लाम्पुछ्रेले बचाएकाे, ‘काेइलीस्वर’ले सजिएकाे पूर्णकलाकाे जीवन (भिडियाेसहित)

ममता आचार्य

काठमाडौं

नेपाली लाेकदाेहाेरी क्षेत्रमा पूर्णकला बि.सीकाे विशिष्ट स्थान छ। उनी नेपाली सांगीतिक क्षेत्रमा १४ वर्षदेखि सक्रिय छिन्। यस अवधिमा उनले ५ हजार बढी गीतमा आवाज दिएकी छिन्। पूर्णकला बि.सीले सफलताकाे याे शिखरमा चढ्न जीवनमा धेरै संघर्ष पर्नु पर्‍याे। बर्दियाकाे सामान्य गाउँदेखि काठमाडाैँका दाेहाेरी साँझ हुँदै उत्कृष्ट गीत गएर दर्शककाे मन–मनसम्म।


हरेक दिन साँझपख बिरामी छाेरी (पूर्णकला)लाई बुबा धनकाजी परियारले गीतका सुरिलाे भाकाहरू सुनाउँथे। लाेकलयमा जीवनका हर क्षणकाे वर्णन र स्मरण गरेर पूर्णकलाका बुबाले जीवनलाई सान्त्वना मात्रै दिएका थिएनन्, छाेरीकाे मस्तिष्कमा संगीतकाे भाेक पनि जगाइरहेका थिए। पूर्णकला गीत सुन्नकै लागि ठुली हुँदासम्म पनि बुबासँगै सुत्ने गर्थिन्।

उनका बुबाकाे स्वर अत्यन्त मिठाे थियाे। सायद बुबासँग भएकाे कला पूर्णकलामा पनि सरेकाे हुन सक्छ, उनले पनि सानैदेखि राम्रैसँग गीत गाउँथिन्। घर, आँगन हाेस् या विद्यालयकाे भवन जहाँततै उनकाे स्वरकाे प्रशंसा हुन्थ्याे,‘आहा ! याे फुच्चीले त क्या दामी गीत गाउँछे।’

विडम्बना ! पूर्णकलाले गीत गाएर पाएकाे तारिफभन्दा भयाङ्कर थियाे, उनकाे मुटुकाे राेग।

उनी ७ वर्षकी हुँदा एक्कासी मुटुमा समस्या देखियाे। साेही समस्याका कारण उनलाई महिनैपिच्छे अस्पताल जानु पर्थ्याे। याे प्रक्रिया उनी १६ वर्षकी हुँदासम्म चल्याे।

‘७ वर्षको थिएँ, स्वास्थ्यमा समस्या देखिएर आमासँग अस्पताल गएँ। डाक्टरले मुटुमा जुकाले टोकेर घाउ भएको छ बाँच्ने समय भने निधाे गर्न सकिँदैन भन्याे। मलाई गह्रुङ्गाे भारीले थिचेको जस्तै भयो। अस्पाताले महिना–महिनामा ‘इन्जेक्सन’ लगाउनपर्छ भन्याे,’ पूर्णकलाले बिएल नेपाली सेवासँग भनिन्। डाक्टरले त्यति भनेपछि उनमा बाच्ने रहर पनि हराएकाे थियाे तर जीवन हाे, जसरी चल्छ त्यसैगरी चलाउनुपर्ने, उनले संघर्ष गरिरहिन्।

राेगबाट मुक्त हुनकाे लागि राम्राे/नराम्राे जे हुन्छ उनी गर्न तयारी भइन्। डाक्टर, वैद्य र गाउँलेले जे भन्थे उनकाे परिवारले त्यही गर्‍याे।

‘लेख (पहाड)मा पाइने यस्तै घाउ भएकाे लाम्पुछ्रे चराकाे मासु खायाे भने याे नानीकाे राेग टक्रक्कै निकाे हुन्छ,’ एकदिन पूर्णकलाकाे हजुरबालाई कसैले सुनायाे।

त्यसपछि उनका हजुरबुबाले लेखमा गएर लाम्पुछ्रे चरा ल्याएर मासु पकाएर खुवाएछन्। त्यसपछि उनलाई अस्पताल पनि लैजान छाेडियाे। अन्तत : १६ वर्षकी हुँदा उनकाे मुटुकाे राेग निकाे भयाे। ‘हजुरबाले लेखबाट ल्याएकाे चराकाे मासु खाएपछि म अस्पताल गइन्, स्वास्थ्यमा पनि केही समस्या देखिएन,’ पूर्णकलाले सुनाइन्।

उनी गीत गाउन भनेपछि हुरूक्कै हुन्थिन्। विद्यालयमा केही कार्यक्रम भयो कि उनी गीत गाउन अगाडि बढ्थिन्। जिल्ला र अञ्चलमा कुनै दोहोरी गीत प्रतियोगीता हुँदा उनलाई विद्यालयकै शिक्षकहरुले सहभागी हुन आग्रह गर्दथे। बर्दियाको शम्भुशरण माध्यमिक विद्यालयमा पढ्दा उनलाई शिक्षकहरूले भन्थे,‘गायन क्षेत्रमा तिम्रो भविष्य राम्रो छ। यस्तै गाउँदै गयौँ भने तिमी एउटा तारा बन्छौँ।’ बिहान कक्षा काेठमा पसेपछि पूर्णकलाकाे आवाज नसुनेसम्म राष्ट्रिय गान नै सुरू हुँदैन थियाे। ‘म कक्षमा जाने बित्तिकै सबैले गीत गाउन लागउँथे। मैले गीत गाएपछि मात्रै राष्ट्रिय गीत गाउन सुरू हुन्थ्याे।’

०००

वि.सं. २०६३ मा एल.एल.सी. दिएपछि उनी नेकपा (एमाले)काे भातृ संगठन राष्ट्रिय जनसांस्कृतिक मञ्जकाे मेची–महाकाली अभियानमा निस्किइन्। त्याे अभियान सकिएपछि भिनाजु बलबहादुर बिककाे आग्रहमा वि.सं. २०६५ सालमा उनी काठमाडाैँ आइन्। उनका भिनाजु नेपाल प्रहरीका कार्यरत थिए। 

उनले काठमाडाैँ आएकाे केही समयमै दाेहाेरी साँझमा काम गर्ने अवसर पाइन्। भर्खर–भर्खर गाउँबाट राजधानी छिरेकी उनलाई सुरू–सुरूमा दाेहाेरी साँझमा काम गर्न असहज भयाे। रातभरि गीत गाउनुपर्ने, सहकर्मीकाे तिरस्कार, काम गरेकाे पैसा समयमा नपाइने यी कारणले उनलाई कामप्रति खिन्न लागगरह्याे।

‘रातभरि दाेहोरी साँझमा गीत गाउँथे। तर, पनि काम गरेकाे ६/७ महिनासम्म तलब पाएकी थिइन्। ‘टिप्स’बाट आएकाे पैसाले गुजरा चलाउँथे,’ उनले भनिन्,‘त्यही काम गर्नेहरुले धेरै ‘टिप्स’ हुँदा दिँदैन्थे, थाेरै आउँदा मात्र पाइन्थ्याे। तलब दिँदा पनि मेरो सबै खर्चहरुको हिसाब गरेर दिन्थे। राजधानीमा बसेर मलाई आफ्नो गुजारा चलाउन आर्थिक अभावको कारण धेरै संकट झेल्नु परेको थियो।’

यतातिर दाेहाेरी साँझकाे संघर्षपूर्ण यात्रा, अर्काेतिर कलाकार बन्ने चाहना। यी दुई कुराकाे बीचमा एक्काेहाेराे तरिकाले चलिरहेकाे थियाे, उनकाे जीवन। यही क्रममा उनले वि.सं. २०६८ मा पहिलाे पटक गीत रेकर्ड गर्ने अवसर पाइन्। ‘मेरो माया सम्झेर आइदिनु’ उनकाे पहिलाे गीत बन्याे। ‘मैले पहिलाे पटक गाएकाे गीत बजारमा आउँदा खुसीकाे त सीमा नै थिएन। हर्षले राेएँ। घरमा बुबाआमा पनि छाेरीकाे सपना पूरा भयाे भने रूनुभएकाे थियाे,’ पूर्णकलाले खुसीकाे क्षण सुनाइन्।

गीत सार्वजनिक भएपछि उनकाे चर्चा पनि बढ्याे। उनलाई धेरैले चिन्न र खाेज्न थाले। त्यसपछि त उनले दिनमा ११ वटासम्म गीत रेकर्ड गरिन्। त्यतिबेला नेपाली लाेक दाेहाेरी क्षेत्र पूर्णकला बि.सीमय बनेकाे थियाे। उनले गाएकाे गीत नचल्ने भन्ने नै थिएन।

पूर्णकलाले सांगीतिक क्षेत्रमा काम गर्न लाएकाे अहिले १४ वर्ष पुग्याे। याे अवधिमा उनले ५ हजारभन्दा बढी गीतमा आवाज दिएकी छिन्। ‘मायालुकाे सहरमा मेराे गाउँमा घर छ’, ‘जय जय हाेस्’, ‘शनिसार’, ‘डाँडै बिसाउने’, ‘रुदै रुदै तिम्राे सहर’, ‘चल गाेबिन्दे’, ‘कलाकारले देखे’लगायत उनका गीत चर्चमा छन्।

एक दशक बढी समय कलाकारितामै बिताएकी उलने आफ्नाे जीवनका सबै सुखी गीत संगीतमै जाेडिएकाे बताउँछिन्। उनकाे जीवन सांगीतिक क्षेत्रमै घुमिरहेजस्तै विवाहिक जीवन पनि कलाकारितामा सक्रिय व्यक्तिसँगै चलिरहेकाे छ। उनकाे वि.सं. २०७१ सालमा कलाकार धन केपीसँग विवाह भएकाे थियाे। अहिले उनी एक सन्तानकी आमा बनेकी छन्।

यसरी लामाे समयदेखि लाेकदाेहाेरी क्षेत्रमा सक्रिया पूर्णकला अहिले पनि कलाकारिता क्षेत्रका थप नयाँ काम गर्ने प्रयत्नमा छिन्। उनकाे आगामी जीवन अझै रमाइलाे र सुन्दर बनाेस्, शुभकामना।

प्रकाशित मिति: : 2022-10-23 22:00:00

प्रतिकृया दिनुहोस्