‘एमपी’ बस दुर्घटनाः तिहार मनाउन घर जाँदै गरेका १५ मजदुरको मृत्यु

भारतकाे ‘एमपी’ राज्य अर्थात् मध्यप्रदेशको रीवा नजिक एउटा डरलाग्दाे सडक दुर्घटना भएको छ।

शुक्रबार राति राष्ट्रिय राजमार्गमा बस र ट्रक एकआपसमा ठोक्किँदा १५ यात्रुको मृत्यु भएको छ। प्रत्यक्षदर्शीका अनुसार ४० भन्दा बढी यात्रु घाइते भएका छन्।

मृत्यु हुनेमा अधिकांश उत्तरप्रदेशका मजदुरहरू हुन्। उनीहरू दीपावली (तिहार) मनाउन घर जाँदै थिए। प्रहरी घटनास्थल पुगेर बसमा फसेका यात्रुको उद्धार गरिरहेकाे अधिकारीहरूले जनाएका छन्। 

घाइतेहरूरुलाई एम्बुलेन्सबाट ट्योनथर सिभिल अस्पताल लगिएको छ। गम्भीर घाइते यात्रुहरूलाई रेवास्थित सञ्जय गान्धी अस्पतालमा लगिँदै छ।

मध्यप्रदेश–उत्तर प्रदेशको सीमा जोडिएको सुहागी पहाड नजिक राष्ट्रिय राजमार्ग–३० मा दुर्घटना भएको हो।

प्रकाशित मिति: : 2022-10-22 09:20:00

प्रतिकृया दिनुहोस्