नेपालमा राजतन्त्र उन्मुलन गरेर गणतन्त्र स्थापना गरिएको हो। यसका लागि कम्तिमा पनि तीन पुस्ताका नेपालीले एकपटक हैन, पटकपटक ठूलो संर्घष र बलिदान गरेका छन्। हजारौको ज्यान गएको छ, लाखौं अङ्गभङ्ग भएका छन्। कांग्रेसले जहाज अपहरण गर्नेदेखि एमालेले टाउको गिड्ने अनि माओवादी जनयुद्धदेखि मधेश आन्दोलनसम्म, यी सबै यसैको पृष्ठभूमीमा विभिन्न स्वरूप हुन्।
केहीलाई लागेको छ, ज्ञानेन्द्र शाह नारायणहिटीबाट गुण्टा कसेर सुरूक्क नागार्जुनतिर लागेका हुन्। अनि, बूढानीलकण्ठबासी विद्या भण्डारी त्यतिकै शीतल निबासमा बास बस्न पुगेकी हुन्। अनि, यी दुई मानिसहरूको बास सराइ नै गणतन्त्र हो।
यस्तो भाष्य निर्माण गर्न जति परिवर्तनकामी नेपाली जनताका ती आन्दोलनसँग गोरूबेचेको साइनो पनि नभएको भुईफुट्टा बर्ग टुपी कसेर लागेको छ, त्यतिकै जिम्मेवार छन् शीतल निबासमा पु्र्याउने राजनीतिक दल र त्यहाँ पुग्ने मानिसका व्यक्तिगत आनीवानी र गतिविधि पनि। उनीहरू राष्ट्रपति पदलाई गणतन्त्रको प्रतीकका रूपमा गुड ब्राण्डिङ हैन, नेगेटिव ब्राण्डिङ गरिरहेका छन्।
उनीहरूका लागि राष्ट्रपति भनेको नेपालको पुरातनवादी शक्तिको स्रोत हो। जो मूलत: मन्दिर मन्दिर घुम्दै धार्मिक परम्परा धानेर शक्ति आर्जन गर्छ। र, समष्टिमा यसअघिका राजाले भन्ने गरेको 'श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरून्' मनमननै भनेर आफ्नो राजकीय कर्तव्य पूरा गर्छ।
यस्तो भ्रममा बाँच्न अहिलेसम्म शीतल निबासमा दुई मनुवा पुगेका छन्। पहिलो मनुवा थिए, डा. रामवरण यादव । उनी राजा र हाम्रो घाँटी जोडिएको छ भन्ने वीपी कोइरालाका खाँटी भक्त थिए। उनको तन्तु तन्तुमा त्यही स्कूलिङको प्रभाव थियो। त्यसैले उनले राजाभन्दा फरक राष्ट्रपति हुनेभन्दा पनि छोटेराजा हुनेजस्तै व्यवहार गरे। फरक यति थियो, उनको आराध्यदेव श्रीपशुपतिनाथ नभएर गिरिजाप्रसाद कोइराला थिए।
उनले जे गरे, त्यसपछि आएकी विद्यादेवी भण्डारीले पनि त्यही गरिन्। उनलाई लाग्यो, उनी रामवरणकै उत्तराधिकारी हुन्। र, उनले पनि रामवरणले जस्तै 'जसै जसै बाहुन बाजे उसै उसै स्वाहा गर्नुपर्छ। ' फरक यति मात्र ठानिन् कि उनका आराध्यदेव केपी ओली हुन् र उनलाई खुशी बनाएपछि बाँकि जे गरे पनि हुन्छ।
विद्याले मध्यरातमा शीतलनिवासको ढोका खोलेरै भए पनि त्यो गुण तिरिरहेकै छिन्। मध्यरातमा ढोका खोल्ने भन्दा अन्यथा लाग्न सक्छ, यसलाई संसद भङ्ग गर्ने अध्यादेशको सन्दर्भमा खोलिएको ढोका मात्र बुझ्नु होला। यसै पनि यी दुई पात्रको कुरा गर्दा आरोप लगाउने र जोगाउने दुबै पक्षलाई 'बुज बम' हुन्छ।
रामवरण अलि थोरै राष्ट्रपति भए र उनी शीतल निबासबाट निस्केको पनि अलि बढी नै भयो। त्यसैले उनले धेरै समय राष्ट्रपति पदको दोहन गर्न भ्याएनन्, जति गरे त्यो पनि बासी हुँदै गएकाले बिस्मृतिमा पनि पर्दै गयो । अहिले उनी चेत खुलेजस्तो गरे राम्रो कुरा पनि गरिरहेका छन्। यिनै कारणले पनि उनी बिस्तारै नेपाली जनताको गुडबुकमा पर्न थालेका छन्।
यही बीचमा विद्या भण्डारीको लामो र विवादास्पद कार्यकाल सुरू भयो। त्यसपछि मानिसहरूले भण्डारी र यादवबीचमा तुलना गर्न थाले। र, भन्न थाले विद्याभन्दा त रामवरण नै ठीक। तर, गणतन्त्र नेपालका लागि यसको प्रतीक मानिने राष्ट्रपति पदका लागि यी दुबै पात्र सही थिएनन्। जब, पात्र नै सही छानिएनन् भने उनीहरूबाट उम्दा परिणामको आशा गर्नु पनि बेकार नै हुन्छ।
गणतन्त्र नेपालले गणतन्त्रवादी रामराजाप्रसाद सिंहलाई पहिलो राष्ट्रपति छानेको भए आज हामीले जे जस्ता दुई थान राष्ट्रपति व्यहोरेर उनीहरूले गणतन्त्रको हुर्मत लिएको टुलुटुलु हरेर बस्नु परेको छ, त्यस्तो अवस्था आउने थिएन। कम्तीमा यति छिट्टै नेपालको एक तप्कामा यी राष्ट्रपतिभन्दा त राजा नै ठीक भन्ने खालको एकसरो मनोविज्ञान बन्ने थिएन। फलत: 'राजा आउ देश बचाउ'को कर्कश स्वर यति चाँडै सुन्नुपर्ने अप्रिय परिस्थिति भोग्नुपरेको छ।
प्रसङ्ग, राष्ट्रपति विद्याभण्डारीको आसन्न मुस्ताङ भ्रमणको हो। नेपाली सञ्चार माध्यममा यो सतही समाचारका रूपमा छताछुल्ल भएको छ। समाचारअनुसार राष्ट्रपति भण्डारी मुक्तिनाथ यात्राको बहाना बनाएर एक साहुले सुरू गर्न लागेको रिसोर्ट उद्घाटन गर्न त्यसतिर आफ्नो सवारी चलाउँदैछिन्। राष्ट्रको स्रोत र साधन दोहन गरेर चलाइने यो सवारीमा करोडौ खर्च हुन्छ। यो खर्च आम नेपालीले तिर्ने कर त्यसमा पनि मुलत: खाडीमा तन्नेरीहरूले बगाएको पसिनाबाट नै आउँने हो । यस्तो पसिनाको कमाइमाथि रजाइ गर्दै जब राष्ट्रपति एकजना व्यापारीको रिसोर्ट उद्घाटन गर्न जान्छिन्, तब त्यो देशमा 'राजा आउ, देश बचाउ' भन्ने नारा नलागेर के 'गणतन्त्र नेपाल जिन्दाबाद'को नारा लाग्छ त ?
आखिर विद्या भण्डारी भन्ने पात्र नै गणतन्त्र नेपालको राष्ट्रपति हुनका लागि योग्य थिइनन्। जब एक अयोग्य पात्र कसैको निगाहमा त्यहाँ पुग्छ, उसले गर्ने भनेको त्यही मालिकको गुलामी नै हो। विद्याले मध्यरातमा शीतलनिवासको ढोका खोलेरै भए पनि त्यो गुण तिरिरहेकै छिन्। मध्यरातमा ढोका खोल्ने भन्दा अन्यथा लाग्न सक्छ, यसलाई संसद भङ्ग गर्ने अध्यादेशको सन्दर्भमा खोलिएको ढोका मात्र बुझ्नु होला। यसै पनि यी दुई पात्रको कुरा गर्दा आरोप लगाउने र जोगाउने दुबै पक्षलाई 'बुज बम' हुन्छ।
नेपालमा गणतन्त्रको हुर्मत लिन बयलगाढा सिद्धान्तका प्रतिपादक र उपासक दुबै 'बयल' अहोरात्र खटेका छन्, एक बयल शीतलनिबासबाट अर्को बयल बालकोटबाट। जोत्न नारिने खेत चाहिँ बालुवाटार हिजोआज अर्कै कित्तामा पर्यो र मात्र। नत्र असार १५ को झ्याइँझ्याइँ बेठी लागिसकेको हुन्थ्यो।
सुन्नमा आएको छ, राष्ट्रपतिले देशको स्रोत र साधन दोहन गरेर उद्घाटन गर्न लागेको रिसोर्ट उही यति होल्डिङ्सको हो रे। जसका लागि ओली र उनको दल एमाले एकपटक हैन, सयौपटक बदनाम भैसकेको छ। उनीहरू मात्र हैन, अब त नेपालको राष्ट्रपति पद र गणतन्त्र नै बदनाम हुन थाल्यो। यो त अति नै भयो।
फेरि पनि प्रश्न त उही नै हो, जुन देशको राष्ट्रपति राष्ट्रको स्रोत र साधन दोहन गर्दै एक व्यापारीको रिसोर्ट उद्घाटन गर्न जान्छिन्, त्यो देशमा राष्ट्रपति पद र त्यो पद दिने व्यवस्था गणतन्त्रको गरीमा नै के बाँकि रहन्छ र ?
यसो भन्यो भने, ओलीले फेरि विद्याको रक्षा गर्दै बोलीको गोली चलाउँछन्, 'यो नबोल्ने राष्ट्रपतिलाई माध्यम बनाएर गणतन्त्रमाथिको प्रहार हो'। तर, जब कमल थापा र राजेन्द्र लिङ्देनलाई जिताउन लाग्ने तिम्रो कुकर्म राजतन्त्रको पक्षमा कि गणतन्त्रको पक्षमा भन्ने प्रश्न उनीतिर तेर्सिन्छ, त्यसबेला उनको अर्को कुतर्क हाजिर भैहाल्छ, 'यो अध्यादेशी सरकार हटाएर जनादेशी सरकार बनाउने राष्ट्रवादी पहल हो।'
घुम्दै फिर्दै रूम्जाटार भनेझैं, नेपालमा गणतन्त्रको हुर्मत लिन बयलगाढा सिद्धान्तका प्रतिपादक र उपासक दुबै 'बयल' अहोरात्र खटेका छन्, एक बयल शीतलनिबासबाट अर्को बयल बालकोटबाट। जोत्न नारिने खेत चाहिँ बालुवाटार हिजोआज अर्कै कित्तामा पर्यो र मात्र। नत्र असार १५ को झ्याइँझ्याइँ बेठी लागिसकेको हुन्थ्यो।
यसै पनि बाेकाले दाइँ हुन्छ कि भनेर एकथरि नेपाली लागेकै छन्। उनीहरूलाई त राष्ट्रपति भण्डारीको यो बाल्मिकी काइदाले 'दले'हरूले केही गर्दैनन् भनेर झ्याली पिट्न गजबकै मौका भएको छ।
बाँकि रह्यो, गणतन्त्रको भविष्यको कुरा जस्ले जे भने पनि अब यो व्यवस्थाको बिकल्प छैन। विद्याहरू फेरिन्छन् तर गणतन्त्र फेरिदैन किनकि आजको विश्वमा योभन्दा उम्दा राजनीतिक व्यवस्था छैन। हो, कुपात्रहरूका कारण यदाकदा गणतन्त्रमाथि नै प्रश्न उठ्ने ठाउँ मिल्छ । तर, त्यसको उत्तर पनि गणतन्त्रमै खोज्ने हो र उत्तर पनि त्यही मात्र पाइने हो। किनकि गणतन्त्रको विकल्प फेरि पनि गणतन्त्र नै हो।