सन्दीपले भनेः म मानसिक तनाबमा छु, चाँडै नेपाल फर्किन्छु

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेले आफू चाँडो नेपाल फर्किएर झूटा उजुरीको प्रतिवाद गर्ने बताएका छन्। आफू मानसिकरुपमा विक्षिप्त र अस्वस्थ समेत रहेकाले आइसोलेसनमा रहेको उनले आफ्नाे एउटा फेसबुक स्टाटसमार्फत् जानकारी दिएका हुन्।

‘मविरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए। मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विछिप्त बनायो। के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन,’ उनले भनेका छन्। 

नेपाल प्रहरीकाे फरार सूचीमा रहेका क्रिकेटर लामिछानेलाई इन्टरपोलमार्फत् सूचना जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ। उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको दुई हप्ताभन्दा बढी भइसकेकाे छ। तर उनी हालसम्म नेपाल प्रहरी र नेपाल क्रिकेट संघ (क्यान)को सम्पर्कमा छैनन्। 

मध्यराति लेखे यस्तो स्टाटस–

१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शौभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाइ र अग्रजहरू लगायत मेरो पूरै क्रिकेट टिमको साथ, सहयोग र आशीर्वादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महसुस गर्छु।

मविरूद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरूद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए। मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरूद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विछिप्त बनायो। के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।

यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मैले मलाई आइसोलेसनमा राखेर बसेको छु। झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदैछ र जतिसक्दो चाँडो नेपाल फर्किएर मविरूद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु।

क्रिकेट प्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ, नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ। चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा। राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमानदार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको सिकार भएको महशुस भएको छ।

मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा जाहेरी प्रपञ्चहरूको मैले कानुनी लडाइँ लड्ने छु। मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ। साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरूद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हक समेत छ।

म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवाआमा, दाजुभाइ, मित्रहरू र क्रिकेट प्रेमीहरू, मेरा समर्थकहरू प्रति आभार व्यक्त गर्दछु। म वा मविरूद्ध अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।

प्रकाशित मिति: : 2022-09-25 22:26:00

प्रतिकृया दिनुहोस्