लुम्बिनी प्रदेशसभाले आयोजना गरेको शुभकामना आदानप्रदान र सम्मान कार्यक्रम निर्वाचन आचार संहिता बिपरित भएको भन्दै चौतर्फि आलोचना भएको छ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर ४ गतेको लागि घोषणा भईसकेकोले निर्वाचन आयोगले असोज १ गते रातीदेखि नै प्रदेश र प्रतिनिधिसभाको कार्यकाल समाप्त भईसकेको जनाएको छ।
लुम्बिनी प्रदेशसभामा नेकपा एमालेका निवर्तमान प्रमुख सचेतक रहेका भुमिश्वर ढकालले प्रदेशसभाको कार्यकाल समाप्त भईसकेको अवस्थामा प्रदेशसभाको नाममा कार्यक्रम गरिनु निर्वाचन आचारसंहिता विपरित हुने बताए। उनले प्रदेश सरकारले सत्ताको आडमा निर्वाचनलाई प्रभावित पार्ने गरि आचारसंहिता विपरित कार्यक्रम आयोजना गरेकोले आफुहरु कसैको पनि सहभागिता नहुने बताए।
प्रदेशसभा सचिवालयबाट पत्र पठाईएको भएपनि नेकपा एमालेका प्रदेशका निवर्तमान सांसदहरुले भने प्रदेशसभाको कार्यकाल समाप्त भईसकेपछि र निर्वाचन आचारसंहिता लागु भईसकेपछि आयोजना गरिएको उक्त कार्यक्रममा आफुहरु उपस्थित नहुने बताएका छन्।
प्रदेशसभाको कार्यकाल समाप्त भएको १५ दिनपछि लुम्बिनी प्रदेशसभाले निर्वाचन आचार संहिता विपरित बडादशैंको अवसरमा भन्दै सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने तयारी गरेपछि सत्ता साझेदार दल नेपाली कांग्रेसले समेत असन्तुष्टि जनाएको छ।
निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याय प्रसाद भण्डारीले मंगलबार रातीदेखि नै निर्वाचन आचारसंहिता लागु भईसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने गरि कुनैपनि कार्यक्रम गर्न नपाईने बताए। उनले निर्वाचन आचारसंहिता विपरित आयोजना हुने कुनैपनि कार्यक्रमको बारेमा आयोगमा उजुरी आए आयोगले त्यस्ता कार्यक्रमलाई रोक्ने बताए।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगरले भने प्रदेशसभाको आन्तरिक कार्यक्रम भएकाले आचारसंहिता लागु नहुने दाबी गरे । उनले कार्यक्रमको बारेमा निर्वाचन आयोगलाई समेत जानकारी गराईने भन्दै यो विषय कानुनी नभई राजनितिक विषय भएको बताए।
प्रदेशसभा सचिवालयले आगामी असोज १४ गते प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा निर्माणाधिन प्रदेशसभा भवनमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको र उपस्थितीको लागि भन्दै निवर्तमान प्रदेशसभा सदस्यहरुलाई पत्र पठाएको छ ।