आयो दसैँ, चल्यो कोल (फोटो फिचर)

‘कोल’ के हो ? सम्भवतः नयाँ पिँढीका लागि यो नौलो लाग्ने प्रश्न हो। कोल कस्तो हुन्छ र यसको काम के हो? भन्नेमा नयाँ पिँढी जानकार नहुनु स्वभाविक पनि हो।

कालको प्रयोग आजको समयमा दुर्लभ रुपमा मात्र हुने गर्छ। अहिले सामान्यतया कोल लोप भएको अवस्था छ। कोल परम्परागत रुपमा तेल निकाल्न प्रयोग गरिने यन्त्र हो। कोलका माध्यमबाट तोरी, तिल, चिउरीलगायतका वस्तु पेलेर तेल निकालिन्छ।

दाङको घोराही उपमहानगरपालिकाको पहाडी भू-भागमा न्यून रुपमा कोलको प्रयोग हुने गर्छ। तर सधैँभरी होइन। वर्षमा मुस्किलले एक पटक। त्यसमा पनि दसैँ, तिहार चाडपर्व लक्षित गरेर कोलबाट तेल निकालिन्छ। तोरी पेल्ने नयाँ प्रविधि भित्रिएसँगै परम्परागत यन्त्र कोलको लोप हुँदै गएको हो।

अहिले कोलमा तोरी पेलिन छोडिएको छ। चिउरी पेल्नका लागि मात्र कोलको प्रयोग हुने गरेको घोराही–१३ मौलाकोटका हिमाल मगरले बताए। कोलमा चिउरी पेल्दै गरेको अवस्थामा भेटिएका मगरले विशेष गरेर चिउरीको तेल दसैँ-तिहारमा रोटी पकाउनका लागि प्रयोग गरिने र यही समयमा मात्र कोलबाट तेल निकालिने बताए।

मगरले चिउरीको तेल घरमा खानेसँगै बेच्ने गरेको जानकारी दिए। उनले दसैँका लागि भनेर यस वर्ष ७ बोरो चिउरीको फल संकलन गरेको बताउँदै यसबाट करिब २२ लिटर तेल निकालिने बताए।

मौलाकोटकै स्थानीय गंगाबहादुर थापाले पनि दसैँ, तिहारका लागि चिउरीको तेल पेलिसकेका छन्। ‘पहिले त धेरै पेलिन्थ्यो। अहिले त चिउरी पेल्ने परम्परा हराउँदै गयो,’ उनले भने, ‘मै पनि घरमा रोटी पकाउने मात्र पेलेर राखेको छु।’

चिउरीको तेल पेलपछि दसैँ आएको जस्तो हुने गरेको उनले सुनाए। ‘अन्य समयमा तोरीको तेलले काम चलाए पनि चाडपर्वमा चिउरीको तेल खानुपर्छ,’ उनले भने, ‘यो चिउरी पेलेपछि देशै आएको जस्तो हुन्छ।’ आजभोलि कोल लोप हुँदै जाँदा थोरै चिउरी पेल्न पनि गाउँमा पाल कुर्नु पर्ने अवस्था रहेको बताए।

बजारमा पाइने अन्य तेलका कारण धेरै मानिसहरुले चिउरीको तेल पेल्न छाडेको गंगाबहादुरको बुझाइ छ। ‘चिउरीको तेल पेल्नलाई धेरै मेहनत गर्नुपर्छ। तर मानिसहरु सुविधा खोज्छन्,’ उनले भने, ‘जसले गर्दा घर नजिकै भएको जंगलका फलहरु खेर जान्छन्। बजारबाट ल्याएर तेल खान्छन्।’

मौलाकोटसँगै वडा घोराही–१३ को बुढाकोट, लापेलगायतका गाउँमा अहिले पनि कोलमा पेलेर चिउरीबाट तेल निकालिने गरिन्छ। 

प्रकाशित मिति: : 2022-10-01 16:23:00

प्रतिकृया दिनुहोस्