माधव नेपाल छाडेका रिजाललाई ओलीले पत्याएनन्

फाइल तस्विर
फाइल तस्विर

दैलेख क्षेत्र– २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न चौतर्फी लबिङ गरेका एमाले केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजाल दौडबाट बाहिरिएका छन्।

ललितपुर भैँसीपाटीका बासिन्दा रिजालले दैलेखबाट उम्मेदवार बन्न एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि मामा ससुरा विष्णु पौडेललगायतका शीर्ष नेतासँग अनुनय–विनय गरेका थिए। तर उनको तीव्र दौडधुप अन्ततः खेर गएको छ।

पार्टी विभाजनका बेला माधव नेपालको पछाडि लागेर एमाले अध्यक्ष ओलीलाई तथानाम गाली गलौज गरेको निष्कर्षका साथ बालकोटले उनलाई दण्डित गरेको एमाले स्राेतले जानकारी दिएकाे छ।

माधव नेपालको प्रेस सहयोगी भएर अकुत सम्पति आर्जन गरेको आरोप लागेका रिजाल एमाले विभाजनताका नेकपा (एकीकृत समाजवादी)काे पक्षमा लागेका थिए। लगतै उनी फेरि ओली नेतृत्वको तत्कालीन एमालेमा फर्किएकाे महासचिव शंकर पाेखरेलनिकट एक नेता बताउँछन्। माधव नेपाल नेतृत्वकाे  एकीकृत समाजवादीले केही प्रभाव नराख्ने र चुनावी नतिजा आफू अनुकूल नहुने निष्कर्षका साथ एमालेमा फर्किएपनि ओलीले उनलाई पत्याएनन्।

काठमाडाैँमा ओली र अन्य नेताहरूमार्फत आफू उम्मेदवार हुन निकै दौडधुप गरेका थिए। उनले केही व्यापारीसँग चुनावका लागि भनेर आर्थिक संकलन पनि सुरु गरिसकेको चर्चा एमाले वृत्तमा थियो। ओलीले भने जतिसुकै दौडधुप गरेपनि रिजाल अवसरवादी भएको निष्कर्षका साथ उनलाई पन्छ्याइएको महासचिवनिकट ती नेताकाे भनाइ छ।

ओलीले सो निर्णय लिनुअघि रिजालले टेलिभिजन र अनलाइनमा आफूविरुद्ध गाली गलौजको शैलीमा दिएका अन्तर्वार्ताका अंश समेत दोहोर्याएर हेरका थिए। रिजाल समाजवादीमा लागेको बेला ओली सबैभन्दा झुठ बोल्ने नेता, राष्ट्रपतिको आडमा संसद विघटन गरेर असंवैधानिक कदम चालेदेखि भ्रष्टाचारीको संरक्षण गर्ने नेता भएको आरोप लगाएका थिए। उनले राष्टपति विद्यासँगको ‘मिलिभगत’मा संसद विघटन गरेर जनमतको अपमान गरेकाले कारवाहीको माग गर्दैै प्रचण्डसँगै मुठ्ठी उठाउँदै ओलीविरुद्ध नारावाजी समेत गरेका थिए।

क–कसले पाए दैलेखबाट टिकट

विष्णु रिजालले दाबी गरेको दैलेख– २ क्षेत्रबाट केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज लक्ष्मीप्रसाद पोखरेलले टिकट हात पारेका छन्। प्रदेश (क) मा तिलक रिजाल र प्रदेश (ख)मा विनोदकुमार शाहले टिकट पाएको बताइएको छ।

प्रकाशित मिति: : 2022-10-07 21:24:00

प्रतिकृया दिनुहोस्