको कुनै संगठन थियो र? बालेन शाहका विरुद्ध पनि त गठबन्धन थियो। प्रकाशमान सिंहकी पत्नी कमजोर मानिनुहुन्थ्यो र स्थानीय तहको चुनावमा? तर बालेनले कुनै संगठनविना नै चुनाव जितेर देखाउनुभयो।
हो, यहाँ मतदाताले संगठन खोजेका छैनन्। यहाँ उम्मेदवारका व्यक्तित्व खोजेका छन्। काम गर्ने शैलीलाई रोज्दैछन्। मेरो काम गर्ने शैलीलाई हेर्ने हो भने दशकौँदेखि यहाँबाट नेताहरु जितेर गएका छन्। तर उनीहरुले के गरेका छन् त? मतदाताले मूल्यांकन गरेका छन्। तर गंगा थारु ०७० सालमा आउँदा राप्ती नदीमा एउटा पुल थियो। म आएपछि अहिले ५ वटा पुल बनेको छ। यो मैले घरबाट लिएको पैसाले बनाएको होइन। तर मैले पहल गरेर जनताले तिरको करको जस्ताको त्यस्तै सदुपयोग गरेको हो।
सिसहनियामा १८ करोडको १५ शैयाको हस्पिटल मेरै पहलमा बनेको हो। यहाँ नेपाल बैंक, एनआइसी बैंक स्थापना गर्न पनि मैले नै पहल गरेको हो। अनि कोरोना महामारीका बेलामा मैले गरेका काम त साराले देखेकै छन्। यी हुन्, मैले गरेका काम र चुनाव जित्ने आधार पनि।
अर्को मैले जित्ने आधार पनि छ। जब देशमाथि विदेशी चेलीहरुले सदनभित्रै हमला गरिरहँदा उनीसँग प्रतिवाद गर्ने गंगा थारु हो। मबाहेक अन्य कुन सांसद देखिए? वा कुन महिला देखिए? अर्को कुरा, विदेशीलाई एक हातमा बिहे अर्को हातमा नागरिकता दिने सवालको कुरा छ।
अन्यायमा परेका महिला-पुरुषका सवालमा मैले जस्तो अरु कसले काम गरेको छ? अन्यायमा त पुरुषहरु पनि परेका छन्। तर पुरषहरु बोल्न सक्दैनन्। यस विषयमा पनि मैले बोलेको छु। तपाईंकै मिडियाले लेखेकै कुरा हो। गंगा चौधरी जुन कुरा बोल्छ, त्यो गर्छ। म अन्याय गर्दिनँ। ममाथि अन्याय भयो भने त्यसको प्रतिकार गरेरै छाड्छु।
ए ! अन्याय भनेको एमालेले टिकट नदिएको भनेर पनि भन्न खोज्नुभएको हो?
हो नि। ममाथि एमालेले अन्याय गरेकै हो। म राष्ट्रका लागि आवाज उठाउने मान्छे हुँ। के त्यो मेरो गल्ती थियो? के नागरिकताको विरोध गर्दा मैले गल्ती गरेँ? एमसीसी, एसपीपीको विरोध गर्दा मैले गल्ती गरेँ? यसको सजाय मलाई टिकट नदिएर दिने खोज्ने?
जनताले के खोजेका छन्, कस्तो व्यक्ति चाहेका छन् भन्ने कुरा पार्टीले बुझ्नु पर्दैन? पार्टीले क्षमता हेरेर टिकट दिने हो कि कसैको रुप, कसैको चाप्लुसी गरेर टिकट दिने हो? कि मिठो बोलेका आधारमा दिने हो? हामी सत्य बोल्छौँ। त्यसैले हामी जस्तोको आवाज दबाउनु भनेको जनताको आवाज दबाउनु हो।
संसदमा पाँच वर्ष बिताउनु त भयो। तर दसैँमा परेको अविरल वर्षाले देउखुरी डुवानमा पर्यो। घरहरु भत्किए। धानवाली नष्ट भयो। किन यतातिर ध्यान पुगेन?
यो विपद हो। विपतलाई कसले रोक्न सक्छ र। यहाँ कहिल्यै डुवानमा नपर्ने मेरै गाउँ पनि डुवानमा परेको छ। विपतलाई व्यवस्थापन गर्नका लागि मैले ०७० देखि संसदमा आवाज उठाएकै छु।
राप्तीमा तटबन्धन गरियो भने डुवान रोक्न सकिन्छ भनेर आवाज उठाउँदै आएको हो। ०७० सालमा दीपक गिरी मन्त्री हुँदा ३ अर्बको टेण्डर हुनुबाहेक त्यसपछि कुनै काम हुन सकेको छैन। अब तटबन्ध गर्नका लागि मैले कुरा गरेको छु।
गाउँका खोलाहरुमा तटबन्धन नगर्दा डुवानमा परेको नागरिकको गुनासो छ। सबै विपत भनेर तपाईं उम्कन पाउनुहुन्छ?
यहाँ तीन दशकदेखि राजनीति गर्नेहरु छन्। तीन/तीन दशकसम्म जनताले जिताएर पठाए। तर उनीहरु काठमाडौं पुगेर राजनीति गरे। यहाँ देउखुरीलाई हेर्ने दृष्टिकोण फरक छ र चुनावमा मात्र नेताहरु गाउँ आउँदा यस्तो अवस्था भएको हो।
अझ देउखुरीलाई अर्कै कुरा भन्ने गरिन्छ। त्यो अहिले नभनौँ। दाङबाट देउखुरीलाई उपनिवेश बनाइएको छ। यो ठाउँमा नेताहरु नभएको जस्तो एमालेले बाहिरबाट नेता लिएर उम्मेदवार बनाएको छ। अनि देउखुरीको विकास कसरी हुन्छ? खुमबहादुरकाे पालामा केही भयो। तर अन्यले केही गर्न सकेनन्। मैले एक दशकसम्म केके गरेँ भन्ने त यहाँका जनताले देखेकै, बुझेकै कुरा हो।
यस पटक जितेर संसदमा जानुभयो भने देउखुरीमा के–के गर्ने योजना बनाउनुभएको छ?
काम त धेरै गर्नु छ। तर मेरो प्राथमिकताका रुपमा रहेको विषय देउखुरी उपत्यका प्रदेश राजधानी भइसकेपछि यहाँ मेडिकल कलेज हुनुपर्छ भन्ने छ। मेडिकल कलेज स्थापना गर्न मैले पहल गर्ने छु।
अर्को हवाई एयरपोर्ट बनाउनुपर्छ। एयरपोर्ट बनाउन म लाग्नेछु। त्यसैगरी राप्ती नदी बरदान र अभिसाप दुवै हो। यहाँ किसानको हातमा लालपुर्जा त छ तर किसान उब्जनी खान पाइरहेका छैनन्। किनभने नदीले सबै जमिन खाइदिसकेको छ।
त्यसैले मैले के भनेको छु भन्दा राप्ती नदीको ढुंगा, बालुवा निकालिने गरिन्छ। ती ढुंगा, बालुवा किसानकै खेतबारीबाट निकालिन्छ। अब ढुंगा, बालुवा निकाल्दा किसालाई केही स्वामित्व दिनुपर्छ। जसले गर्दा आफ्नो जमिनको केही आय होस् भन्ने सोचेको छु।
यदि ढुंगा, बालुवाको स्वामित्व किसानलाई नदिने हो भने किसानलाई अन्यत्रै कतै खेती गर्न मिल्ने जग्गा दिएर उनीहरुको व्यवस्थापन गर्नुपर्छ। मैले यी तीन वटा एजेण्डा अब सांसद भएँ भने गर्ने छु। यीबाहेक धेरै ठुलो एजेण्डा छैन। यी तीन कुरा भए भने मैले राजनीति गर्दिनँ पनि भनेकी छु। यी कुरा पूरा भएमा राजनीतिबाट टाढा रहेर समाजसेवामा भने सधैं सक्रिय रहने छु।