विश्व च्याम्पियन दृष्टिविहीन सिमोने साल्भानिनिको टोलीले गाङछेँपो हिमाल आरोहण गर्दै

विश्वका ८ हजार मिटर माथिका १४ वटै हिमालको दोहोरो आरोहण गरेका विश्वप्रसिद्ध नेपाली माउन्टेन गाईड सानु शेर्पाको पनि साथ

BreaknLinks
BreaknLinks

सिन्धुपाल्चोक तर्फबाट पहिलो पटक गाङछेँपो (६,३७८ मिटर) हिमाल आरोहण हुने भएकाे छ।

इटालीकाे प्याराक्लाइम्बिङ टोलीका विश्व च्याम्पियन सिमोने साल्भानिनि र सगरमाथा आरोही तथा अन्तराष्ट्रिय माउन्टेन गाइड लुका मोन्टानारी र डी.एमिलिया अलेसेन्ड्रो, डेला मुरा मार्कोसहित नेपाली आरोहीको एक टोली आरोहणको लागि ओक्टोबर २९ तारिख (शनिवार)को दिन त्यसतर्फ प्रस्थान गर्दैछ।

दिगो पर्यटनद्वारा स्थानीय समुदायको भविष्यको विकास गर्ने लक्ष्यसहित उक्त हिमालको आरोहण गर्ने योजना रहेको गरिमा भोयज टुर्स एण्ड ट्राभलका संस्थापक रवीन्द्र आर्यालले बताए।

गरिमा भोयज र न्यु भिजन नेपाल संस्थाले संयुक्त रुपमा सुरु गरेको ग्रामीण विकास र दिगो पर्यटनको परियोजनालाई विश्वसामु ध्यानाकर्षण गराउने उद्देश्यले आरोहण गर्न लागेको उनले जानकारी गराए।

स्थानीय निकायको र इटालीस्थित एसएटीको प्राविधिक सहयोगमा ट्रेलहरूको सञ्जाल रहेको मेलम्ची, पाँचपोखरी र हेलम्बु क्षेत्रका लागि सन् २०२४ सम्म दिगो गन्तव्यको रूपमा प्रमाणिकरण प्राप्त गर्ने संस्थाले लक्ष्य लिएको छ।

संयुक्त राष्ट्र संघका प्रवक्तासमेत रहेका दृष्टिविहीन खेलाडी साल्वाग्निनको सहभागिताले यो अभियानलाई थप अर्थपूर्ण रुपमा हेरिएको छ। उनले हासिल गर्ने अनुभव र सफलता अन्य आरोहीभन्दा फरक दृष्टिकोणबाट अनुभव बाड्न सक्ने आयोजकले विश्वास लिएको छ।

आरोहण दलमा इटालीयन टोलीसँग टिम लिडर रवीन्द्र आर्यल, न्यु भिजन नेपालका अध्यक्ष अशोक शर्मा भट्ट, विश्वको ८ हजार मिटरको १४ वटै हिमाल दुई पटक आरोहण गरेका विश्वप्रसिद्ध नेपाली माउन्टेन गाईड सानु शेर्पा, ह्योल्मो समुदायकी पहिलो सगरमाथा आरोही कान्छी डोल्मा ह्याल्मोलगायत नेपाली आरोही लालबहादुर वाईबा, रामकाजी तिवारी, सञ्जिव गुरुङ र अन्य सहयोगी दलको सहभागी रहने छ।

गाङछेँपो हिमाल आरोहणको अभियान गरिमा भोयजले गरेकाे हाे भने सम्पूर्ण ग्राउन्ड ह्याण्ड्लिङ तथा आरोहण प्राविधिक सहयोग माउन्टेन गाइड एसोसिएसन अफ नेपाल (मोगन)ले गरेको छ।

आरोहण टोलीमा विश्वप्रसिद्ध र शीर्ष नेपाली पर्वतारोही गाइडहरू समावेश छन। यो आरोहण अभियान सफल हुनेमा आफू विश्वस्त रहेको गाङछेँपो हिमाल आरोहण टोलीका संयोजकसमेत रहेका मोगनका अध्यक्ष सञ्जिव गुरुङले बताए।

गाङछेँपो हिमाल नेपालको हिमालय क्षेत्रको जुगल पर्वत शृङ्खलामा पर्छ। यो रसुवा जिल्लामा अवस्थित छ। गाङछेँपो उर्केनमाङबाट करिब ३.७ किलोमिटर पश्चिममा र गञ्जला चुलीबाट १४.४ किलोमिटर पूर्वमा पर्छ। ६,३७८ मिटरको उचाइको हिमाल लाङ्शिशारीबाट ६.६ किलोमिटर दक्षिण-पश्चिममा पर्दछ।

गाङछेँपो हिमाल काठमाडाैँदेखि नजिक रहेकोले आरोहणको लागि राम्रो व्यवासयिक सम्भावना बोकेको चुली हो। हिमालको सफल आरोहण पश्चात विश्वभर प्रचारप्रसार भई गतिलो पर्यटनमा आधारित टुरिजम प्रडक्ट हुनेसमेत आयोजकले आशा लिएका छन।

शुक्रबार नेपाल पर्वातारोहण संघको वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले आरोहण टोलीलाई शुभकामनासहित संघको झण्डा हस्तान्तरण गरेका छन।

गरिमा भोयजको पहल गरिएको आरोहण अभियानलाई इटालीको एक प्रतिष्ठत मोन्टुरा आउटडोर कम्पनीद्वारा सहयोग गरेको छ। त्यस्तै अभियानलाई पाँचपोखरी थाङपाल गाउँपालिका, नेपाल पर्वातोरहण संघ नेपाल, मोगानलगायत विभिन्न व्यक्ति तथा संघ संस्थाको साथ रहेको छ।

आरोहण टोलीको रुट :

काठमाडाैँदेखि मेलेम्ची हुँदै भोटाङसम्म गाडीमा यात्रा। त्यसपछि टुपी, डाँडा, नोस्याङपाटी, पाँचपोखरी, छ्याक्साल, ल्याङसिङ भ्याली हुँदै दक्षिण वेसक्याम्पसम्म पैदलयात्रा।

वेसक्याम्पबाट (४८०० मिटर) बाट आरोहण सुरु हुनेछ, जहाँबाट आरोहण गर्ने ११ जनाको टोलीले करिब ७ दिनमा चुचुरो टेक्ने योजना बनाएका छन।

प्रकाशित मिति: : 2022-10-28 17:43:00

प्रतिकृया दिनुहोस्