लगातार वर्षाले मार्सी धानबालीमा क्षति

File Photo
File Photo

लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ। एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन्।

जिल्लाभरका किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

वर्षाले खेतमा पाक्नै लागेको धान ढालेपछि किसान चिन्तित छन्। भित्र्याउने बेलाको धानबाली ढलेर खेतमै दाना झरेको छ। पाकेको बाली घर भित्र्याउने समयमा वर्षाले क्षति गरेपछि यहाँका किसानलाई बर्षभरि पुग्ने अन्न संकट हुने तिला गाउँपालिका– १ का किसान जयबहादुर बुढाले चिन्ता ब्यक्त गरे। धेरैजसो सिञ्जा क्षेत्रमा धानबालीमा क्षति गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतबारी बगरमा परिणत भएको सिञ्जा गाउँपालिकाले जनाएको छ।

तिला गाउँपालिकाको नुवाकोट, कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली पूर्णरुपमा क्षति गरेको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले बताए। हिउँदमा पशुपालनका लागि काटिएको घाँससमेत मेलामै कुहिएको हिमा–१ का युनेश परिवार बताउँछन्।

यसबाट हिउँदमा पशुपालनमा ठूलो समस्या आउने अवस्था देखिएको छ। वर्षायाममा जताततै हरियाली हुने भएकोले चरीचरण क्षेत्र धेरै हुन्छ। तर, हिउँदमा सुख्खा हुने भएकोले किसानले घाँस सङ्कलन गरेर राखेका हुन्छन्। घाँसले मङ्सिरदेखि फागुन महिनासम्म पशु बस्तुको आहाराको काम गर्छ।

दसैंँअघिदेखि घाँस काटेर खेतमा सुकाउने, कोदो, चिनो र मकै भित्र्याउने र आलु निकाल्ने समय भएकोले पनि निकै व्यस्त देखिन्थे। जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार जुम्लामा दुई हजार नौ सय ५० हेक्टरमा धानखेती गरिएको छ। जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ।

प्रकाशित मिति: : 2022-10-12 15:44:00

प्रतिकृया दिनुहोस्