बाध्यात्मक उम्मेदवारीमा साना दल

BreaknLinks
BreaknLinks

नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी लेनिनवादी) दाङका सचिव नेत्रप्रसाद पाण्डेय ०७० साल यता सबै चुनावी प्रतिस्पर्धा छन्।

०७९ सालको मंसिर ४ गते हुने निर्वाचनसम्म आइपुग्दा उनले चार पटक उम्मेदवार भइसके। उनी ०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार भए। त्यसपछि पाण्डेयले लगातार ०७४ र ०७९ को स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरको मेयर पदको उम्मेदवार बने। तर, यी कुनै पनि निर्वाचनमा उनले जित निकाल्न सकेनन्।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर पराजय भएका पाण्डेय अहिले पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा मालेबाटै पुनः उम्मेदवार बनेका छन्।

नेकपा (माले)का पाण्डेय मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका महासचिव शंकर पोखरेल र गठबन्धन तर्फकी उम्मेदवार रेखा शर्मासँग प्रतिस्पर्धा गर्दै छन्। दुई हेभिवेट उम्मेदवारका बीच यो पटकको निर्वाचनमा पनि पाण्डेयलाई जित निकाल्न अफ्ठ्याराे पर्ने देखिन्छ।

पाण्डेय जस्तै पटक–पटक चुनावमा होमिनु साना दलका उम्मेदवारहरुको रहर मात्र नभएर बाध्यता पनि हो। कमजोर सांगठनिक पकड जस्ता चुनाव जित्ने आधारहरु नहुँदा नहुँदै पनि साना दलमा उम्मेदवारहरु निर्वाचनमा होमिनुपर्ने बाध्यतात्मक स्थिति छ।

उदाहरणका लागि राष्ट्रिय आमा पार्टीकी उम्मेदवार गीता रावत पनि हुन्। उनी ०७४ सालदेखि चुनावी मैदानमा छिन्। उनी ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेकी थिइन्। तर, ठुला दलबीच प्रतिस्पर्धा गर्दा उनले सम्मानजनक मत समेत ल्याउँन सकिनन्। यसअघि पराजय भएकी उनी मंसिर– ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा दाङ– २ बाट पुनः उम्मेदवारी दिएकी छन्। उनले  उम्मेदवारी दिएको पार्टीको पनि बलियो संगठन नहुँदा दुई ठुला दलबीच चुनावी प्रतिस्पर्धा गर्न उनलाई सजिलो छैन। उनलाई यो पटकको निर्वाचनमा पनि जित निकाल्न मुस्किल पर्ने देखिन्छ। तर, चुनाव जित्ने उनको दाबी छ।

पटक–पटक चुनाव उठ्ने र जितको सम्भावना नहुँदा बाध्यतात्मक उम्मेदवार बनेकाहरु स्वयम् पनि निर्वाचनमा उत्साहित देखिदैनन्। ‘हरेक पटकका निर्वाचनमा उम्मेदवार बनेका छौं तर जित्ने कुनै पनि आधार छैन,’ दाङ क्षेत्र नं. २ का एक उम्मेदवार भन्छन्,‘निर्वाचन जनतामाझ आफ्ना एजेण्डाहरु लिएर चुनाव जित्ने भन्दा पनि पार्टीका कारण बाध्यताले उम्मेदवार बनिराख्नुपर्ने स्थिति छ।’ साना दलहरुले समानुपातिक सिट सुरक्षित गर्न पनि भोट बैंकका रुपमा आफूहरु हरेक पटक होमिन परेको उनले बताए। यस्तोमा चुनावमा होमिँदा आफूहरु उत्साहित नभएको उनको भनाइ छ।

तर, कतिपपय उम्मेदवारहरु भने कमजोर शक्तिका रुपमा रहेका दलका केही उम्मेदवार भने चुनाव जित्ने दाबी गर्दै हरेक पटक निर्वाचनमा होमिदै आएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दाङ निर्वाचन क्षेत्र नम्बर– २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका भोलानाथ योगी त्यस्तै एक पात्र हुन्। उनको यो दोस्रो उम्मेदवारी हो। ०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीको मेयरमा उम्मेदवारी दिएका योगीले करिब २ हजार मत प्राप्त गरेका थिए। अहिले २०७९ को स्थानीय तहको निर्वाचनमा राप्रपाले घोराहीमा केही मत बढाएको भए पनि उनले जितिहाल्न सक्ने अवस्थाको मत स्थानीय तहमा देखिदैन।

तर, योगी अहिलेको प्रतिनिधि सभाको निर्वाचनमा जनमत फेरिने दाबी गर्छन्। यो उम्मेदवार भएकाले दाबी गर्नु पनि स्वभाविक हो। तर, टोल कमिटी गठनमा समेत राजनीतिक भागबण्डा गर्नुपर्ने राजनीतिक प्रणालीका कारण उनले जित्न सक्ने आधारहरु नभएको उनले बताए। यद्यपी बौद्धिक जगतसँग छलफल भएको बताउँदै मत यस पटक आफ्नो पक्षमा रहने दाबी भने गर्छन्।

०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नम्बर– २ बाट एक पदका लागि १५ जना चुनावी मैदानमा छन्। दाङ क्षेत्र नं. १ र ३ मा पनि अवस्था दुईको जस्तै छ। क्षेत्र नं. १ मा १२ जना र ३ मा १६ जनाले उम्मेदवारी दिएका छन्। त्यहाँ पनि एमाले र गठबन्धनजस्ता ठुला दलसहित साना र केही स्वतन्त्र उम्मेदवार चुनावमा होमिएका छन्। गठबन्धन र एमालेका उम्मेदवारबीचको प्रतिस्पर्धाबाहेक साना दलका उम्मेदवार बाध्यताका उम्मेदवारहरुजस्ता देखिन्छन्। उनीहरुको चुनावी प्रचारप्रसार समेत देखिँदैन।

प्रकाशित मिति: : 2022-10-25 08:09:00

प्रतिकृया दिनुहोस्