राजनीतिक दलले दलहरुलाई नै अघोषित रुपमा प्रतिबन्धित गरेका हुन् त?

ओम आचार्य

विराटनगर

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी यी तीनै राजनीतिक दल पार्टीगत रूपमा चुनावमा सहभागी देखिएका छैन। यिनीहरु आफ्ना बलमा आफ्नो चुनाव चिन्ह मात्रै प्रयोग गरी निर्वाचनमा सहभागी भएका छन्। एकीकृत समाजवादी पार्टी निर्माण भएपछि राजनीतिक दलका कार्यकर्ताले सो पार्टीलाई जान्दछन् र त्यो दलको चुनाव चिन्ह पनि चिनेका छन्।

तर आम जनसमुदायमा एकीकृत समाजवादी पार्टीको बारेमा जानकारी छैन र सो पार्टीलाई चिन्दैनन् पनि। सो पार्टीको चुनाव चिन्हबारे पनि जानकारी छैन। त्यस्तै माओवादी पनि शान्ति सम्झौतापछि निर्वाचनमा क्रमश ओरालो छ। अहिले त झन् कमजोर अवस्थामा छ। आम जनसमुदायमा माओवादीप्रति सकारात्मक सोच पनि छैन। त्यही भएर माओवादीले नाम परिवर्तन गर्न पनि छलफलमा आएको देखिन्छ।

त्यही कारणले पनि एकीकृत समाजवादी र माओवादीले आफ्नो राजनीतिक दलको नामबाट निर्वाचनमा सहभागी हुँदा सन्तोषजनक परिणाम हात नलाग्ने स्थिति देखेपछि पाँच दलीय गठबन्धनको नाममा आफ्नो चुनाव चिन्हबाट मात्रै निर्वाचनमा सहभागी हुने सहमति सायद गरेकाे होला। त्यही मान्यतामा नेपाली कांग्रेस पनि आफ्नो चुनाव चिन्ह मात्र प्रयोग गरेर निर्वाचनमा सहभागी भएको छ।

स्वतन्त्र उम्मेदवारहरू अहिले जसरी आफ्नो चुनाव चिन्हमा निर्वाचनमा सहभागी भएका छन्, त्यसैगरी यी राजनीतिक दलहरू पनि अहिले निर्वाचनमा आफ्नो चुनाव चिन्हमा मात्रै सहभागी भइरहँदा निर्दलीय चुनाव हो जस्तो लाग्न थालेको छ।

स्थानीय तह निर्वाचनमा धरान र काठमाडाैँमा स्वतन्त्र उम्मेदवारहरू मेयरमा निर्वाचित भएपछि जनमानसमा राजनीतिक दलभन्दा स्वतनत्र उम्मेदवारमा आकर्षण पैदा भएकै कारणबाट अहिले प्रदेश र प्रतिनिधिसभामा पनि स्वतन्त्र उम्मेदवारको संख्या तुलनात्मक रुपमा वृद्धि भएको हाे। अहिले पनि जनभावना, जनमत अध्ययन गर्दा विगत २०-२५ वर्षदेखि निरन्तर दोहाेरिएर उम्मेदवार भएका, अशक्त वृद्धि भत्ता लिइरहेका उम्मेदवारकै कारण दलप्रति नभएर त्यस्ता उम्मेदवारप्रति जनमोह आकर्षण घटेकाे देखिन्छ।

जनताकाे आक्राेश पार्टीप्रति हाेइन, निरन्तर रुपमा दोहाेर्याएर पार्टीले टिकटले दिएर निर्वाचनमा सहभागी गराएकोमा छ। यही कारणबाट पनि राजनीतिक पार्टीहरुमा प्रश्न उठ्न थालेको छ। राजनीतिक दलहरुले आफ्नी श्रीमती, भाइ-भतिजा, परिवारका सदस्य, उद्याेगी, व्यापारी, कानुनले दण्डित गरेका आपराधिक मनोवृत्ति भएकालाई पार्टीको प्रतिनिधिका रुपमा राख्नु, उभ्याउनु उम्मेदवार बनाउनुले गर्दा नै जनभाव र जनमत स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढेकाे हो।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हँदा दुई/दुई पटक संसद विघटन गर्दा प्रतिगमन भयो, गणतन्त्र सकिने भयो, संविधानको मानमर्दन भयो भन्दै दलहरुले विराेध गरे। संसद नै लोकतन्त्रको सर्वोच्च स्थान हो, लोकतन्त्रको संरक्षण र संवर्द्धन नै संसदबाट हुन्छ भन्दै राजनीतिक दलहरु विराेधमा उत्रिए। यसरी बहुदलका लागि, गणतन्त्रका लागि संघर्ष गरेका सहयात्री दलहरु नै अहिले संसदको निर्वाचनमा आफ्नो दलको नाम नलिएर स्वतन्त्रको जस्तो हैसियतमा निर्वाचनमा सहभागी हुनु के अहिले राजनीतिक दलहरुले राजनीतिक दलहरुलाई  नै अघोषित रुपमा प्रतिबन्धित गरेका हुन् त?

गिरिजाप्रसाद कोइरालाले माले, मसाले, मण्डले एकै हुन् भनेका हुन्। अहिले गठबन्धनका एक समूहका नेतृत्व गरेका प्रचण्ड भन्दै छन्। १२ बुँदे शान्ति सम्झौता गर्दै गर्दा 'गिरिजा बावुले हँसिया हथाैडामा भोट हालिसक्नुभयो, हामीले पनि रुखमा मत हालेउँ'। यो कुरा गिरिजामा जोडेर व्यक्त गर्ने प्रचण्डजीलाई पनि र गिरिजा कोइरालानिकटबाट चिन्ने र कांग्रेसभित्रै पनि अपाच्य भएकै छ।

अहिले कलम र हँसिय  हथौडा जिताउन नेपाली कांग्रेसले अभिभारा लिएको छ र सार्वजनिक सभा, समारोहमा उक्त पार्टीको नाममा मत पनि माग्दै गर्दा मत माग्ने उम्मेदवार र कांग्रेसप्रति पनि कार्यकर्ता तथा कांग्रेस शुभेच्छुक निष्ठा र विश्वास बाेकेका जनसुदाय खिन्न र निराश भएका छन्।

प्रकाशित मिति: : 2022-10-20 16:29:00

प्रतिकृया दिनुहोस्