उज्ज्वल थापाले जीवनकालमै तयार पारेको पुस्तक प्रकाशन हुँदै

युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ प्रकाशन हुने भएको छ।

थापाले आफ्नै जीवनकालमा तयार पारेको किताब सम्पादनपछि प्रकाशन गर्न लागिएको प्रकाशन संस्था यात्रा पब्लिसिङ हाउसले जानकारी गराएको हो।

‘राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गर्न लागिएको हो,’ यात्रा पब्लिसिङ हाउसका अध्यक्ष ऋषिराम अधिकारीले भने, ‘किताबलाई उनले नै अन्तिम स्वरूप दिएका थिए। तर, सम्पादन जारी रहँदै उनको कोभिड संक्रमण भएर निधन भयो। हामीले सम्पादन प्रक्रिया सकेर किताब प्रकाशन गर्न लागेका हौं।’

नेपालको उज्वल भविष्यप्रति विश्वस्त थापाले त्यसलाई विभिन्न आयामबाट गरेको विष्लेषण किताबमा पढ्न पाइने अधिकारीले बताए । उनका अनुसार किताबमा नेपाली राजनीति, उद्यम र भविष्यको सपनाबारे सरल भाषामा पढ्न पाइनेछ । किताबमा थापाको विचार र अनुभवका साथै उनकै जीवनकथासमेत समेटिएको छ। 

‘यो किताब उज्वलको सपनाको लेख्य रूपान्तरण हो। त्यसैले उनी आफैंले यो किताबको प्रस्तुतिकरण र भाषामाथि प्रशस्तै काम गरेका थिए’, उज्वल थापा फाउन्डेसनकी अध्यक्ष तथा थापापत्नी एरिका अधिकारीले भनिन्, ‘यो किताब उज्वललाई व्यक्तिगत रूपमा चिन्नमात्रै होइन, उनको विचार र उनले परिकल्पना गरेको नेपाललाई समेत गहिरोगरी चिन्न मद्दत पुग्नेछ।’

पुस्तकमा थापाले गरेका स्केचहरूसमेत समेटिएको छ। जसमा नेपाली राजनीति र समाजबारे कलात्मक र व्यंग्यात्मक अभिव्यक्ति रहेको यात्रा पब्लिसिङ हाउसका प्रमुख कार्यकारी अधिकृत सुवास अर्यालले बताए।

उनका अनुसार किताबमा थापाले आफ्नै जीवनको सफलता र असफलताका कथासमेत रोचक रूपमा प्रस्तुत गरेका छन्।जसमा उनले आफूले गरेका यात्राका कथा र त्यसआधारमा गरिएको नेपाली समाजको विष्लेषणसमेत समेटिएको छ।

किताबमा नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशीलताको वर्तमान अवस्था र भविष्यको सम्भावना, नेपाललाई रूपान्तरण गर्नका लागि हरेक नागरिकले सुरू गर्नुपर्ने परिवर्तनको अभियान आदिबारे विभिन्न उपशीर्षकमा व्याख्या गरिएको छ।

प्रकाशित मिति: : 2022-09-26 20:00:00

प्रतिकृया दिनुहोस्