हाम्रो नेपाली पार्टी अन्तर्गत लौरो अभियानबाट प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं. ३ का उम्मेदवार हुन्, ई. द्वारिका अधिकारी।
एक दशकदेखि इन्जिनियरिङ पेसामा रहेर देशका साना–ठुला आयोजनामा काम गरिरहेका उनी स्वतन्त्रको बाटो हुँदै हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । इन्जिनियरिङमा विद्यावरिधि गरिरहेका अधिकारीले कानुनशास्त्रमा स्नातक र राजनीतिशास्त्रमा स्नाकोत्तर उत्तीर्ण गरेका छन् ।
देशको नेतृत्व युवा पुस्तामा ल्याउने अठोटका साथ चुनावी मैदानमा उत्रिएका अधिकारीसँग बिएल नेपाली सेवाका कमल प्रभात विकले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:
चुनाव नजिकिँदैछ, मुटुको धड्कन त बढिरहेकै होला नि ?
मुटुको धड्कन बढ्नुपर्ने केही कारण छैन तर जनतामा परिवर्तनको जुन चाहना छ, त्यसले मूर्तरूप पाउन लागेकोले जनताचाहिँ खुशी हुनुहुन्छ ।
तपाईं पनि त खुसी हुनुहुन्छ होला नि ?
म पनि खुशी छु, म पनि त जनता हो ।
खुशी हुनेगरी चुनावी अभियान पनि गरिरहनुभएको होला नि ?
आ–आफ्नो हिसाबले चुनावी अभियान गरिरहेका छौं । निर्वाचन आयोगले भनेअनुसार १७ दिनअघि झण्डा बोकेर हिँड्न त मिल्दैन, चुनावी अभियान त पछि होला तर अहिले भेटघाट गर्ने र चिया खाने भैरहेको छ । चाडपर्वको शुभकामना आदानप्रदान पनि भैरहको छ ।
तपाईं राजनीतिक व्यक्तित्व त होइन तर किन चुनावमा प्रतिस्पर्धा गर्न लाग्नुभएको नि ?
त्यस्तो होइन, प्रत्येक मानिस राजनीतिक व्यक्तित्व हो । राजनीतिसँग कसको जीवन जोडिएको हुँदैन र ? एउटा बच्चा जन्मिन्छ, जन्मदर्ता बनाउनु पर्यो, नागरिकता बनाउनु पर्यो, त्यो पनि त राजनीति हो । त्यसैले कोही पनि व्यक्ति राजनीतिबाट अछुतो छैन । तर, प्रत्यक्ष रूपमा तपाईं राजनीतिमा आउने वा नआउने ? प्रतिस्पर्धा गर्ने वा नगर्ने भन्ने कुरा समयको मागअनुसार हुन्छ । हिजोको दिनमा हाम्रो कुरा संसदमा राख्छु भन्नेहरूले काम गर्न नसकेको अवस्था आएपछि हाम्रो प्रवेश भएको हो।
राजनीतिमा मेरो पहिलादेखि नै इच्छा थियो। यसैले मैले विकास, कानुन र राजनीतिशास्त्र अध्ययन गरेको हुँ ।धेरै समय मैले यी कुरामा पनि दिएको छु। म आज मात्रै फुत्त निस्किएको मान्छे हैन । मैले सैदान्तिक रूपमा अध्ययन गरेर, विभिन्न वादहरूका बारेमा बुझेर, विसका र राजनीति कसरी गर्नुपर्छ भन्ने जानेर, जनताको आकांक्षा के–के छन् सबै बुझेर राजनीतिमा आएको हुँ।
इन्जिनियरिङको काम गरेर जीवन चलाइरहनुभएको मान्छेले किन राजनीति गर्नुपरेको ?
मैले ३/४ वर्षअघिदेखि यी कुराहरू पढ्नु व्यवाहारिक रूपमै राजनीतिमा लाग्नको लागि थियो । यदि मेरो यसमा इच्छा थिएन भने राजनीति र कानुन विषयमा डिग्री नगरेको भएको पनि हुने थियो । तर, किन गरेको भने सबै नेताहरूले वादको कुरा भजाए तर साँच्चिकै वादमा के हुँदो रहेछ ? विकास निर्माण र नीति निर्माणमा के कुराले असर गरेको छ ? भन्ने कुरा बुझ्न राजनीतिमा प्रवेश गरेपछि थाहा हुन्छ ।
हामी कसैलाई ढुङ्गा हानेर, कसैलाई गाली गरेर राजनीतिमा आएको हैन, सैदान्तिक रूपमा ज्ञान बोकेर र हिजोको दिनमा काम गरेर र माटो छोएर, पूर्वदेखि पश्चिमसम्मका बाटोहरू हिँडेर, सबै नदीका पानी खाएर, यो देशको भूगोल बुझेर, जनताका ईच्छा र आंकाक्षा थाहा पाएर, उनीहरूको पीडा बुझेर हामी राजनीतिमा आएका हौं ।
स्वतन्त्रहरूको लहर चलिरहेको बेला मौकामा चौका हान्न खोजेको त हैन ?
मैले सैदान्तिक ज्ञान यसैमा छिर्छु भनेर लिएको हो । स्थानीय तह निर्वाचनमा स्वतन्त्रहरूको लहर नचलेको भए पनि म चुनावमा आउथेँ । अर्को कुरा सजिलो के भयो भने राजनीतिमा आउनको लागि स्थानीय तहको निर्वाचन परिणाम जुन छ, त्यसले पनि एउटा छुट्टै व्यक्तिको एजेण्डा पनि जनताले अनुमोदन गर्छन है, अब जनताले पार्टी मात्रै हेर्दैनन् राम्रो उम्मेदवार पनि हेर्छन्, जनताले विकास खोजेका छन्, सुशासन खोजेका छन्, शिक्षा र स्वास्थ्यमा सुधार खोजेका छन् भन्ने कुरा स्पष्ट भयो । मेरो उद्देश्य र अहिलेको अवस्था संयोग मात्र हो ।
तपाईंले के–के गर्नुभएको छ ?
म गोकर्णेश्वर नगरपालिको स्थायी र स्थानीय हो । म अहिले इन्जिनियरिङमा विद्यावारिधि (पिएचडी) गरिहेको छु । कानुन र राजनीतिशास्त्र पनि अध्ययन गरेको छु । देशका सानादेखि ठुला–ठुला आयोजनामा विभिन्न तह र तप्कामा बसेर काम पनि गरिरहेको छु । एक दशकदेखि इन्जिनियरिङ पेसामा रहेर काम गरिरहेको छु । अध्ययन र कामको लागि देश विदेशमा पनि घुमेको छु। त्यसैले गर्दा पनि हाम्रो देशको विकास र विदेशको विकासबारे बुझेको छु ।
नेपालको पूर्व–पश्चिम र उत्तर–दक्षिण सबैतिर पुगेर काम गरेको छु । जनतासँग बसेको छु, जनतासँग खाना खाएको, डाँडापाखाको पानी खाएको छु, जनताको सबै अवस्था देखेको छु, जनताको आकांक्षा राम्रोसँग बुझेको छु, भूगोल बुझेको र माटो छोएको मान्छे हुँ, म ।
तपाईंले चुनाव जितेपछि आफ्नो निर्वाचन क्षेत्रमा के गर्नुहुन्छ ?
मसँग अहिले दुईवटा एजेण्डा छन् । एउटा राष्ट्रिय र अर्को स्थानीय एजेण्डा।
राष्ट्रिय एजेण्डा भन्नाले यो देशको व्यवस्था हो । आज तपाईं चुनावमा गइरहनुभएको छ, तपाईंले प्रत्यक्ष प्रधानमन्त्री छान्न पाउनुभएको छ ? छैन । हो, त्यसैले अब हाम्रो नेपालमा जनताले प्रत्यक्ष कार्यकारी छान्न पाउनुपर्छ । नाम जेसुकै दिनुहोस्, राष्ट्रपति, प्रधानमन्त्री । नामले असर गर्दैन तर जनताले चुन्न पाउनुपर्छ, डाइरेक्ट डेमोक्रेसी आउनुपर्छ। राइट टु रिजेक्ट भन्ने कुरा पनि आउनुपर्छ । अर्को कुरा सांसदहरूले मन्त्री बन्न पाउनु हुँदैन । सांसदले मन्त्री बन्न पाउने हो भने पैसाको खेलो हुन्छ अनि पैसाको खेलो हुने बित्तिकै सबै कुरा बिग्रिन्छ ।
समानुपातिक निर्वाचन प्रणाली भनेको प्रत्यक्ष रूपमा आउन नसक्ने तर पनि उहाँको योगदान जनताहरूलाई आवश्यकता परेपछि कुनै–कुनै रूपबाट देशको नीति निर्माणमा ल्याउनुपर्छ भनेर परिकल्पना गरिएको हो । जुन किसिमको व्यवस्था थियो, त्यो अहिले के भैरहेको छ? साला–साली, आफन्त र गुण्डागर्दी गर्नेलाई । त्यहाँ पैसाको भरमा किनेको छैन ? हो, त्यस्तो खालको व्यवस्था राखेर कहिले प्रगति हुन्छ ? प्रस्थान बिन्दू गलत भएपछि गन्तव्य त अटोमेटिक गलत हुन्छ ।
त्यसो भए संसद भवन छिरेर तपाईंले के गर्नुहुन्छ ?
नीति निर्माण तहमा रहेर काम गर्ने हो । नीति निर्माण तहमा हो भने हो, होइन भने होइन भनेर हात उठाउनका लागि संसदमा जान लागेको होइन, म । मैले किन कानुन र राजनीतिशास्त्र पढेको भन्दाखेरि त्यहाँ गएर सबैलाई यस्तो–यस्तो कानुन बनाउनुपर्छ भनेर लिडिङ रोल लिनको लागि हो ।
तर, त्यहाँ तपाईं एउटाको मात्रै आवाज कसले सुन्छ ?
हेर्नुहोस् सर, सिद्धान्त भनेको एउटैले निकाल्छ । प्रभाव भनेको एकजनाले मात्रै पनि ल्याउँछ । बालेन साह भनेको एकजना हैन ? एकजना बालेन साहको प्रभाव छैन ? परिवर्तनको संवाहक भनेको एकैजना हुन्छ ।
तर, वास्तविक जनताले त स्थानीय स्तरको विकास चाहेका छन नि त फेरि ?
हो, आज म काठमाडौंजस्तो राम्रो सहरमा जन्मिएकै कारण मेरो उमेर ५ वर्ष कम छ। जति बाँच्नुपर्ने थियो त्यसको ५ वर्ष मेरो उमेर कम छ । यहाँको धुलो, प्रदुषण र फोहोरले गर्दा यहाँ जन्मिने सबैको उमेर कम भइसक्यो । त्यसको जिम्मा कसले लिन्छ ?
हाम्रो संविधानले स्वच्छ वातावरणको हक त मौलिक हकमा राखेको छ नि । अब हाम्रो जीवनमाथि धोका हुँदा हामी नबोल्नु त ? हो, यस्ता नीति निर्माण फेरेर अब हामीले एकदमै वैज्ञानिक तरिकाको नीति निर्माण गर्नु छ । शिक्षित र योग्य उम्मेदवार नभइकन यो देशले निकास पाउनेवाला छैन । त्यसैले स्थानीय तहको मोटिभेसनलाई लिएर यसपटक जनता परिवर्तनको वाहक बन्नेछन् र देशमा परिवर्तन गर्नेछन् । काठमाडौं ३ का मतदाताले यसपटक लौरो चिन्हमा भोट हालेर मौनक्रान्ति गर्नु हुनेछ ।
जनताले तपाईंलाई भोट हाल्छन भन्ने के ग्यारेन्टी छ ?
म पनि त जनता हुँ, नागरिक हुँ । जनताले जे समस्या भोगिरहेका छन्, त्यो समस्या मैले पनि भोगेको छु । राजनीतिमा म आउनुको कारण जनताले पाएको दु:ख नै हो ।
तपाईं स्वतन्त्र व्यक्तिले किन लौरो चुनाव चिन्ह लिएको ?
लौरो चुनाव चिन्हलाई हामीले संस्थागत गर्न खोजेको हो । लौरो चुनाव चिन्ह हाम्रो नेपाली पार्टीको नाममा दर्ता छ । तर, हामी उम्मेदवार र पार्टीबीच सम्झौता भएको छ । त्यसमा उहाँहरूले हामीलाई ह्विप लगाउन नपाइने र जितेपछि पनि हामी स्वतन्त्र रहिरहने सार्वजनिक रूपमा सम्झौता भएको छ । त्यसैले यसलाई त्यस्तो अन्यथा लिनुपर्ने केही छैन, बिरालो चाहे सेतो होस् वा कालो होस् मुसा मार्न सके भयो । हामी मुसा मार्ने सिकारी बिरालो हौं, कसैले बोकेको कुकुर हैन ।
चुनावी प्रतिस्पर्धामा रहेका अन्य पुराना नेताहरू प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीलाई के भन्न चाहनुहुन्छ ?
उहाँहरूको हामी शुभचिन्तक हौं । उहाँहरूले देशलाई जति दिनसक्नुहुन्थ्यो त्यो उहाँहरूले दिसक्नुभयो। त्योभन्दा बढी उहाँहरूबाट आशा गर्नु हाम्रो मुर्खता हुन्छ । एउटा गाईले दिनमा १० लिटर दूध देला, अब त्यही क्षमता बिरालोमा खोजेर पाइन्छ ? उहाँहरूको पृष्ठभूमि जति थियो, उहाँहरूले त्यति दिइसक्नुभयो तर अब त्यतिले पुग्दैन । अब त्योभन्दा बढी गर्नका लागि हामी आएका छौं । त्यसैले अब हामीलाई काम गर्ने मौका दिनुहोस् । आराम गर्नुपर्ने नेताहरूबाट त्योभन्दा बढी खोज्न थाल्ने हो भने उहाँहरू गलत हैन, हामी जनता गलत हुन्छौं । त्यसैले यसपटक नयाँलाई छानौं, कम्तिमा एउटा अवसर दिऔं ।
तपाईंजस्ता युवाको हातमा देशको नेतृत्व आयो भने नेपाल विकास हुन कति समय लाग्छ ?
कुनै पनि देशको विकास हुन त्यहाँ एउटा पुस्ताले आफ्नो जीवनको मूल्य चुकाउनुपर्ने हुन्छ । हो, हामी त्यही पुस्तामा परिरहेका छौं । य देशको विकासका लागि अब हामीले ठुलो मूल्य चुकाउनुपर्ने हुन्छ, त्यसको लागि हामी तयार छौं । यो मूल्य चुकाउन र बलिदानी दिन हामी अगाडि बढिरहेका छौं भने अब हामीलाई विश्वास गरेर जनताले अगाडि लैजानु होला।