लागुऔषध सहित पाँच जना पक्राउ (भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

लागुऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन्।

फरक मिती र स्थानबाट पक्राउ परेका उनीहरुलाई  लागुऔषधको अवैध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरुमा स्थायी इलाम भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर–१५ मा बस्ने २४ वर्षका सुजन हेल्मु रहेका छन्, उनको साथबाट ३.५ ग्राम खैरो हेरोइन फेला परेको छ। त्यसैगरी उनीसँगै ईलामका तर हाल चौमतीमा बस्ने २९ वर्षिय सन्जिप राई समेत पक्राउ परेका छन्। उनीहरुको डेराबाट ४७ ग्राम सहित खैरो हिरोइन बरामद गरिएको छ।

त्यसैगरी काभ्रेपलाञ्चोक तर हाल ललितपुरमा बस्ने ३९ वर्षका अर्जुन ढकाल रहेका छन्। उनको साथबाट लागुऔषध २८४० एम्पुल, डाईजेपाम २८४० एम्पुल र फेनारगन २८४० एम्पुल र लागुऔषध एम्पुल लुकाउन प्रयोग गरेको टिनको बट्टा थान ५ बरामद गरिएको छ।

त्योसँगै बारा कलैया उपमहानगरपालिका वडा न– ८ बाट बस चालक राम बहादुर तिमिल्सिना र सहचालक अजय महत्तो पक्राउ परेका छन्। उनीहरुलाई न्यु एन्जल कम्पनीको प्रदेश ०२–०–००१ ख ३६२८ नम्बरको भाडाको बसबाट पक्राउ गरिएको हो। उनीहरुको साथबाट लागुऔषध बुप्रेनोर्फिन २७६६ एम्पुल, डाईजेपाम ४७२ एम्पुल र बस समेत बरामद गरेको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।

पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

प्रकाशित मिति: : 2022-09-25 14:04:00

प्रतिकृया दिनुहोस्